जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन्।
अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्ने पनि स्पष्ट पारे।
राष्ट्रिय व्यापार संघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने तर्क गरे।
अध्यक्ष भट्टराईले व्यूरोक्रेसीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढन पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए। उनले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरुले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औंल्याए।
‘हामी कहाँ बडो उदेकलाग्दो कुरा के छ भने आफनो देशको विकासका जुन सापेक्षता छ। छरछिमेकमा आएको जुन परिवर्तन छ। अन्तर्राष्ट्रिय परिस्थिति जुन छ। त्यसलाई आँकलन गरेर अर्थतन्त्रको क्षेत्रहरुबीचमा कसरी सन्तुलन मिलाउने र हाम्रो तुलनात्मक लाभ, प्रतिस्पर्धी लाभ कुन हो? छुट्टयाएर अघि बढने कुरामा जानुपर्छ’, उनले भने, ‘सिद्धान्ततः सबैले भन्छन्। तपाईँहरूले त भन्नु हुन्छ। मेरो संकेत कता छ भने राज्यको नेतृत्व गर्ने भने राजनीतिले हो। राजनीति भनेको राजनीतिक दल र तीनका नेताले गर्ने हो। तर हाम्रो समस्या के हुन्छ भने हामी उही साउनका आँखा फुटेको गोरु सधैं हरियो देख्छ भनेर हिजो आन्दोलन गर्यौं हामीले सात सालदेखि। राणतन्त्र फ्याँक्यौं । पछि पञ्चायत फ्याँक्यौं । पछि राजतन्त्र फ्याक्ने संघर्षहरु गर्यौं। र अहिले हामी नयाँ चरणमा प्रवेश गरिसक्यौं । तर मेरो समकक्षी साथीहरुप्रति मलाई बडो दिक्क लाग्छ।’
उनले परिस्थिति फेरिईसक्यो । एजेन्डा फेरि सके । छिमेक फेरिई सक्यो। तर यति बेलाको हाम्रो मुख्य कार्यभार भनेको चाँही छिटोभन्दा छिटो विकास र समृद्धि नै ल्याउने भएको भन्दै व्यङ्ग्य गरे। ‘यसमा हुँदाहुँदै थेगो त सबैले थाल्नु भो, समृद्धि समृद्धि । तर त्यो समृद्धि हो के? आउँछ कसरी ? भनेर मात्रै आउँछ कि? त्यसपछि त्यसका खास नियमहरु बुझ्नुपर्छ?,’ उनले अगाडि भने, ‘अर्थतन्त्रका विभिन्न क्षेत्रहरुको सन्तुलन मिलाउनुपर्छ भन्ने कुरा मुख्य नेतृत्वले नबुझेपछि अब हाम्रो कृष्णहरि जस्ता अत्यन्तै सक्षम मानिसहरु हुनुहुन्छ । अर्थ मन्त्रालयमा म छदाँखेरी आएको परिणाम मेरो कारण मात्र नभई मैले त उहाँहरुलाई हौसला दिएको मात्रै हो।’
व्यूरोक्रेसीमा क्षमतावान मानिस रहेको भन्दै उचित व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्ने भट्टराईले तर्क गरे। ‘राजनीतिक नेतृत्ले चाँही आफूले जान्ने पल्टिने सबै क्षेत्रमा जानेको छु भन्ने र अनि बिगार्ने होइन। कसले जानेको छ, त्यो बुझ्ने र जानेको मान्छेलाई त्यो परिणाम ल्याउनुस भन्ने हो। र त्यो भनेको अहिलेको नेपालमा विकास र समृद्धिको जुन कुराहरु छन्। त्यो भनेको कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन मिलाउने र र अहिले पनि जुन निर्वाहमुखि कृषिको बाहुल्यता छ । मुलुकमा विकास र समृद्धि ल्याउने हो भने गफ हाँकेर होईन, गुड्डी हाँकेर होईन । विज्ञहरुसँग ज्ञान, सिप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सक्ने हो भने देश समृद्ध बन्न सक्छ । त्यसैले मुख्य कुरा भनेको राजनीतिक नेतृत्वको दृष्टिदोषले समस्या भईराखेको छ ।’
अध्यक्ष भट्टराईले मुलुकबाट गरिबी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए।