नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूबारे छानबिन समिति बनाइदिन गृहमन्त्री लामिछानेलाई आग्रह गरेका छन्।
संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आइतबार बेलुकी पत्रकार सम्मेलन गर्दै थापाले भने, ‘हेर्नुस् त आज मलाई उहाँले के-के भन्नुभयो। म फेरि उहाँलाई अनुरोध गर्छु, लौ न तपाईंले एउटा छानबिन समिति बनाइदिनुस्। लौ न बनाइदिनुस्।’
सर्वदलीय वा रास्वपाका मानिसहरू मात्रै राखेर भए पनि छानबिन समिति बनाउन उनले गृहमन्त्रीलाई आग्रह गरेका छन्। ‘गगन थापामाथि छानबिन गर्न रास्वपा पार्टीकै मात्र छानबिन समिति बनाइदिए पनि हुन्छ, लौ न बनाइदिनुस्,’ थापाले भने।
महामन्त्री थापाले गृहमन्त्री संसदीय छानबिन समितिबाट डराएको पनि बताए।
‘आफै गृहमन्त्री हुँदै गर्दा त्यसको ओझलाई नबुझिकन होइन, बुझेर तर यसलाई बहकाउने प्रयास गर्नुभएको छ। यो सबै कुराबाट के प्रमाणित हुन्छ भने उहाँ संसदीय छानबिन समिति गठनबाट डराउनुभएको छ,’ उनले भने।