कविता
कठ्याङ्ग्रिएको यो हिउँदमा
न्यानो मन लिएर आउनू
आउनू माया तिमी!
आफ्ना
जीवनका बेसुरा आलापहरू लिएर आउनू
सपनाका उदास गीतहरू लिएर आउनू
आउनू तिमी
आफ्नो लत्रिएको बुढेसकाल लिएर आउनू
एकछिन
कतै हामी हाम्रा जिन्दगीहरू बिसाउँला
तिमी जीवन-यात्राका पीर - व्यथा सुनाउनू
म मेरा भोगाइका दुरूह कथाहरू सुनाउँला।
आउनू माया!
जिन्दगीको दियोमा तेल नसुक्दै आउनू
यी आँखाबाट दृष्टि हराई नसक्दै आउनू
म तिम्रा बादल लागेका आँखाबाट
बालुवाको हाम्रो त्यो ताजमहल खोजौँला
तिमी मेरा धमिलो नजरबाट
नियतिको बाटोमा दुर्घटित सपनाहरू खोज्नू।
आउनू माया!
एक पटक तिमी
घाम नढल्दै गोधूलिमा आउनू
जून नअस्ताउँदै जुनेलीमा आउनू
साँझको छिपछिपे उज्यालोमा आउनू
म
अन्तिम पटक तिमीलाई
सुकिसकेको मनको फूल चढाउँला
तिमी आफ्ना भावुक नजरले स्पर्श गरिदिनू
त्यसपछि म
फेरि भेट्नु नपर्ने गरी बिदा मागौँला
तिमी आफ्ना व्यथाहरू यतै बिसाएर जानू
अनि म
अनन्तको शान्त धरामा कतै
मायाको उस्तै स्वप्नचित्र कोरी राखौँला।
आउनू माया!
कुनै दिन मैले जस्तै
आफ्नो पूरा जीवन भोगेर आउनू
र
हाम्रा सपनाका फुस्रा क्यानभासहरूमा
हृदयको कहिल्यै नमेटिने स्वप्निल रङ भर्नू!
आउनू माया तिमी!