सुनसरीको देवानगन्जमा भएको झडपको छानबिनका लागि गठित समितिमा सरकारले दुई सदस्य थपेको छ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै प्राविधिक विश्लेषणका लागि नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) मोहनसिंह धामी र ब्यालिस्टिक तथा फरेन्सिक विज्ञ प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपेश अवस्थीलाई सदस्य मनोनयन गरेको हो।
थपिएका सदस्यहरू सहित समितिलाई घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
आइतबार राति देवानगन्जमा दुई समूहबीच भएको झडपपछि वास्तविकता पत्ता लगाउन सोमबार गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
यसैबीच, मन्त्रालयले सुनसरी घटनालगत्तै अन्य जिल्लाहरूमा पनि यस्तै किसिमका झडप वा तनाव हुन नदिन पूर्वतयारी तीव्र पारेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरीलगायत जिल्लाहरूमा शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूमार्फत आवश्यक समन्वय भइरहेको गृह मन्त्रालयले जनाएको छ।
बुधबार गृह मन्त्रालयमा गृहमन्त्री, गृहसचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे गम्भीर समीक्षासमेत भएको छ।
मन्त्रालयले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न पहल गरिरहेको र हाल सुनसरीको देवानगन्ज लगायत क्षेत्रमा अवस्था सामान्य बन्दै गएको जनाएको छ।