नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन्।
पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन्।
एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरूको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रिय सभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए।
सोही भनाइलाई उद्धृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभावविपरीत राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गरे।
उनले ओलीले देशभर एकसाथ जिल्लाहरूको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए।
जिल्ला-जिल्लामा गरेको भए नेताहरू जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाइ थियो। तर त्यो पद्धति ओली समूहमा नरहेको अध्यक्ष नेपालले बताए।
उनले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ताहरू नभएको दाबी पनि गरे।
अध्यक्ष नेपालले उनीसँग देवत्वकरण गर्ने मानिसहरू मात्रै रहेको र अन्य मानिसहरू विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको दोहोर्याए।
उनले भने, ‘आज तपाईंहरूले सुन्नु भएको होला–केपी ओलीको एउटा भाषण। त्यो भाषणमा अब राष्ट्रिय सभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ। सुन्नुभयो, हैन ? हार स्वीकार गरेका छन्। पराजय स्वीकार गरेका छन्। तर कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन। त्यो स्वभाव कस्तो छ भन्दाखेरी नयाँ नेतृत्व विकास गर्नै नदिने। ७७ जिल्लामा एकैचोटी जिल्ला अधिवेशन उद्घाटन गर्ने। देशैभरि एकैचोटी। यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन।’
अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताए।
उनले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।