पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढर्राबाट आएको बताएका छन्।
मंगलबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि बोल्दै महतले उक्त कुरा बताएका हुन्।
प्रतिपक्षले लामो समयदेखि उठाएका माग र सर्वसाधारणको मागलाई सम्बोधन नगर्ने गरी कार्यक्रम आएको उनले बताए।
'विगतको जस्तै लामो कार्यक्रम आएको छैन,' उनले भने, 'सरकारको भनाइ र गराइमा आकाश जमिनको फरक छ। यति लामो कार्यक्रम राख्न आवश्यक छैन। सबै पुरानै ढर्रामा आएको छ।'
कार्यक्रमले सुशासनको कुरा गरेर भ्रष्टाचार उन्मुक्तिका कुरा समेत गरेको महतको भनाइ छ।
'सरकारमा बस्नेहरूले गरेको दुरूपयोगलाई नीति तथा कार्यक्रमले ढाकछोप गरिरहेको छ,' उनले भने, 'कांग्रेसले लामो समयदेखि संसदमा माग उठाइरहेको छ। यो विषयलाई केही भएको छैन जसरी बसेको छ। नीति तथा कार्यक्रममा सुशासनको कुरा उठाउनुको अर्थ छैन।'
अहिले राज्य संरचनाको दुरूयोग भएको समेत उनले बताए।
'तीन करोड केन्द्रबाट दिने कुरा गर्दै हुनुहुन्छ,' उनले भने, 'वितरणमुखी कार्यकर्तामुखी बजेट ल्याउँदै हुनुहुन्छ। त्यसको अभ्यास नीति तथा कार्यक्रमले गरेको छ। नीति तथा कार्यक्रममा भन्ने कुरा केही छाडिएको छैन। तर हुने कुरा केही छैन।'
सरकार आफैले राज्य संरचनाको दुरूपयोग गर्दै सर्वसाधारण जनताको माग बेवास्ता गरेको उनको आरोप छ।