नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओली सेसन चलिरहेको बताएका छन्।
आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले चितवनमा भइरहेको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओली सेसन चलिरहेको बताएका हुन्।
उनले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताए।
उनले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद सुरू भएको आरोप लगाए। नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका कामहरू हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्श पुरूष हुन सेन रहेको बताए।
हुन सेनविरूद्ध लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनु परेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लेखिटिने बताए।
‘बन्दसत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो। त्यहाँ बन्द सेसन होइन, एक प्रकारले ओली सेसन नै चलिरहेको थियो। ओलीलाई सर्वाधिकार दिनुहुन्न भन्दा भीम रावलले झन्डै पिटाइ खानुभयो। अहिले प्रहरीले भीम रावल बसेको होटललाई सुरक्षा दिइरहेको अवस्था छ,’ थापाले भने, ‘विधिवत् रूपमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट हिजोदेखि जनवाद सकियो। त्यहाँ अब केपी ओलीको डनवादमात्रै बाँकी छ।’
नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताए। उनले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाए। नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्ने बताए।
‘हामीले के कुरा बुझ्नुपर्छ भने नेकपा एमालेले राष्ट्रिय राजनीतिमा लिने पोजिसन, उसले लिने राजनीतिक कार्यदिशाले नेपाली कांग्रेससँग धेरै ठूलो महत्व राख्छ। चितवन महाधिवेशनपछि आएको नेकपा एमालेले आफ्नो भित्रको जनवादलाई सकाएको मात्रै होइन। देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अघि बढेर आउँछ,’ थापाले भने, ‘अब नेकपा एमालेसँग केही समय हामीले जुझ्दै गर्दा हिजो माओवादीलाई हतियारबाट बाहिर निकालेर संसदीय राजनीतिमा ल्याएकोजस्तै एमाले बरालियो, बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली कांग्रेसले गर्न सक्नुपर्छ। नचाहिने कुरा गरेमा हप्काउने तागत कांग्रेसले राख्नुपर्छ।’