‘अलिकति पर सरौँ न सिस!’
म अचानक तन्द्राबाट झस्किएँ। यस्तै २० पुग नपुग २१ लागेकी राम्री युवति मेरो छेउमा आएर बसिन्। त्यति भनेपछि म पनि थोरै पर सरेँ। म काठमाडौँबाट घर फर्किँदै थिएँ।
मलाई गाडी चढ्न साथ निद्रा लाग्थ्यो। त्यहीमाथि नचिनेको मान्छेसँग बोल्ने मेरो खासै बानी थिएन। केही नबोली आफ्नो गोजीबाट मोबाइल झिकेँ र कानमा इयरफोन लगाएँ। नारायण गोपालको गाना बज्यो- ‘केही मिठो बात गर रात त्यसै ढल्किँदै छ...’
करिब १५ मिनेट जतिको मौनतापछि उनले सोधिन्, ‘कहाँसम्म जाने हो सिस?’
म विराटनगरसम्म अनि तपाईं?
‘म धरान,’ उनले जवाफ फर्काइन्।
‘कति ढिलो गरेको हौ गाडी हिँड्न, भोलि बिहानसम्म घर पुग्नु पर्ने मलाई कस्तो ल्याङ भयो। गाडीमा हिँड्ने गरेको छैन, फ्लाइटको टिकट नि पाइएन छ्या!’
उनको कुरा सुनेर लागिरहेको थियो कि उनी पहिलो पल्ट बस चढ्दै थिइन् र गाडीमा हिँड्न उसलाई डाक्टरले नै मनाही गरेको छ।
‘दसैँको बेला यस्तै हो नि,’ मैले सोध्दै नसोधेको प्रश्नको जवाफमा धेरै शब्द खर्च गर्न चाहिनँ।
उनले ग्रन्च पेन्ट र छोटो भेस्ट लाएकी थिइन्। उनको बोल्ने शैली र पहिरन हेर्दा उनी एक ‘मोडर्न इन्डिपेन्डेन्ट वुमन’को ज्वलन्त उदाहरण देखिन्थिन्!
एकैछिनमा उनको आइफोन रिङ बज्यो। निकै चर्को स्वरमा कसैलाई गाली गर्दै थिइन्, ‘तँ जतिको केटा अघि-पछि घुमाउँछु के सोचेको छस् आफूलाई?’ दुई चार वटा गाली अंग्रेजीबाट पनि थियो।
एकछिनको गालीपछि उनले फोन राखिन् र मलाई भनिन्, ‘हेर्नु सिस, आजभोलि साँचो माया गर्ने जमाना नै छैन, केटाहरू मात्तिहाल्छन्।’
यो गोरु बेचेको साइनोले सिस भनेको मलाई पटकै मन परेको थिएन। दिदी भन्दा कसैले पक्डेर फाँसीको सजाय दिँदैन थियो होला। खैर, मैले पनि उसको सिसको साइनो निभाउन कुरा सुन्दिए जस्तो गरेँ।
उनी भन्दै गइन्, ‘पैसा भएपछि त यस्ता जाबो केटा अघि-पछि घुमाइन्छ। अहिलेको समयमा आफू इन्डिपेन्डेन्ट भएपछि दुनियाँ केटा पाइन्छ, हैन त?’
उनको ‘इन्डिपेन्डेन्ट’ शब्द मनमा काँडा सरि बिझ्यो। मैले त इन्डिपेन्डेन्टको नाममा छिमेकी बहिनीलाई ट्युसन पढाएर जम्मा दुई हजार मात्र कमाएको थिएँ। अङ्ग्रेजीमा भन्न पर्दा म 'विक डिपेन्डेन्ट' महिला थिएँ। त्यसैले चुपचाप बसेँ।
एकैछिनपछि आइफोन निकालिन् र भनिन्, ‘ब्रेकिङ ब्याडको नयाँ सिजन आएछ नि, हेर्नु भयो तपाईंले?’
म वाल्ल परेँ। अङ्ग्रेजीसँग मेरो खासै राम्रो सम्बन्ध थिएन। मैले छैनको भावमा टाउको हल्लाएँ।
‘किन तपाईं सिरिज हेर्नु हुन्न र?’
मैले कसैको हत्या गरी भोगेर आए जस्तो गरेर आश्चर्य हुँदै उनले सोधिन्।
‘हेर्छु तर नेपाली मात्र’ भन्न मन लाग्या थियो तर भनिनँ। आफूलाई कमजोर देखाउन भन्दा बरु झुटो नै बोलेँ, ‘हैन हेर्छु तर भ्याएको छैन।’
‘हेर्नु है नेटफ्लिक्समा आइसक्यो। तपाईंको फेबरेट क्यारेक्टर कुन हो यसको?’
लौ मार्यो! अब के भन्ने? म अक्क न बक्क भएँ। मेरो निलो कालो अनुहार पढेर मेरो झुट थाहा पाएकी हुँदी हुन्, त्यसपछि न उनले केही सोधिन् न मैले केही बोल्न सकेँ। बोल्न सक्ने ठाउँ पनि मैले बाँकी राखेको थिइनँ।
ऊदेखि मलाई रिस उठे पनि उसको व्यक्तित्वदेखि निकै डाहा लागिरहेको थियो। त्यसै पनि मान्छेको पर्यायवाची शब्द हो ईर्ष्या। र मैले पनि आफू मानिस भएको प्रमाणित गरेँ। उसको अगाडि म आफू लज्जास्पद भएको थिएँ। त्यही भएर निदाएको नाटक गरेँ। बिहान घर जान ओर्लिँदा पनि उसलाई नबोलाई उत्रिएँ।
स्नातक सकेर लोक सेवाको कक्षा लिन गएको पनि निकै वर्ष भइसकेको थियो। नाम ननिस्केपछि काठमाडौँ बस्ने अनुमति नपाउँदा घर फर्केकी ममा परिवारको ठुलो बोझ थियो। गाडीको बहिनीले भने जस्तो न म इन्डिपेन्डेन्ट थिएँ, न मसँग आइफोन थियो, न उनले लाए जस्तो स्टाइलिस लुगा, न मैले आजसम्म अंग्रेजी सिरिज हेर्न जानेकी थिएँ।
रोडबाट मेरो घर अलिक भित्र नै थियो। त्यही जाँदा जाँदै मैले भोलिपल्ट नै नेटफ्लिक्स किनेर अब अंग्रेजी सिरिज हेर्ने योजना बनाइसकेको थिएँ। आइफोन किन्ने त न पैसा थियो न हैसियत। विदेशमा ब्वाइफ्रेन्ड पनि थिएन। बाटोभरि मेरो मन र दिमाग इजरायल र हमास सरि लडिरहे। मलाई आफू साह्रै अभागी रहेको महसुस भइरहेको थियो।
भोलिपल्ट मोबाइलमा १०० को रिचार्ज गरेर अनलिमिटेड डेटा लिएँ। नेटफ्लिक्स पनि किनेर उनले भनेको सिरिज डाउनलोड गरेँ र राति हेर्ने निधो गरेँ।
एउटा एपिसोड तीन पल्ट हेरिसक्दा ‘सरी, थ्यान्क यु र आइ लभ यु’ बाहेक केही नबुझेपछि अन्तमा हार खाएर मोबाइल बन्द गरेँ।
मलाई दिक्दार लाग्यो। आफू कति पछि रहिछु भन्ने कुराले मलाई निकै पेलिरह्यो। आखिर मैले गर्न पनि के सक्थेँ र? सरकारी स्कुलबाट एसएलसी गरेको मैले अङ्ग्रेजी अन्तिम रोजाइमा पर्थ्यो। रातभरि मेरो विचारहरूको द्वन्द्वले दिमागलाई गाजा क्षेत्र बनाई छोड्यो र बिहान ग्रन्च पेन्ट किन्ने सहमतिमा अल्पकालीन बिराम दियो।
भोलिपल्ट ग्रन्च पेन्ट किन्न म बजार पुगेँ। घरबाट बजार त्यस्तै एक घण्टाको दूरीमा थियो। बाटोमा एक जना मानिस बैसाखी टेकेर हिँड्दै गरेको देखेँ। एउटा खुट्टाको सहायताले सकी नसकी आफ्नो पाउ चालिरहेको थियो। उसलाई हेरेर निकै बेर टोलाएँ।
पछाडिबाट कराएको एउटा एम्बुलेन्सकव आवाजले म झस्किएँ। निकै हतारमा देखिन्थ्यो, सिसाबाट भित्रका मानिसका आँखामा डर र नैराश्य प्रस्ट देखिन्थ्यो। म छेउ लागेर हिँड्न थालेँ।
अलिक पर पुग्दा बाटोमा बुढी आमैले मकै पोल्दै गरेको देखेँ। यति तातो घाममा उनले गरेको दुख देखेर साह्रै नरमाइलो लाग्यो। नजिकै गएर सोधेँ, ‘यो मकै कति पैसाको आमा?’
‘२० रुपैयाँ, दुइटा लग्दा ३५ मा दिन्छु।’
‘हुन्छ दुइटा दिनुस्,’ फेरि सोधेँ, ‘उमेर कति भयो आमा तपाईंको?’
‘६०’ फु-फु गर्दै उताबाट जवाफ आयो।
‘अनि यो उमेरमा किन यस्तो दुख गर्नु भएको? छोराछोरी छैनन्?’
‘छन् नि, उनीहरूको आफ्नै जहान पाल्नपर्छ।’
‘अनि यति पैसाले पुग्छ त?’
‘भात र तिहुन खान पुग्छ नि।’
‘अनि श्रीमान् कहाँ हुनुहुन्छ त?’
‘श्रीमान् बितेको त ५ वर्षभन्दा बढी भइसक्यो।’
‘एक्लै कसरी बस्नु हुन्छ त आमा?’
‘भगवान् छन् नि,’ बुढी आमैले चाउरी परेको गाला तन्काउँदै भनिन्।
गोजीमामा ३० रुपैयाँ मात्र रहिछ। ‘खुजुरा छैन आम एक हजारको खुजुरा छ?’ सोधेँ।
‘छैन नानी, त्यति नै दिनु भैगो।’
म मकै लिएर त्यहाँबाट निस्किएँ। मकैसँगै मलाई आमाको सकारात्मक सोच पनि किन्न मन लागेको थियो। आमैको श्रीमान् छैनन्, छोराछोरी पनि टाढा छन्। बाउ-आमा हुने त कुरै भएन। उनले सबै चिज गुमाएकी थिइन् तर पनि दुई छाकको खान पाउँदा पनि खुसी देखिन्थिन्।
मसँग त हरेक चिज छ। मेरो लागि हरेक खुसी दिने बाउ-आमा, खुसीहरू अट्न सक्ने घर, दुख पर्दा साथ दिने साथीभाइ, संसार घुम्न सक्ने दुइटा खुट्टा, काम गर्ने खाने हात, सही गलत छुट्ट्याउने दिमाग।
एकछिन आँखा बन्द गरेर कल्पना गरेँ, यी सब चिज बिनाको मेरो जिन्दगी। ओहो! कस्तो डर लागेको, सोच्दा नि यति डर लाग्ने!
झल्याँस्स आँखा खोलेर जब मैले महसुस गरेँ, यी सब कुरा वर्तमानमा मसँग छ। अत्यन्त खुसी मिल्यो। वर्षौँबाट मैले गुमाएको चिज फिर्ता पाए झैँ लाग्यो। यी सब कुरा बिनाको जिन्दगी कल्पना पनि भयानक लाग्छ।
आखिर मसँग सबैथोक त रहिछ। कमी रहिछ त केवल आत्मसन्तुष्टिको जुन मैले ३० रुपैयाँको मकै किन्दा सित्तैमा पाएको थिएँ।
मानिसको जीवन उसको सोच्ने क्षमतामा भर पर्ने हो भन्ने कुरा मैले बुढी आमासँग सिकेँ। नत्र आँखा खोल्ने बित्तिकै यति खुसी किन मिलेको?
म सोच्दै गएँ; मैले खाएको खाना कसैको लागि भोजन हुन सक्छ। मैले लाएको लुगा कसैको रहर हुन सक्छ। मेरो जस्तो परिवार कसैको सपना पनि हुन सक्छ। अरू कसिएको जीवनसँग दाँजेर मैले आफूलाई अभागी ठान्दै हिँडिरहेँ तर यो पृथ्वीमा पाउ रहुन्जेल मानिस भाग्यमानी रहिरहन्छ।
म खुसी खोज्न स्टाइलिस पेन्ट किन्न गएको थिएँ तर मानिसको दुख कारण अरू जस्तो बन्न खोज्नु हो भने कुरा मैले आमैबाट सिकेँ। आफूलाई गुमाएर म अरू कसरी सकुँला र? किनकि म त म हुँ, म फरक छु, म मेरो आत्मसम्मान सगरमाथाभन्दा उच्च छ, मेरो पाउले मृतसागर गहिराइ नाप सक्छ। मेरो अस्तित्व प्रशान्त महासागरको पानीँभन्दा धेरै छ।
यसै बिचमा नवराज पराजुलीको कविता याद आयो-
‘तुलना नगर् मेरो, कोही जस्तो छैन म
एकैछिन अगाडिको मै जस्तो छैन म।’