२०८२ पुस २६ गतेको कुरा हो।
नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगन थापा पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई भेट्न उनको निवास कुलेश्वर पुगेका थिए।
पार्टीमा शेरबहादुर देउवाका 'सारथि' भनेर चिनिएका श्रेष्ठले त्यस दिन गगनसँग करिब एक घन्टा कुराकानी गरे।
उक्त कुराकानीपछि गोपालमानले पत्रकारहरूसँग भनेका थिए, 'अब म विशेष महाधिवेशनको पक्षमा खुलेको मात्र होइन, पूरा सहयोग गर्ने गरी लाग्छु। मैले देउवाजीलाई १४औं महाधिवेशनमा सभापतिमा प्रस्ताव गरेर गल्ती गरेँ। उहाँ तानाशाह बन्नुभयो, पार्टीभित्र विधि–विधान मान्नुभएन, मनपरी गर्नुभयो।'
विशेष महाधिवेशनको मुखमा आएर कांग्रेस रूपान्तरणको पक्षमा आवाज उठाउँदै जीवनको अन्तिम राजनीतिक भूमिका निर्वाह गरेका उनै गोपालमानको मंगलबार निधन भयो। ७९ वर्षीय उनी पछिल्लो १० महिनादेखि प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहेका थिए।
करिब ७ दशक लोकतान्त्रिक आन्दोलनमा व्यतीत गरेका गोपालमानले ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालको आइसियूमा अन्तिम सास फेरे।
रोगले गलेपछि केही समयदेखि सक्रिय राजनीतिबाट टाढा रहेका श्रेष्ठलाई कांग्रेसले उनको योगदानको कदर गर्दै साउन ७ गते वरिष्ठ नेता बनाएको थियो।
सभापति गगन थापाले श्रेष्ठसँग कुराकानी गरेर वरिष्ठ नेताको प्रमाणपत्र उपलब्ध गराएका थिए। यो निर्णय केन्द्रीय कार्यसमितिले पछि अनुमोदन गर्ने सभापति थापाको भनाइ थियो। तर श्रेष्ठले स्वास्थ्य लाभ गरी पार्टी कार्यालय फर्केर वरिष्ठ नेताको पदबहाली गर्ने अवसर पाएनन्। उनले आफूलाई वरिष्ठ नेता बनाएकोमा पार्टीप्रति सन्तोष भने व्यक्त गरेको उनी निकटहरू बताउँछन्।
जीवनको अन्तिम समयमा आएर विशेष महाधिवेशनको पक्षमा खुल्दै देउवाको विपरीत कित्तामा उभिएका गोपालमानले आफूलाई सधैं 'देउवाको हितैषी' का रूपमा नै चिनाएका थिए। उनी भन्थे, 'मैले दसौं महाधिवेशनदेखि नै देउवालाई साथ दिँदै आएको थिएँ।'
विशेष महाधिवेशनको पूर्वसन्ध्यामा घोषित रूपले देउवा पक्षबाट अलग्गिएका भए पनि उनी देउवासँग टाढिएको त्योभन्दा केही अगाडि नै हो।
जेनजी आन्दोलन क्रममा प्रदर्शनकारीहरूको हमलामा परेर घाइते भएका देउवाले केही समयको उपचार र आरामपछि असोज २८ गते पार्टी कार्यालय सानेपामै आएर तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। तर जब देउवाले सिंगापुरमा उपचार गरेर फर्केपछि आफै पार्टी चलाउन सक्रिय भएको आभाष दिए, यसमा गोपालमानलाई चित्त बुझेन।
'देउवाजीले सिंगापुर जानुअघि पूर्णबहादुर खड्काजीलाई कार्यवाहक दिएँ भन्नुभयो। उहाँ स्वदेश फर्केपछि फेरि सबै अधिकार लिनुभयो, अनिर्णयको बन्दी बनाउन खोज्नुभयो, आफ्नो र अर्काको चिन्नुभएन,' उनले भनेका थिए, 'देउवाजीले संकटमा साथ दिएकाहरूको साथ छाड्नुभयो।'
देउवालाई संकट पर्दा आफूले सधैं साथ दिए पनि देउवाले त्यो गुन भुलेको कुरा उनी आफ्ना निकट नेता, कार्यकर्ता र पत्रकारहरूलाई सुनाउँथे।
नेपाली कांग्रेस प्रजातान्त्रिकको गठन र देउवालाई राजाले जेल हाल्दा आफूले कार्यवाहक सभापति रहेर आन्दोलन र पार्टी हाँकेको श्रेष्ठ सम्झिरहन्थे। तत्कालीन माओवादीसँग गरिएको १२ बुँदे समझदारीको एक साक्षी आफू रहेको भन्थे। पार्टी फुट र देउवामाथि संकट आइपरेका बेला साथ दिएका नेताहरूलाई दुई पटकसम्म सभापति र पटक पटक प्रधानमन्त्री भइसकेका देउवाले चटक्क भुल्न खोजेको भन्दै उनले मन दुखाएका थिए।
यति मात्र होइन, गोपालमानको चाहना देउवाको उत्तराधिकारी बन्ने थियो। यसमा देउवाबाट साथ र सहयोग पाउँछु भन्ने उनलाई पूर्ण विश्वास थियो। तर देउवाले लोकतान्त्रिक पार्टीमा आफूले उत्तराधिकारी तोक्नेभन्दा महाधिवेशनबाट चुनिएर आउने जबाफ दिए।
देउवा समूहबाट सभापतिको उम्मेदवारको चाहना राखेका गोपालमानलाई यो जबाफ चित्त बुझेन।
उनी भन्ने गर्थे, 'म पनि १४औं महाधिवेशनमा सभापतिको आकांक्षी थिएँ। देउवाजीले बालुवाटार बोलाएर तपाईंले १०औं महाधिवेशनदेखि नै सहयोग गर्नुभएको छ, यसपालि पनि मलाई नै सहयोग गर्नुस्, १५औंमा तपाईंलाई मेरो उम्मेदवार बनाउँछु भनेर उहाँले भन्नुभएको थियो। त्यस बेला त्यहाँ दाइ–भाउजू नै हुनुहुन्थ्यो। त्यो वचन उहाँले पूरा गर्नुपर्छ।'
गोपालमानले यो कुरा २०८२ साउन ६ गते बूढानीलकण्ठ निवासमा देउवाकै सामुन्ने भनेका थिए।
उनले यसो भन्दा नेताहरू विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महत पनि सँगै थिए। यी नेताहरू त्यस बेला देउवाले गगन थापालाई आगामी सभापतिमा 'ग्रिन सिग्नल' दिएको चर्चाबीच सही हो कि होइन भनेर सोध्न सामूहिक रूपमा देउवा भेट्न पुगेका थिए।
जिल्ला–जिल्ला घुम्दै आफ्नो पक्षमा माहोल बनाइरहेका गगनलाई 'ग्रिन सिग्नल दिएको छैन' भनेर देउवाले भनेपछि बल्ल गोपालमान लगायत नेताहरू मत्थर भए भने देउवा समूहलाई १५औं महाधिवेशनसम्म एकढिक्का राख्ने भन्दै छलफलबाट उठेका थिए।

पार्टी विधान अनुसार देउवा १५औं महाधिवेशनमा सभापति उम्मेदवार बन्न नमिल्ने हुँदा आफूलाई त्यो समूहबाट सभापति उम्मेदवार बनाइनुपर्छ भन्ने गोपालमानको अडान रहन्थ्यो। देउवा समूहमा सभापतिका आकांक्षी अरू पनि हुँदा कसैले पनि एकअर्कालाई समर्थन भने गरिसकेका थिएनन्।
गोपालमानले देउवा समूहका छलफलमा आफू वरिष्ठ रहेकाले देउवाले नेतृत्व छाड्दा आफूलाई नेतृत्व गर्ने अवसर दिनुपर्ने कुरा गर्न छुटाउँदैनथे।
'म शेरबहादुरजी र रामचन्द्र पौडेलजीको समकक्षी हुँ। कार्यवाहक सभापति र उपसभापति भएर काम गरेँ। देउवा र रामचन्द्र भाग्यमानी रहेछन्– प्रधानमन्त्री र राष्ट्रपति भए, म पनि भुइँदेखि संघर्ष गरेर आएको हुँ, पार्टी काममै छु,' गोपालमान भन्थे, 'शेरबहादुर दाइ अब सभापति उठ्न मिल्दैन, सुखदु:खमा मैले साथ दिएको छु, तपाईंले मेरै काँधमा पार्टीको भारी बिसाउनू।'
देउवाले आडभरोसा दिएकाले आफूलाई सहयोग मिल्छ भन्नेमा गोपालमान विश्वस्त देखिन्थे। तर कांग्रेसभित्र सभापतिका आकांक्षीको रस्साकस्सी चलिरहेकै बेला भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिक परिस्थिति बदलिदियो। कांग्रेस पनि विशेष महाधिवेशन कि नियमित भन्नेमा लामो समय अल्झन पुग्यो।
त्यसपछि गोपालमानले चाहेजस्तो भएन। गोपालमान पुस्तान्तरण र रूपान्तरणको पक्षमा उभिँदा वर्षौंदेखि सारथि बनेको देउवाको साथ छुट्यो।
२०८२ पुस २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र थियो। त्यहाँ गोपालमान सहभागी मात्र भएनन्, गगन थापा र विश्वप्रकाश शर्मालाई 'चम्किलो तारा' भन्दै रूपान्तरण र पुस्तान्तरणका पक्षमा बोलेका थिए।
सार्वजनिक मञ्चमा गोपालमानको त्यो नै अन्तिम भाषण थियो।
उनले त्यस बेला भनेका थिए, 'साथीहरू आज म यहाँ कुनै पद माग्न उभिएको होइन। ७० वर्ष यो पार्टीमा रगत र पसिना बगाएको छु। म यहाँ कुनै व्यक्तिका स्वार्थको पोको बोकेर आएको छैन। ऐतिहासिक मञ्चमा उभिएर हाम्रो गौरवशाली पार्टी कांग्रेसको र यो देशको अस्तित्वबारे बोल्न आएको छु।'
'स्थिति अत्यन्त जटिल छ, पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन हामी एकजुट हुनुपर्छ। मुलुकको राष्ट्रियता खतरामा छ। २०३३ साल पुस १६ गते बिपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर आउनुभएको थियो, त्यही अवस्था अहिले पनि छ,' उनले अगाडि भने, 'दक्षिण एसिया र हाम्रो आकासमा कालो बादल बडारिएको छ। देश नै रहेन भने हामी कोसँग शासन गर्ने? नेपाली कांग्रेसले राणा फाल्यो, पञ्चायत फाल्यो, देशमा गणतन्त्र ल्यायो, तर इतिहासको ब्याज मात्र खाएर अब भविष्य चल्दैन।'
समय र पुस्तासँगै जनताका अपेक्षा बदलिएका बेला पार्टी चल्ने शैली पनि बदल्नुपर्ने धारणा राख्दै उनले भनेका थिए, 'नयाँ युवालाई अघि सार्नुपर्छ। देशको हरेक ठाउँमा युवालाई उठाउनुपर्छ र जिताएर ल्याउनुपर्छ। मलाई व्यक्तिगत रूपमा पद चाहिएको छैन, पार्टी मजबुत हुनुपर्छ। कांग्रेस कमजोर भए देशको लोकतन्त्र कमजोर हुन्छ। पार्टी हितका लागि हामी त्याग गर्न तयार रहनुपर्छ।'
आफ्नो त्यो अन्तिम भाषणको आखिरीमा गोपालमानले भनेका थिए, 'विशेष महाधिवेशन सफल बनाउँदै फेरि भेट हुने प्रण गर्दछु।'
उनले भाषणमा भनेजस्तो विशेष महाधिवेशन सफल भयो, गगन थापा सभापति भए। विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले मान्यता पनि दियो।
समय, पुस्ता र जनताको चाहनाअनुसार कांग्रेस र अरू दलबाट युवाहरू चुनाव जितेर नेतृत्वमा आएका छन्। तर गोपालमानको साथीहरूसँग फेरि भेट्ने चाहना अब पूरा हुने छैन।
साथै, उनले कांग्रेसको नेतृत्व गर्छु भन्ने चाहना राखेका थिए। राजनीतिक परिस्थिति र स्वास्थ्यले साथ नदिएकाले उनी त्यो अवसरबाट पनि वञ्चित भएका छन्।
जेनजी आन्दोलन क्रममा बूढानीलकण्ठ निवासमै निर्घात कुटिएका देउवा उपचार सिलसिलामा लामो समयदेखि विदेशमै छन्।
अहिले देउवाको हातबाट पार्टी फुत्किसक्यो। उनको समूह पनि छिन्नभिन्न भएको छ। देउवाले आफ्नो काँधमा पार्टी नेतृत्वको भारी बिसाऊन् भन्ने चाहेका गोपालमानको त्यो इच्छा पनि पूरा भएन।
उपचार सिलसिलामा हङकङमा रहेका देउवाले गोपालमानको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्। 'नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको अग्रणी भूमिका सधैं स्मरणीय रहनेछ,' देउवाले भनेका छन्।
सभापति गगन थापाले पनि पार्टीका वरिष्ठ नेता गोपालमानको निधनको खबरले स्तब्ध र मर्माहत भएको भन्दै लोकतान्त्रिक आन्दोलनमा समर्पित निष्ठावान, अनुभवी र निडर नेता गुमाउनुपरेको उल्लेख गरेका छन्।
पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित श्रेष्ठजस्तो निष्ठावान, अनुभवी र निडर नेता गुमाउनु कांग्रेस र सिँगो देशकै लागि अपूरणीय क्षति भएको सभापति थापाको भनाइ छ।
'नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैं प्रेरणादायी रहनेछ,' थापाले भने।
श्रेष्ठको निधनमा पूर्वप्रधानमन्त्रीहरू र कांग्रेस बाहिरका नेताहरूले पनि श्रद्धाञ्जलि दिएका छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले श्रेष्ठको निधनको खबरले मर्माहत भएको बताए। 'नेपालको शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ,' प्रचण्डले भनेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई लोकतान्त्रिक आन्दोलनका योद्धा भनेका छन्।
'मुलुकमा लोकतन्त्र स्थापना र पुनर्स्थापनाका लागि भएका संघर्षका कठिन दिनहरूमा उहाँले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहनेछ,' राष्ट्रपति पौडेलको भनाइ छ।
सरकार प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लेखेका छन्, 'पूर्वउपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। साथै उहाँको शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दछु।'
वि.सं. २००४ असार ३१ गते स्याङ्जामा जन्मिएका गोपालमान श्रेष्ठ विद्यार्थी कालदेखि राजनीतिमा होमिएका थिए। श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनर्स्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
यसक्रममा उनी विभिन्न समयमा गरी ५ वर्ष जेलसमेत परेका थिए।
उनी २०३६, २०४२, २०४६ र २०६२/६३ को आन्दोलनमा अग्रपंक्तिमा थिए।
२०४१ सालमा गोपालमानको स्याङ्जास्थित घरमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासमेत गएका थिए। श्रेष्ठसँगै सिंह, भट्टराई र कोइरालाले फोटोसमेत खिचाएका थिए।
तस्बिर स्रोत- सिर्जना सिंहको फेसबुकबाट।
अर्थशास्त्रमा स्नातकसम्म पढेका उनी स्याङ्जाबाट २०४८, २०५६ र २०६४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
उनले वन, भौतिक पूर्वाधार, शिक्षालगायत विभिन्न मन्त्रालय पनि सम्हालेका थिए।
कांग्रेस विभाजन भई नेपाली कांग्रेस प्रजातान्त्रिक गठन हुँदा उनले कार्यवाहक सभापति रहेर काम गरेका थिए। कांग्रेसमा उनले उपसभापति, संगठन विभाग प्रमुख र प्रमुख सचेतक रहेर पनि काम गरेका थिए।
श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि कांग्रेस केन्द्रीय कार्यालय राखिएको छ। कांग्रेसका नेता र अन्य दलका नेताले पनि सानेपा पुगेर उनलाई श्रद्धाञ्जलि दिएका छन्।
बुधबारै कांग्रेस आकस्मिक केन्द्रीय समिति बैठक बसेको थियो। उक्त बैठकले साउन १३, १४ र १५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने, साउन १४ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने, १३औं दिन गृह जिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोकसभा आयोजना गर्ने लगायत निर्णय गरेको छ।