संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्णायक पहल लिन सत्तारूढ गठबन्धनका शीर्ष नेताले आग्रह गरेका छन्।
आज बालुवाटारमा बसेको राजनीतिक समन्वय समितिको बैठकले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संवाद गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको हो।
‘एक/दुई दिनमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्नुहोला,’ बैठकमा सहभागी रहेका एक नेताले भने, ‘संसदको गतिरोध अन्त्य गर्न निर्णायक पहल लिन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ।’
साथै संसदको गतिरोध अन्त्य गर्ने जिम्मेवारी सरकारको जस्तै प्रमुख प्रतिपक्षी दलको पनि रहेको बैठकमा सहभागी सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
‘संसदको गतिरोध अन्त्य गर्ने जिम्मेवारी सरकारको जस्तै प्रमुख प्रतिपक्षीको पनि हो,’ उनले भने, ‘गतिरोध अन्त्यका लागि पहल गर्ने कुरा भएको छ।’
गठबन्धनका नेताहरूले संसद सुचारू गर्न प्रतिपक्षी दलका नेता ओलीसँग प्रधानमन्त्री देउवाले कुराकानी गर्नुपर्ने धारणा बैठकमा राखेका थिए।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको समन्वय समितिको बैठक बिहीबार र शुक्रबार बालुवाटारमा बसेको थियो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत समन्वय समितिका ११ जना नेताहरू सहभागी थिए।
एमालेले लामो समयदेखि प्रतिनिधि सभा अवरूद्ध गर्दै आएको छ। आफूहरूले कारबाही गरेका सांसदलाई सभामुखले कारबाही भएको सूचना टाँस नगरेको भन्दै एमाले असन्तुष्ट छ।
संसदको गतिरोध अन्त्य गर्न कांग्रेस नेता पौडेलले हालै बालकोट पुगेर ओलीसँग आग्रह गरेका थिए। मन्त्री कार्कीले बालकोट पुगेर पटकपटक संसदको गतिरोध अन्त्य गर्न ओलीसँग आग्रह गरिरहेका छन्।