नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसिसीअन्तर्गतका परियोजना समय सीमाभित्रै सम्पन्न हुनेमा आफू आशावादी भएको बताएकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी अल्ब्राइटले मंगलबार दिउँसो काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै भनिन्- प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू सबै जना परियोजनाको पक्षमा हुनुहुन्छ। परियोजना कार्यान्वयनमा गइसकेको छ। उहाँहरूसँग कुरा गरेपछि म निकै उत्साहित छु र परियोजना समयसीमाभित्रै पूरा हुनेमा आशावादी छु।
गत आइतबार नेपाल आएकी अल्ब्राइटले सोमबार र मंगलबार उच्चस्तरीय राजनीतिक भेटघाट गरेकी थिइन्।
‘सरोकारवाला विभिन्न निकायका अधिकारीहरूसँग भेट्दा उहाँहरू सबैले कार्यान्वयनको प्रक्रियालाई तीव्र गतिमा अघि बढाउनुपर्ने बताउनुभएको छ,’ अल्ब्राइटले भनिन्,‘हामीसँग विगत २० वर्षमा संसारका विभिन्न मुलुकमा एमसिसीका परियोजना समयमै सकेको अनुभव छ। केही जटिलता भए पनि नेपालमा पनि समयमै परियोजना सकिन्छन्।’
एमसिसी संसदबाट पारित हुँदा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणामा आफूहरू सहमत भएको र त्यसलाई स्वीकारेको प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले बताइन्।
नेपालमा एमसिसी गत भदौ १३ गतेदेखि कार्यान्वयनमा गएको छ। एमसिसीअन्तर्गतका परियोजना ५ वर्षभित्र पूरा भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले एमसिसीका परियोजनाका लागि खरिद र ठेक्का प्रक्रिया सुरू भइसकेको बताए।
‘एमसिए नेपालले पारदर्शी तरिकाले वृहत छलफलपछि टेन्डर प्रक्रिया सुरू गरिसकेको छ। हामीसँग अब ४ वर्ष ११ महिनाको समय छ। समयमै सक्ने गरी काम भइरहेको छ,’ उनले भने।
एमसिए नेपालले प्रसारण लाइन निर्माणका लागि केही समयअघि टेन्डर आह्वान गर्दा ६१ प्रतिशतभन्दा बढी महंगो गरी टेन्डर परेका थिए।
प्रसारण लाइन निर्माणको लागि एमसिए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो। तर, गत साता खोलिएको बोलपत्रमा न्यूनतम रकमको प्रस्ताव नै ३६ करोड ५९ लाख डलर छ।
एमसिए नेपालले लट-१ अन्तर्गत, लप्सीफेदी–रातमाटे–न्यु हेटौंडाको १ सय १७ किमी, लट-२ अन्तर्गत, रातमाटे-न्यु दमौलीको ९० किमी र लट-३ अन्तर्गत, न्यु दमौली-न्यु बुटवल-न्यु बुटवलबाट भारतीय सीमासम्म १ सय ८ किलोमिटर ठेक्का आह्वान गरेको थियो।
कुल ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन ४ सय केभी क्षमताको हुनेछ। प्रसारण लाइनको क्षेत्रमा पर्ने ८ सय ५६ टावर निर्माणका लागि २ लाख १२ हजार रूखहरू कटान गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकनले देखाएको छ।
लट-१ मै सबैभन्दा न्यून प्रस्ताव नै १३ करोड १५ लाख डलरको प्रस्ताव परेको छ। त्यस्तै लट-२ मा १० करोड ५४ लाख डलर छ भने लट-३ मा १२ करोड ९० लाख डलरको न्यून प्रस्ताव रहेको छ। तीन लटमा परेका न्यून प्रस्तावको जोड्दा पनि ३६ करोड ५९ लाख डलर पुगेको छ।
एमसिए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्ग बिष्टले प्रसारण लाइनको डिजाइन गर्दा कुनै त्रुटी नभएको दाबी गरे।
‘प्रसारण लाइनको डिजाइन गलत थिएन। किन त्यति महंगो गरी कम्पनीहरूले टेन्डर हाले हामी छलफल गरिरहेका छौं,’ बिष्टले भने,‘उहाँहरूले प्रसारण लाइन निर्माणको समग्र खर्चको राम्ररी हिसाब गर्दा बुझाइको केही समस्या भयो कि जस्तो लाग्छ। एउटा टेन्डर र अर्को टेन्डरबीच पनि एक करोड डलरको फरक छ।’
यो विषयमा छलफल गरेर रिटेन्डरमा जान सकिने बिष्टले बताए।
‘टेन्डरको प्रक्रिया लम्बिँदा पनि हामीलाई समयसीमाको समस्या पर्दैन। टेन्डरको प्रक्रिया पूरा गर्न केही समय हामीले बढी नै राखेका छौं,’ उनले भने।
एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले अहिले टेन्डरमा देखिएको समस्या आफूहरूका लागि नौलो नभएको बताए।
‘यो नेपालमा मात्र भएको एकदमै नयाँ कुरा होइन। अरू मुलुकमा पनि हामी यस्ता समस्याको समाधान निकाल्दै अघि बढेका छौं,’ ब्रुक्सले भने।