नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत कर्णाली प्रदेशका चारवटा जिल्लामा नेतृत्व चयन भएको छ।
मुख्य पदमा सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा नेतृत्व चयन भएको हो।
अधिवेशन भइरहेका बाँकी चार जिल्लामध्ये सुर्खेतमा निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने भएको छ भने दैलेख र जाजरकोटमा पनि निर्वाचन हुने संकेत देखिएको छ।
नेकपा एमालेका कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार डोल्पामा शेरबहादुर बुढा र सल्यानमा गोविन्द कुमार पुन, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा अध्यक्षमा चयन भएका छन्।
यी जिल्लाहरूमा सर्वसम्मत अध्यक्ष चयन भएको उनले बताए। जुम्लामा महतको एकल उम्मेदवारी परेको थियो।
अधिवेशन भएका अरू जिल्लाहरूमध्ये सुर्खेतमा निर्वाचन हुने भएको छ। सुर्खेतमा डण्डीप्रसाद शर्मा र अमृत बिसी अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन्। बिसी सुर्खेतका वर्तमान उपाध्यक्ष हुन्।
यसअघि जिल्ला अध्यक्षको दावेदार केही नेताहरू पछि हटेका छन्।
यस्तै दैलेख र जाजरकोटमा पनि निर्वाचन हुने संकेत देखिएको छ।
‘यी जिल्लामा मनोनयनको काम भइरहेको छ। मनोनयन फिर्ता लिने समयसम्म पनि हामी सर्वसम्मतीको प्रयासमा छौं,’ कर्णाली प्रदेश कमिटीका अध्यक्ष शाहले भने, ‘सर्वसम्मत भएपनि, निर्वाचन भएपनि समय अलि पर धकेलिन्छ होला।’
कालीकोटमा भने शनिबारबाट मात्र अधिवेशन सुरू भएकोले नेतृत्व चयनमा केही समय लाग्ने भएको छ।
यो अधिवेशनअन्तर्गत कर्णाली प्रदेशका ८ वटा जिल्लामा मात्र जिल्ला अधिवेशन भएको छ। बाँकी रहेका जिल्लाहरूमध्ये मुगुमा पुस २७ गते र हुम्लामा माघ २३ गते अधिवेशन हुनेछ।