नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन हुनेबित्तिकै मिटरब्याज पीडितहरूको सुनुवाइ भएको बताएका छन्।
संसदीय दलको मंगलबार बसेको बैठकमा उनले मिटरब्याज पीडितको समस्या समाधान भएको बताएका हुन्।
‘आरती साहको परिवारको पीडा सुन्दैन सरकार। बरू उनलाई दुव्यर्वहार गर्छ, यस्तो स्थितिमा देश पुगेको थियो। देशलाई सरकार परिवर्तन हुनेबित्तिकै कति हप्ताको यात्रा पूरा गरेर मेची र महाकालीबाट काठमाडौं आएका मिटरब्याज पीडितहरूको द्वन्द्व सरकारले सुनिरहेको थिएन। सरकार परिवर्तन हुनेबित्तिकै त्यो समस्या समाधान भयो। चार बुँदे सहमति भयो। उहाँहरू घर फर्किनुभयो,’ उनले भने।
उनले सरकारले गाडीको बन्दोबस्त गरेर घर पठायो होला भन्ने विश्वास व्यक्त गरेका थिए। उनले सरकार गतिहीन ढंगले चलेको, आर्थिक वृद्धिदर हासिल गर्न नसकेकाले परिवर्तन गर्नुपरेको बताए।
‘दुनियाँले देख्ने–बुझ्ने गरेर एमालेले अर्थमन्त्रालयको नेतृत्व लिन्छ भन्दा सेयर बजार दुईपल्ट, तीनपल्ट, एकै दिनमा ब्रेक लगाउनुपर्यो। भोलिपल्ट एमालेले नलिने भने भने स्वाट्टै झरेर माइनसमा जाने अवस्था देखियो,’ उनले भने।