नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आफूहरूले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रिय कमिटी निर्माण गर्न चाहेको बताएका छन्।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजकसमेत रहेका नेता बादलले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रिय कमिटी निर्माण गरेर अघि बढ्ने बताएका हुन्।
‘यो दशौं राष्ट्रिय महाधिवेशनको एउटा ऐतिहासिक महत्व यो कुरामा छ कि, यो ऐतिहासिक महाधिवेशनमार्फत हामीले एउटा सबल र सक्षम नेतृत्वलाई स्थापित गर्ने, त्यसलाई निर्माण गर्ने र विधान महाधिवेशनले जुन सही विचार, सही नीति जो प्रतिपादन गरेको छ, त्यसलाई अनुमोदन गर्ने काम गरेको छ’, थापाले भने।
पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क गरे।
‘पार्टीलाई सही र सक्षम नेतृत्व निर्माण गरेर यसलाई कार्यान्वयन गर्ने र आगामी निर्वाचनको माध्यमबाट फेरि नेकपा एमालेलाई राजकीय सत्तामा पुनः स्थापित गर्न ओलीको विकल्प छैन’, नेता बादलले भने,‘हामी परमादेशबाट निर्माण भएको यो दक्षिणपन्थी सरकारलाई जनादेशबाट विस्थापित गर्छौं भन्ने पार्टीले नीति लिएको छ। हामीले मंसीर १० गते चितवनमा के सन्देश दिन चाहन्छौ भने हामी पुनः जनादेशबाट राजकीय सत्तामा नेकपा एमाले पुनस्थापित हुनेछ।’
नेकपा एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव हुन भन्दै उनले नेपाली जनताको सुस दुःखको साथी एमाले भएको जिकिर गरे। ‘हामी १० गते चितवनमा पाँच लाख जनता केन्द्रिकरण गरेर सन्देश दिन चाहन्छौं- कमरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रिय समितिको निर्माण गरि एउटा सक्षम नेतृत्व निर्माण हुन्छ र यो देशको जिम्मेवारी त्यो नेतृत्वलाई हामी दिन चाहन्छौं।’
नेता बादलले एमालेको नेतृत्वमा मात्रै मुलुक समृद्ध हुने र नेपाली जनताले सुःख पाउने दावी गरे। उनले स्रोत नखुलेको सम्पत्तिबाट दलाल पूँजीपतिहरुको संरक्षण गर्न सत्तारूढ गठबन्धनबाट मुलुकको समृद्धि सम्भव नभएको जिकिर गरे।