सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठमा कोरोना देखिएपछि मन्त्री कार्की पनि क्वारेन्टिन बसेका थिए।
मन्त्री कार्कीको आज कोरोना परीक्षण गरिएकोमा नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जानकारी दिएको छ।
बालुवाटारमा गत बिहीबार र शुक्रबार राजनीतिक समन्वय समिति बैठक बसेको थियो। उक्त बैठकमा प्रचण्ड र श्रेष्ठ पनि उपस्थित थिए भने मन्त्री कार्की पनि बैठकमा सहभागी थिए।
चिकित्सकहरूले आगामी शुक्रबार फेरि स्वाब परीक्षण गर्न सुझाव दिएकोले त्यो दिनसम्म मन्त्री कार्की होम क्वारेन्टिनमै बस्ने भएका छन्। त्यसपछि मात्रै भेटघाट तथा मन्त्रालयका काममा जाने मन्त्री कार्कीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा पनि उक्त बैठकमा सहभागी थिए। प्रधानमन्त्रीमा कुनै पनि लक्षण नदेखिएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवा पनि होम क्वारेन्टिन बसेका छन्। तर उनले स्वाब परीक्षण गरेका छैनन्।