नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम पार्टीका लागि प्रतिकूल आउन सक्ने आँकलन गरेका छन्।
उनले मतदाता पुरानै रहेको र राष्ट्रिय सभाको परिणाम आजको जनमत नहुने पनि बताएका थिए। राष्ट्रिय सभा चुनावका मतदाता प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख हुन्।
‘हाम्रा पार्टीका विरूद्ध भ्रम र हल्ला चलाइएका छन्। जनतामा भ्रम पर्न सक्छ,’ एमाले जिल्ला अधिवेशन भर्चुअल रूपमा आज उद्घाटन गर्दै उनले भने, ‘राष्ट्रिय सभा निर्वाचन हाम्रो अगाडि छ। माघ १२ मा मतदान हुन्छ। त्यसको परिणाम हाम्रा लागि प्रतिकूल आउन सक्छ। त्यो यथार्थ जनमत होइन, आजको जनमत होइन। चार वर्ष अगाडिको जनमत हो।’
उनले सकारात्मक परिणाम आएन भनेर अनौठो नमान्न पनि आग्रह गरेका छन्।
‘सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘एमाले ठूलो पार्टी हो। एमालेलाई गठबन्धन चाहिँदैन। जो कमजोर छ उसैले चुनावसम्म नै यो गठबन्धन चाहिन्छ भनिरहेका छन्।’
एमाले घेराबन्दीमा परे पनि जनताको साथ रहेको ओलीले बताएका थिए।
अध्यक्ष ओलीले सत्तागठबन्धनलाई प्रतिगामी भनेका छन्।
राष्ट्रिय सभाका रिक्त १९ पदका लागि १२ दलले चुनावमा भाग लिँदैछन्। मुख्यगरी सत्तागठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुँदैछ। १९ पदका लागि ४३ जना उम्मेदवार छन्।