सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनको गतिरोध अन्त्य गर्न बेग्लाबेग्लै छलफल गरेका छन्।
सभामुख घिमिरेले प्रतिनिधि सभामा रहेका दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।
राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेका छन्।
प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको थियो। निर्धारित समयमा बैठक बस्न नसक्ने भएपछि प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सिंहदरबारमा छलफल गरेका छन्।
साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूले सदनमा रहेका विपक्षी दलका नेताहरूसँग नयाँ बानेश्वरमा छलफल गरेका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। कांग्रेसले विपक्षी दलहरूसँग पनि छलफल गरेर यो मुद्दामा सँगै जान आग्रह गरेको छ।
कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने बताउँदै आएको छ। बिहीबारको बैठकमा पनि संसदीय छानबिन समिति माग गर्दै कांग्रेसले नाराबाजी गरेको थियो।
सो क्रममा एमाले र कांग्रेस सांसदहरूबीच धकेलाधकेल पनि भएको थियो।