सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारू गराउन पहल गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरूद्ध संसदलाई सुचारू गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद अवरूद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताए।
संसद सुचारू गर्न सरकारको जति नै भूमिका र कर्तव्य प्रतिपक्षको पनि हुने उनले बताए।
उनले भने, ‘आज प्रधानमन्त्रीको उपस्थितिमा रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको संयन्त्रले मूल रूपमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल केन्द्रित गरेको छ र यो बैठक हिजोकै बैठकको निरन्तरता रहेको छ। र अर्को विषय संसद लामो समयदेखि अवरूद्ध छ। यसरी संसद अवरूद्ध हुनु हरेक हिसाबले उचित होइन। त्यसैले संसदलाई सुचारू गर्ने बारेमा पनि छलफल भएको छ। संसद सुचारू गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भूमिका र कर्तव्य रहन्छ। त्यसैले संसदलाई सुचारू गर्नका निमित्त पहल गर्ने निर्णय भएको छ।’
त्यसैगरी समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए।
सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम सुचारू गर्ने पनि उनले बताए।