राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरे।
संयुक्त बैठक सकिएको केहीबेरमा राष्ट्रिय सभा बैठक बस्यो।
संयुक्त बैठक सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची थियो।
बैठक सुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर विरोध जनाए।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको जानकारी गराएका थिए।
‘राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। त्यसमा धन्यवाद ज्ञापन गर्ने मात्रै कार्यसूचीमा रहेको विषय हुनाले अगाडि बढाउन म आग्रह गर्दछु,’ उनले भने।
तर कांग्रेस सांसदहरू उठेर बैठक अवरोध गरिरहे। उनीहरूले बोल्न समय माग गरे।
राष्ट्रिय सभा अध्यक्षबाट समय पाएपछि प्रमुख सचेतक कृष्णबहादुर रोकायले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको विषय लामो समयदेखि प्रतिनिधि सभामा उठे पनि संसदीय छानबिन समिति गठन नभएको बताए।
यस्तो गम्भीर विषयमा नेपाल सरकार संवेदनशील नभएको उनको भनाइ थियो। ‘जबसम्म संसदीय छानबिन समिति गठन हुँदैन, तबसम्म संसदको कुनै पनि कारबाही अघि बढ्दैन,’ उनले भने।
यसपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले बैठकमा प्रधानमन्त्री, अर्थमन्त्री, सञ्चार मन्त्री, कानून मन्त्रीलगायत उपस्थित रहेको पनि बताए। संसदीय छानबिन समिति गठन गर्ने विषय अलि बढी प्रतिनिधि सभाको विषय भएको पनि दाहालको भनाइ थियो।
कांग्रेस सांसदहरू उठेर विरोध जारी राखेपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले जेठ ३ गतेसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित गरेका छन्।
यो पनि: कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित