नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई 'आइ लभ यु बा' भन्नेहरूले भ्रष्टाचारलाई अर्जुनदृष्टि देखेको आरोप लगाएका छन्।
पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहँदा पत्रकारहरूसँग विभिन्न विषयमा कुराकानी गरेका उनले मुलुक नै समाजवादीमय हुने गरी चुनावी माहौल सिर्जना गरिने दाबीसमेत गरेका थिए।
‘आइ लभ यु केपी बा भन्नहरूले भ्रष्टाचारलाई अर्जुनदृष्टि देखेका छन्,’ उनले भने, ‘अब हामी वडा तहमा जान्छौं। एक, डेढ महिनाको अवधिमा मुलुक नै एकीकृत समाजवादीमय हुने माहौल सिर्जना गर्छौं।’
उनले एमालेभित्र विचारको स्खलन भएकोसमेत आरोप लगाए। एमालेको मुल नेतृत्व दक्षिणपन्थी भएको पनि उनको दाबी थियो।
साथै उनले कांग्रेसका सभापति र संस्थापन पक्ष चुनावी तालमेलको पक्षमा रहेको दाबी गरेका छन्। ‘गठबन्धन हामीलाई मात्र होइन कांग्रेसलाई पनि आवश्यक छ,’ उनले भने, ‘सभापति र संस्थापन पक्ष तालमेलकै पक्षमा छ।’
उनले केन्द्रीय सदस्यहरूलाई नै चुनावी अभियानका लागि वडाहरूमा खटाइने पनि बताए।