भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएका छन्।
धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने मेयर दाहालले बताइन्।
धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने उनले बताइन्।
न्यूज एजेन्सी नेपालसँग कुरा मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन्।
‘हामीले प्रक्रिया अघि बढाइसकेका छौं। हुनत हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र श्रोत जुटाएर निर्माण सम्पन्न गर्ने, दायित्व धुर्मस सुन्तली फाउण्डेशनको हो’, उनले भनिन्, ‘महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद पनि महानगरले श्रोत जुटाउन आर्थिक सहयोग पनि जुटायौं। राम्रो सहयोग जुटेको हो। आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो। लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो।’
उनले महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेको स्मरण गरिन्। ‘१८-२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराएको हो। उहाँहरुले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिति भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन। उहाँहरुले हामीले श्रोत जुटाउन सकेनौँ, त्यसकारण महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेपछि हामीलाई पत्र पनि दिनुभयो र उहाँहरुले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेश गरेपछि यो बहुवर्षिय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौं। सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ। सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौँ,’ उनले भनिन्।
मेयर दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गरिन्। उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताइन्।
‘राजनीतिको केन्द्रबिन्दु चितवन बन्नुमा मलाई के लाग्छ भने राजनीतिको एउटा उथलपुथल क्रान्ति गरेर यो देशलाई परिवर्तनको बिन्दुमा ल्याउने नेतृत्व, अध्यक्ष कमरेड प्रचण्ड हो’, उनले भनिन्, ‘आखिर देश त उहाँकै वरपर घुमेको छ। २०६४ देखि यहाँसम्म आइपुग्दा। शान्तिप्रक्रियादेखि यहाँसम्म आइपुग्दा। हरेक कालखण्डमा देशमा ठूला समस्या शंकट आउँदा पनि आखिर देशको समस्याको निकास दिने व्यक्ति र पार्टी भनेको अध्यक्ष कम्रेड प्रचण्ड, माओवादी पार्टी।’
उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताइन्। मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गरिन्।
‘प्रचण्ड यहाँको नभइ अन्यत्र जिल्लाको प्रतिनिधि हुँदा चितवनको अवस्था के थियो? त्यो आकर्षण चितवनमा थिएन। अध्यक्ष कमरेड चितवन जिल्लाबाट जब जनप्रतिनिधिको रुपमा आउनुभयो । तब यो छोटो अवधिमा चितवनको चर्चा, परिचर्चा कस्तो छ? राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा, आम सबै हिसावले,’ उनले अगाडि भनिन्, ‘अहिले हरेक गतिविधि राजधानी काठमाडौंभन्दा पनि चितवन केन्द्रित छन्। विभिन्न पार्टीका सभा सम्मेलन, मेला, प्रदर्शनी, किन भइरहेका छन् भन्दा जसरी देश उहाँकै वरपर घुमिरहेको छ, त्यसैगरी उहाँ यहाँबाट प्रतिनिधित्व गरेको कारणले गर्दा चितवन जिल्लाको महत्व बढेको छ।’
भरतपुरको विकास तिब्र रूपमा भइरहेको दाबी गर्दै मेयर दाहालले पछिल्लो समय चितवनको चर्चा जताततै हुने गरेको बताइन्।
‘भरतपुर महानगरपालिकामा जुन ढंगले विकास भएको छ, विकासको चर्चा, परिचर्चाका कारणले पनि, वैकल्पिक राजधानीको रुपमा यो स्वतःस्फूर्तः बन्दै गइरहेको छ। चितवन जिल्ला व्यवसायिक, आर्थिक केन्द्रको रुपमा, मेडिकल सिटीको रुपमा, शैक्षिक हबको रुपमा, उत्पादनको केन्द्रको रुपमा, कृषि हबको रुपमा, हामी दुध, माछाको राजधानी, हामी आत्मनिर्भर छौं,’ उनले भनिन्।
मेयर दाहालले आफ्नो साढे ४ वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेको दाबी गरिन्। उनले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केराखेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको जिकिर गरिन्।
मेयर दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको र आगामी दिनमा कृषि, शिक्षा, स्वास्थ्यको हब चितवन बनाउने दाबी गरिन्।
उनले शीर्षस्थ नेताहरु भएको ठाउँको विकास अलि चाँडै हुने गरेको त्यसको प्रभाव चितवनमा पनि परेको बताइन्। मेयर दाहालले शीर्षस्थ नेता चितवनको जनप्रतिनिधि भएकोले गर्दा अर्बौं बजेटका योजनाहरु गर्न सफल भएको बताइन्।
‘साढे ४ वर्षमा ५३ काम भनेको संक्षिप्त हो। हामीले ५३ दुना काम गरेका छौं। महानगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाहरु, महानगर गौरवका आयोजनाहरु, सडक पूर्वाधार, भौतिक पूर्वाधारहरु, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, समग्र क्षेत्र, सुशासनको क्षेत्र, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरपालिकाले विकासको सन्तुलित मोडल र खाका अनुसार हामी अघि बढेका छौं’, उनले भनिन्, ‘चुनावी दौरानमा जनताको बीचमा गरेका वाचा भन्दा धेरै माथि उठेर काम गरेका छौं। सडक पूर्वाधारको क्षेत्रमा सोचेभन्दा बढी उपलब्धि प्राप्त गरेका छौं। भौतिक पूर्वाधारमा पनि महानगरपालिका भित्र रहेका वडाका कार्यालय भवनहरू १६ वटा त नयाँ बनाएका छौं।’
उनले अगाडि भनिन्, ‘हामी माछामा, दुग्ध उत्पादनमा, पोल्टिमा आत्मनिर्भर छौँ । तरकारीमा, केरा खेतीमा आत्मनिर्भर छौँ । स्वास्थ्यको क्षेत्रमा पनि हामी सबल छौँ । त्यो त पक्का हो नि । एक त आफ्नो संकल्प पनि हो । आफ्नो इच्छाशक्ति पनि हो । दोस्रो कुरा अलिकति पहुँच पनि हुनुपर्छ,’ उनले भनिन्।
‘शिक्षाको क्षेत्रमा विद्यालय भवन, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरका योजनाहरु, तीन वर्षको तथ्यांक अनुसार महानगरपालिकामा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या भर्ना दर साढे ६ हजार विद्यार्थीहरु बढाउन सफल भएका छौँ । सरकारी विद्यालयमा भर्ना हुने क्रम तीव्र ढंगले बढेको छ। ५ वर्षको हाम्रो कार्यकालमा १० हजार विद्यार्थी निजीबाट सरकारीमा आउने हाम्रो संकल्प छ। हामी सफल हुन्छौँ’, उनले भनिन्।