कक्षा सातमा पढ्ने सीताकी आमाको भर्खरै बितेकी थिइन्। न्यानो भावनात्मक सम्बन्ध टुटेको केही दिनपछि सीता स्कुल आइन् तर उनी सम्हालिइसकेकी थिइनन्।
उनी चुपचाप भक्कानिइन्थिन्। मनभरि आमा थिइन्। भरिभराउ कक्षाकोठामा पनि उनी आफूलाई एक्ली महसुस गर्थिन्।
एक शिक्षकले उनको विषयको गृहकार्य कापीको अन्तिम पन्नामा आफ्नी दिवंगत आमालाई लेखेको एक चिठी पाइन्।
लेखिएको थियो — स्कुलपछि घर फर्किँदा घरमा कोही हुँदैन। बाबा भए पनि बोल्नुहुन्न। भाइ रोइरहन्छ। स्कुल जान पनि मन लाग्दैन। आमा, म एक्लै भएँ।
ती शिक्षकले सीताको भावनात्मक शून्यता र खिन्न मन पढिन्। एक शिक्षकको सुलभ गुण करूणा जाग्यो।
ती शिक्षकले कक्षा बाहिर एकान्तमा सीतालाई हात स्पर्श गर्दै भनिन्, 'तिमी एक्ली छैनौ, म छु नि।'
ती औपचारिक शब्द मात्र थिएनन्, बोलीमा अन्तरहृदयदेखि समर्थनको भावना थियो। त्यही भावना ती शिक्षक र सीताबीचको मानवीय सम्बन्ध बन्यो जसले ढल्पलिएकी सीतालाई टेको दियो। शिक्षक आमा जस्तै बनिन्।
हामी ती शिक्षकलाई सम्झिन्छौ जसले कक्षामा पाठ मात्र पढाउँदैनन्, हाम्रो अन्तरमनको संरक्षण पनि गर्छन्। ती शिक्षकले औपचारिक शिक्षाभन्दा पर हाम्रो भावना स्पर्श गर्छन्, सहानुभूति राख्छन् र विभिन्न माध्यमबाट हाम्रो अन्तस्करण छुन्छन्। हामी तिनलाई सम्झिन्छौं जसले हामी जस्ता छौं, त्यस्तै बन्न दिन्छन्। उत्प्रेरणा दिएर भावनात्मक छाप पारिदिन्छन्।
शिक्षकले एउटा वाक्य भनेर वा मौका दिएर विद्यार्थीको जीवनमार्ग नै परिवर्तन गरेका अनगिन्ती उदाहरण छन्। पढाइ प्रक्रिया त जीवनभर नै चलिरहला, तर केही शिक्षकले हामीलाई बाल्यकालमै अमिट छाप छाड्छन्।
ती शिक्षक पाठ्यपुस्तकका पाना होइनन्, तर भावनाका मूर्त रूप हुन् जसले विद्यार्थीका असुरक्षा बुझ्छन्। क्षमतामा विश्वास गर्छन्। र, तिनमा लुकेका सम्भावना निर्देशित गर्न सक्छन्।
शिक्षक जसले हामीलाई के सिकाए होइन, कसरी सिकाए — ती हाम्रो जीवनमा सधैंका लागि बस्छन्। हाम्रो भावनामा ती शिक्षक जसरी रहन्छन्, त्यसरी नै हामीमा परिवर्तन ल्याउँछन्।
अमेरिकन एजुकेसनल रिसर्च जर्नलमा प्रकाशित पिन्टाका अध्ययनहरूले शिक्षक र विद्यार्थीबीचको भावनात्मक सम्बन्धले सिकाइका साथै दीर्घकालीन सामाजिक, भावनात्मक विकासमा गहिरो प्रभाव पार्ने बताउँछ। यसर्थ, ज्ञानका साथै शिक्षकहरू विद्यार्थीका भावनात्मक निर्देशक पनि हुन्।
शिक्षकले दिने भावनात्मक समर्थनको विज्ञान छ। भावनात्मक सम्बन्धले मस्तिष्कका एमिग्डाला र हिप्पोक्याम्पसलाई सक्रिय बनाउँछ। त्यहाँ उत्पादन भएका हर्मोनले स्मृति गहिरो बनाउँछन्। ती स्मृतिले जीवन निर्देशित गर्छन्। र, यसरी शिक्षकको आत्मीयताले बालविकासमा गुणात्मक परिणाम ल्याउँछ।
अध्येता विलियम पिनर भन्छन्, 'शिक्षक नै पाठ्यक्रम हुन्।'
किनभने निर्जिव पाठ्यक्रमलाई शिक्षकले जीवित बनाउँछन्।
यो भनेको शिक्षकको व्यक्तित्व र शिक्षक विद्यार्थीको सम्बन्ध, पाठ्यक्रमको अनुक्रमलाई गतिशीलता दिने विशिष्ट पक्ष हो। पाठ्यक्रम अनुभव गरिने तत्व हो, मात्र यान्त्रिक पढाइ वा ज्ञानको सूची होइन। यसरी शिक्षकको आफ्नै दर्शन, शिक्षणप्रतिको दृष्टिकोण र विद्यार्थीलाई गरिने वास्तविक व्यवहारले सिकाइको खाका कोर्छ।
मानौं, एक शिक्षकले साहित्य पढाउँदा त्यसको सिर्जनशीलता र रस आफै अनुभूति गर्छ। विद्यार्थीमा त्यसै अनुसार प्रेरणा जगाउँछ। वा, विज्ञान शिक्षकले कुनै सिद्घान्त जीवन, ब्रह्माण्ड र अनुभवसँग जोड्छ। त्यसले विद्यार्थीलाई तरंगित गर्छ। पढाइलाई जिवन्त गराउँछ। त्यस्तो शिक्षणले विद्यार्थीमा ज्ञानको दीर्घकालीन छाप छोड्छ।
पाठ्यक्रमका तीन आयाम हुन्छन्।
पहिलो, प्रस्तावित वा इन्टेन्डेड करिकुलम। अर्थात्, के सिकाउन खोजिएको हो।
दोस्रो, कार्यान्वयन गरिएको वा एक्जिक्युटेड करिकुलम। अर्थात् कक्षामा पढाइएको।
र, तेस्रो, अदृश्य वा हिडन करिकुलम। अर्थात् औपचारिक शिक्षण नगरिएको तर अन्तर्क्रिया वा सामाजिक भावनात्मक सम्बन्धबाट बुझाइएको।
यी तीन पक्षको समन्वय शिक्षकहरूले आफ्नै मूल्यमान्यता र विद्यार्थीहरूको आवश्यकताका आधारमा गर्छन्। ज्ञान र अनुभवको प्रसारणलाई यही प्रक्रियाले मूर्तता दिन्छ।
जब शिक्षकहरूले अदृश्य पक्षलाई प्रस्तावित पाठ्यक्रमको मद्दतले त्यसै अनुसार संरेखित गरिएको शिक्षण विधिमा सामेल गर्छन्, तिनले तत्काल विद्यार्थीमा परिवर्तन ल्याउँछन्। ती शिक्षकले विद्यार्थीमा संस्कार र स्मृति निर्माण गरिदिन्छन्।
ली शुलम्यानको पिसिके (पेडागोजीकल कन्टेन्ट नलेज) शिक्षाशास्त्रको प्रभावशाली सिद्धान्तमध्ये पर्छ र दीर्घकालीन शिक्षण प्रभावका लागि प्रसिद्ध छ।
यसमा दुई पक्ष छन्— विषयगत ज्ञान र शिक्षणको विधिशास्त्र।
उनी भन्छन्, 'शिक्षकले के पढाउने भनेर जान्नुका साथै त्यसलाई बुझाउने कौशलता आवश्यक पर्छ। यी दुई पक्षको तालमेल भए, विद्यार्थीको सोचमा गहिरो छाप पर्छ।'
यो तथ्य प्रोफेसर ह्याटीको मेटा विश्लेषणले पनि प्रमाणित गरेको छ।
शिक्षक आफै पाठ्यक्रम हुन् भन्ने अवधारणालाई पिसिके दर्शनले बलियो आधार दिन्छ जसले शिक्षकको विषय र शिक्षणको अन्योन्याश्रित सम्बन्ध कायम गरी विद्यार्थीको ज्ञानस्मृतिलाई जीवन पर्यन्त बनाउँछ।
अझ रमाइलो कुरा के छ भने, यी शिक्षकहरू नै हुन् जसले हरेक दिन केलाई प्राथमिकता दिने, कसरी शिक्षण गर्ने र कुनलाई छुट्ट्याउने भन्ने जस्ता निर्णय गर्छन्। र, पाठ्यक्रमको वास्तविक र व्यावहारिक अर्थ निर्माण गर्छन्।
शिक्षकहरूले हरेक दिन, हरेक घन्टीमा वा पढाउने क्रममा पाठ्यक्रम लेखन (निर्माण) गर्छन्। यसै कारण पाठ्यक्रम लेखिएका जड पन्ना होइनन्। यो शिक्षकको विवेक, सम्बन्ध र आन्तरिक सोचबाट निर्माण भएर विद्यार्थीमा हुने अवधारणाको बिजरोपण हो।
'करिकुलर कन्टेन्ट' उही हुन सक्ला तर हरेक शिक्षकको पाठ्यक्रम फरक फरक हुन्छ। शिक्षकहरूमा हुने यही जीवन्त र सुन्दर पक्षले विद्यार्थीको मानसपटलमा दूरगामी र गहिरो सम्झना खोप्छ। यो कुरालाई अध्येता टेड आवोकिले 'अन्तर्जीवित पाठ्यक्रम' को संज्ञा दिएका छन्।
सम्झनाका शिक्षकहरूको पाठ्यक्रम बहुआयामिक हुन्छ जसले मानव अनुभूति, सम्बन्ध र भावनात्मक पक्षको परिपोषण गर्छ। यसै अनुसारको ढाँचा निर्माण हुन्छ। त्यो नै वास्तविक पाठ्यक्रम हो।
उदाहरणका लागि, शिक्षकले शिक्षण क्रममा कहाँबाट ल्याएको कथा जोडेर विद्यार्थीलाई कल्पनाशील र रोमाञ्चक बनाउनु पाठ्यक्रम लेखन (निर्माण) हो। कक्षामा हसाउँदै भावनात्मक रूपमा डर हटाउँदै खुलाउनु पनि पाठ्यक्रम हो। विज्ञान पढाउँदा प्रकृतिका विचित्र तथ्यहरू वर्णन गर्दै, तारामण्डलका आश्चर्य भन्दै विद्यार्थीमा उदेकको भावना सिर्जना गराउनु सबै शिक्षकका पाठ्यक्रम हुन्।
एकैछिनलाई पाठ्यक्रमको दस्तावेजमा विद्यार्थीलाई के सिकाउने लेखिएको छ भन्ने बिर्सिदिऔं। अब उनीहरूलाई जिज्ञासाको पाठ्यक्रम पढाऔं। चमत्कारको, भावनाको, सम्बन्धको, जीवनको, जिम्मेवारीको यस्तै अन्य पाठ्यक्रम पढाऔं। त्यही पुस्तकमा भएको ज्ञानको आधारमा वा अन्य कुनै स्रोतबाट वा सूचीबाट पढाऔं। केही फरक पर्दैन!
यसरी जुन शिक्षकले शिक्षणलाई कलात्मक र रंगीन बनाउँछ, उनै स्मृतिको शिक्षक हो।
प्रगतिशील विद्यालयहरूले यो तथ्य गहिरोसँग आत्मसात गरी विद्यालयलाई पाठ्यपुस्तक बिनाको संस्कृतिमा ढाल्छन्। विद्यार्थीका विकासात्मक अवस्था र आवश्यकतालाई आधार मानेर शिक्षण गर्छन्। यस अवस्थामा विद्यालयका पाठ्यपुस्तकलाई संसाधनका रूपमा मात्र लिइन्छ।
पाठ्यक्रमको संरचना खडा गरिन्छ तर यो विस्तृत र खुला राखिन्छ। शिक्षालाई विद्यार्थीको अनुभवात्मक पक्षसँग जोडिन्छ। ज्ञानलाई साँघुरो परिधिबाट खुला क्षितिजतर्फ लगिन्छ।
प्रगतिशील विद्यालयमा पाठ्यपुस्तक हटाउने भनेको पुस्तक नै हटाउने भनेको चाहिँ होइन। यी विद्यालयमा पाठ्यपुस्तकलाई पाठ्यक्रमको एक सानो भागका रुपमा मात्र राखिन्छ र आवश्यकताका आधारमा चयन गरिन्छ। यसो गर्दा विद्यार्थीले दैनिक एकोहोरो रटानबाट मुक्ति पाउँछन्। रचनात्मक बन्छन् र शिक्षा प्रक्रिया विविधतापूर्ण, मूल्य र सम्बन्धमुखी बन्छ।
विद्यालयहरूले पाठ्यपुस्तकलाई हचुवाका आधारमा हटाउन हुँदैन। यसका लागि शिक्षकहरूले सहकार्य गरी बृहत् योजना बनाउनुपर्छ। पाठ्यपुस्तक नभएका स्कुल बन्न त्यस विद्यालयको शैक्षिक नेतृत्व स्पष्ट उद्देश्य र दृष्टिकोणमा आधारित हुनपर्छ। शिक्षकलाई सक्रिय भूमिका दिनुपर्छ।
उपर्युक्त बाहेकका अन्य धेरै पक्ष पनि सन्तुलित गर्नुपर्छ। जस्तै; पाठ्यक्रमको क्षेत्र र क्रम, निर्माणात्मक मूल्यांकन, सिकाइको प्रमाण संकलन इत्यादि।
विद्यालयभित्रको शिक्षण पद्धतिमा क्रान्ति नल्याई हचुवाका आधारमा पाठ्यपुस्तक झिक्न उचित हुँदैन।
लेखको मूल विषयवस्तुतिर फर्किऔं।
सीतालाई जब ती शिक्षकले भावनात्मक समर्थन दिइन् र सम्झनाका शिक्षकका रूपमा आफूलाई प्रस्तुत गरिन्, उनको पाठ्यक्रम पुस्तक वा दस्तावेजमा आधारित थिएन। यो वास्तविक र प्रगतिशील थियो। जब विद्यालयले यस्तै किसिमका अनुभवजन्य सिकाइलाई विद्यालयको शैक्षिक कार्यक्रम मार्फत् केन्द्रमा राख्छन्, त्यस बेला मात्र विद्यालयले पाठ्यपुस्तक हटाउन सक्छ।
उदाहरण, रेजियो इमिलिया प्रणालीमा विद्यार्थीले पाठ्यपुस्तक मात्र नभई पाठ्यक्रमलाई नै निर्देशित गर्छन्। जसमा एक दक्ष शिक्षकको उपस्थितिले मात्र पनि शिक्षा प्रक्रियालाई पूर्णता दिन सक्छ।
हामी परम्परागत स्कुलमा पढ्यौं, हुर्कियौं। तर फर्केर एकपल्ट मनन गरौं, त्यस समयमा हामीलाई पढाउने कैयौं शिक्षकहरू प्रगतीशील थिए। उनीहरूले हामीलाई उत्साहित बनाउँथे। 'क' लेखेर धूलोले पुरेर 'कपुरी क' भन्थे। शिक्षक हाम्रै घरमा आउँथे, चिया पिउँथे। र, हाम्रा अभिभावकसँग अनेक विषयमा भलाकुसारी गर्थे। अभिभावक–शिक्षक–विद्यालयको सम्बन्ध गाँस्थे।
यिनै हुन हाम्रा सम्झनाका शिक्षक जो पाठ्यक्रम र पाठ्यपुस्तक भन्दा माथिल्लो स्थानमा थिए र सम्झनाका शिक्षक बनेर रहे।
अन्तिममा यसै सन्दर्भको तैत्तिरीय उपनिषदको एक मन्त्र उल्लेख गर्छु।
ॐ सह नाववतु।
सह नौ भुनक्तु।
सह वीर्यं करवावहै।
तेजस्वि नावधीतमस्तु मा विद्विषावहै।
हामी दुवै गुरू र चेलालाई ज्ञान र साधन प्राप्त होस्, हामीहरू साहस र शक्तिका साथ हाम्रो अध्ययनलाई तेजपूर्ण र फलदायी गराऔं।
यहाँ शिक्षक र विद्यार्थी दुवैलाई उल्लेख गरिएको छ। किनभने शिक्षकको खुबी र सामर्थ्य विद्यार्थीको सिकाइका परिपूरक हुन्। यी दुई पक्षको मेलले विद्यार्थीको ज्ञानलाई व्यावहारिक र ठोस बनाउँछ।
जसले हामीलाई देन दिए, ती शिक्षकहरू नै हाम्रो जीवन पर्यन्त सम्झनामा रहिरहन्छन्।
(लेखक प्रविज्ञ रेग्मी एजुकेसन फर द नेक्स्टजेन र न्यू मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक अध्यक्ष हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)