नेकपा एमालेले केन्द्रीय सदस्य समेत रहेका दुर्गा प्रसाईंलाई निष्कासन गरेको छ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनलाई पार्टीबाट निष्कासित गर्ने निर्णय भएको बताए।
पछिल्लो समय उनी नागरिक बचाउ महाअभियानमा लागेका थिए। उनले गत फागुन १ गते काँकडभित्तामा पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई राखेर कार्यक्रम गरेका थिए। उक्त अभियानको उद्घाटन ज्ञानेन्द्र शाहले गरेका थिए।
उनले मुलुक २०४६ सालअघि फर्काउनुपर्ने भन्दै भाषण समेत गरेका थिए।
२०४६ सालअघिसम्म मुलुक पञ्चायती शासनको अधिनमा थियो। राजाको सक्रिय शासनकालमा दलीय प्रतिस्पर्धादेखि न्यूनतम लोकतान्त्रिक हकसमेत कुण्ठित थिए।
गणतन्त्रका लागि सशस्त्र युद्धमा होमिएका प्रसाईंले आफूलाई राजाको सक्रिय शासनको पक्षमा खुला रूपमा उभ्याएका हुन्।
यस्तै पार्टीले कारबाही गर्न लागेको थाहापाएसँगै सार्वजनिक रूपमै एमाले छाडिसकेको घोषणा गर्दै आएका थिए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सार्वजनिक रूपमा टिप्पणी गरेका थिए।
ओलीले पनि उनको गतिविधिबारे पानीको लेभल मिल्दै जाने बताएका थिए।
यो पनि: ज्ञानेन्द्र र पारसलाई सँगै राखेर दुर्गा प्रसाईंले सुरू गरे आफ्नै अभियान
दुर्गा प्रसाईंबारे ओलीले भने- पानीको लेभल आफैं मिल्दै जान्छ
पूर्वराजालाई बोलाएर दुर्गा प्रसाईंको चर्को भाषण- मुलुक २०४६ सालअघि फर्काऔं