स्ट्रेट अफ हर्मुजको क्षेत्रीय रूपमा संयुक्त व्यवस्थापन गर्ने ओमानको प्रस्तावलाई इरानले अस्वीकार गरेको छ।
अमेरिका र इसराइलले फेब्रुअरीमा इरानमाथि आक्रमण गर्नुअघि विश्वको करिब २० प्रतिशत तेल र ग्यास प्रवाह हुने यस महत्त्वपूर्ण जलमार्गबारेको द्वन्द्व समाधान गर्न ओमानले एक नयाँ क्षेत्रीय सम्झौता प्रस्ताव गरेको थियो।
तर इरानले हर्मुजको क्षेत्रीय संयुक्त व्यवस्थापनसम्बन्धी ओमानको प्रस्ताव सफल हुने कुनै सम्भावना नरहेको भन्दै अस्वीकृत गरेको समाचार संस्था रोयटर्सले एक वरिष्ठ इरानी अधिकारीको हवाला दिंदै जनाएको छ।
अमेरिका र साउदी अरेबियाले रणनीतिक जलमार्ग सम्बन्धमा आफ्ना अव्यहवारिक योजना अगाडि बढाउन ओमानलाई दबाब दिने प्रयास गरिरहेको ती अधिकारीले रोयटर्सलाई बताए।
इरानले हर्मुज भएर भित्रिने सम्पूर्ण मार्ग र बाहिरिने मार्गको केही भाग इरानी नियन्त्रणमै हुनुपर्ने कुरामा जोड दिएको भनेर उनले थपे।
तेहरानले ओमानलाई एक मूल्यवान छिमेकीको रूपमा माने तापनि ओमानसँग ५०-५० को संयुक्त नियन्त्रण व्यवस्थाले इरानको हित नहुने ती अधिकारीले बताए।
गत जुनमा अमेरिका र इरानबीच १४ बुँदे समझदारीपत्र (एमओयू) भए पनि हर्मुजका बारेमा मतभिन्नताका कारण दूई देशबीच आपसी हमला जारी छ। हर्मुजमा आफ्नो पूर्ण नियन्त्रण हुनु पर्ने भनेर ओमान नजिकै भएर चल्ने जहाजमा इरानले आक्रमण गरेपछि अमेरिकाले इरानमाथि करीब तीन हप्ता अघि आक्रमण शुरू गरेको थियो।
इरानमाथि १३ रातसम्म लगातार तीव्र हवाई आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ढिलो गरी उक्त अभियान स्थगित गरेका थिए। तर अमेरिका र इरानले मंगलबारदेखि फेरि बमबारी सुरू गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)