तृप्त छन् पेटहरू
तृप्त छन् आँखाहरू
तर हरदम अतृप्त छन् आजकल
केही थान
हिजोका धनी सहरिया
मानिसका हृदयका कुनाहरू!
आलिसान महल भित्रका
मान्छेलाई पर्याप्त छन्
सबै सुविधाहरू
तर
खै किन हो
पाइन छाडेछन् त्यहाँभित्र
आँखा जुधाउने मान्छे
साँच्चैको घाउ देख्ने मान्छे
कहिलेकाहीँ त लाग्छ
मान्छेले मान्छे चिन्दैन
मान्छेले मान्छे देख्दैन
केबल हुन्छन्
सन्नाटा, शून्यता
तर
संघर्षरत एउटा
तातो र रापिलो जीवनमा एक्लै
दौडिएको मानिस
प्रायः सबै दुखमा एक्लै
बच्चाले रुँदा एक्लै
बिरामी आत्तिँदा एक्लै
दुखका महासागरमा पनि एक्लै
बेरोजगारी हुँदा पनि एक्लै
हस्पिटलको बेडमा एक्लै
जब एउटा समारोहमा
भेटिन्छन् कोही कोही
विदेशी सन्तानका मातापिताहरू
पोखिन्छन् मनभरिका तिक्तता
आफन्त नामको परको आफ्नोलाई
जो कहिले आफ्नोसँग भागेर
गएन सुख खोज्न परदेश
गएन गहिरा सागर सरिका अपमान पिएर
पनि दैलो बाहिर
भागेनन् दुष्चक्रका प्रहारबाट पर
सकेको बलिदान गरिरहे श्रमको
बिचरा
प्रश्न सोध्नेलाई उत्तर दिने
आफ्नो छेउमा कोही नभएर त
भएभरको संस्कार, प्रेम,
अपनत्व खोज्न थालेका छन्
आजकल अर्को मानिससँग
जसलाई उमेरमा उसले
आफ्नो सन्तान नजिक हुँदा
कहिले आफ्नो हृदयमा बास दिन
चाहेन
मिठो वचन
अनि सच्चा आशीर्वाद कहिले
दिन सकेन
र यो शून्यताको सहरमा आफ्नो
मुटुभन्दा प्यारो सन्तान
कहर कम रहर ज्यादा भएर
सीमा बाहिर पठाउनेहरू पनि
अर्को भनिएको आफ्नोसँग
निकटता चाहेको उक्ति र उर्दीहरू जाहेर
गरिरहेछन्
पेट भरिका तमाम गुनासा अनि ओकल्न
नसकेको कुण्ठका झुन्डहरू
पोखिरहेछन्
वर्षौँमा भेट हुने एउटा निमन्त्रणा उत्सवमा
अर्कै भनिएकोसँग
कुण्ठा हो वा अनौठो माया पोखिरहेछन्
र उल्टै सोधिन्छन्
तिमीहरूलाई संस्कार थाहा छैन
तिमीहरूलाई कर्तव्य थाहा छैन
तिमीहरूलाई ज्ञान र चेतना छैन
तिमीहरू छौ एकलकाटे जसलाई
आफ्नो आफन्तको मूल्य थाहा छैन।