कैलाली कारागारमा रहेका सांसद अरूण चौधरी रिहा भएका छन्। आइतबार बिहान उनी कैलाली जिल्ला कारागारबाट रिहा भएका हुन्।
कारागारबाट निस्किएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि चौधरी रिहा भएका हुन्।
राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको थियो।
सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य ६ जनाको पनि कैद मिनाहा गर्न केन्द्रबाट पत्राचार भएको थियो। तीमध्ये सांसद चौधरीसहित ५ जना आइतबार रिहा भएका हुन्।*
प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक चौधरीलाई पक्राउ गरी माघ २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उनलाई ९ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका थिए।
जेलबाट रिहा भएपछि सांसद चौधरीले चुनाव जितेपछि रिस मान्नेहरूको योजनाअनुसार आफूलाई पक्राउ गरिएको भए पनि उनीहरूको योजना सफल नभएको बताए।
‘१८ दिन जेल बस्दा मैले धेरै कुरा सिकेको छु,’ चौधरीले भने,‘भित्र कैदीबन्दीहरू कोचाकोच गरेर बस्नुपरेको छ। यसमा सुधार हुनुपर्छ।’
*यसअघि अन्यथा पर्न गएकाले सच्याइएको।