तिमी पर्खिरहेको छौ—
प्रेमलाई ऋण सम्झँदै, सफलतालाई पैसामा तौलँदै
भोलि कमाउँछु अनि
बाआमाको न्यानो अँगालोमा फर्कन्छु भन्दै
तिमीलाई कसले भन्यो-
मृत्युले तिम्रो सफलताको प्रतीक्षा गर्छ भनेर
माया तलबको तारिखमा मात्रै फक्रने फूल हो भनेर
आमाको हाँसो कुनै मुद्राले किन्न सक्ने वस्तु हो भनेर
बाको थकित काँधमा राखेको हात पैसाबिना मूल्यहीन हुन्छ भनेर
कल्पना गर त-
भोलि तिमी मृत्युको अँगालोमा पर्यौ भने
आमाका नयनहरू नदी बन्छन्
बाको मौनता पहाडझैँ भारी हुन्छन्
सायद त्यति बेला बुझ्नेछौ
उनीहरूलाई तिम्रो कमाइ होइन,
तिम्रो साथ चाहिएको थियो
तिम्रो उपस्थिति नै जीवनको सबैभन्दा ठुलो सम्पदा थियो
त्यसैले अहिल्यै फर्क—
हृदयमा श्रद्धा, बोलीमा ममता अनि
केही दिनको साथ लिएर
जसलाई हेर्दा उनीहरूलाई बाँच्न मन लाग्छ,
त्यो अनुहार लिएर
जसलाई सुन्दा उनीहरू सारा दुःख बिर्सन्छन्,
त्यो हाँसो लिएर
सफलता त समाजका मापदण्डमा होइन,
तिम्रो चाहनामा छ
जो अझै पनि आमाको हाँसोमा आफूलाई देख्छ
अनि बाको साथमा शान्तिको अनुभूति गर्छ
त्यो दिन तिमी साँच्चिकै कमाउन थाल्छौ जुन दिन
तिम्रो हाँसोमा उनीहरूले सास फेर्छन्
तिम्रो आँखा उनीहरूको थकित अनुहारमा प्रकाश छर्छन्
अनि तिम्रो लागि-
मृत्युका अश्रुभन्दा बाँचेका दिनका अँगालो ठुलो हुन्छन्।