नेपाली कांग्रेसका हेभिवेट नेताहरूको गृहजिल्ला मोरङमा संस्थापन पक्ष कमजोर देखिएको छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा सम्पन्न प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरूको निर्वाचनमा संस्थापन पक्ष कमजोर देखिएको हो।
जिल्लाभर जम्मा १२ प्रदेश निर्वाचन क्षेत्रमा संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा पक्षधर दुई जनामात्र विजयी भएका छन्। मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ४ वटामा सर्वसम्मत नेतृत्व चयन भएको थियो भने ८ वटामा निर्वाचन भएको थियो।
मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित भएका छन्। लामा सर्वसम्मत भएका हुन्। यसैगरी निर्वाचन क्षेत्रन नम्बर २ ‘क’ मा कन्हैयालाल राजवंशी र ‘ख’ देवेन्द्र बस्नेत विजयी भएका छन्। कन्हैयालाल सर्वसम्मत भएका हुन्।
निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ मा गंगा याक्खा र ‘ख’ मा जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुबोध निरौला निर्वाचित भएका छन्। निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ अचानु खाँ गन्गाई र ‘ख’ जितु साह विजयी भएका छन्। क्षेत्र नं. ५ का उनीहरू सर्वसम्मत भएका हुन्। कांग्रेस नेता अमृत अर्यालको समर्थन र सहयोगमा निर्वाचित उनीहरू देउवा पक्षका उम्मेदवार हुन्।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ मा दीपक भगत र ‘ख’ मा मधुवाबु तिवारी विजयी भएका छन्। निर्वाचनबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिसहित पदाधिकारी निर्वाचति भएको मोरङ कांग्रेसका सचिव मोदराज घिमिरेले जानकारी दिएका छन्। घिमिरेका अनुसार मोरङको मत परिणामअनुसार जिल्लामा पौडेल-कोइराला समूह दह्रो देखिएको छ।
निर्वाचनबाट हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन्। जिल्लाबाट जम्मा १९२ जना अधिवेशन प्रतिनिधिले प्रदेश पदाधिकारी चयन गर्न मत खसाल्ने छन्।
मोरङ कांग्रेसका अनुसार जिल्लामा जम्मा ३५५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए। प्रदेश प्रतिनिधि र पदाधिकारी चयन गर्न तीमध्ये करिब ९९ प्रतिशतले मत खसालेको पार्टी सचिव घिमिरेले जानकारी दिए।
मोरङको निर्वाचनमा केन्द्रीय नेताहरू महेश आचार्य, डा. शेखर कोइराला, मिनेन्द्र रिजाल र अमृत अर्यालको खास भूमिका रह्यो। केन्द्रीय नेताहरूले आफू पक्षधर सभापति तथा प्रतिनिधि चयन गराउन पहल र प्रयास गरेका थिए।
कतिपय क्षेत्रमा मोरङ कांग्रेस सचिव नागेश कोइराला र कांग्रेस संसदीय दल १ नम्बर प्रदेशका प्रमुख सचेतक तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की पक्षधर उम्मेदवारबीच पनि प्रतिस्पर्धा देखिएको छ। दुबै नेता एउटै खेमाका भए पनि पालिका तथा प्रदेश निर्वाचन क्षेत्रको चुनावमा आन्तरिक प्रतिस्पर्धा गरेका छन्।