नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सरेको छ।
केही नेता बिरामी परेको र पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैठक सरेको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।
अब बैठक आगामी माघ ८ गते बस्नेछ।
गत साता आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो।
ढकालका अनुसार पार्टी केन्द्रीय कार्यालयका पाँच कर्मचारीमा कोरोना संक्रमण पाइएको छ।
पार्टीका केही नेता तथा कार्यालयका कर्मचारीमा समेत संक्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट बन्द गरेका छन्।
गत पुस १८ गते सम्पन्न माओवादीको महाधिवेशनले २३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। यही पुस २५ गते बस्ने केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी चयन गर्ने तयारी गरेको थियो।
यसअघि यही पुस १९ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा दाहाललाई निर्विरोध निर्वाचित गरेको थियो। माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ।