पहल उनैले लिनुपर्थ्यो।
प्रधानमन्त्रीले।
किनभने, प्रधानमन्त्री नै देशका मूल नेता हुन्।
राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्नबाट पटक पटक चुकेका प्रधानमन्त्री बालेन शाह यसपालि यस्तो बेला चुके, जुन बेला उनको भूमिका आवश्यक र अपेक्षित थियो।
आफ्नो जिम्मेवारीमा प्रधानमन्त्री उदासीन देखिएपछि सत्तारूढ दलका सभापति रवि लामिछानेले नै अग्रसरता लिए।
उनले सबै दलका शीर्ष नेताहरूलाई बोलाएर सुनसरी घटनाबारे छलफल गरे। त्यो छलफलले सामूहिक वक्तव्य जारी गर्यो, सद्भाव र संयमका लागि सबैलाई अपिल गर्यो।
सुनसरीको देवानगन्जमा भएको हिंसात्मक झडपबारे छलफल गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले बुधबार बिहान डाकेको सर्वदलीय बैठकमा सबैले प्रधानमन्त्री बालेन शाहको खोजी गरेका थिए।
देशमा उत्पन्न संवेदनशील घडीमा सबै राजनीतिक दललाई एकठाउँ ल्याएर शान्ति, सुव्यवस्था र सद्भावको अपिल गर्न डाकिएको यति महत्त्वपूर्ण बैठकमा प्रधानमन्त्री शाह अनुपस्थित रहेकामा दलहरूले आश्चर्य मात्र प्रकट गरेनन्, आपत्ति नै जनाए।
झन्डै दुई–तिहाइ बहुमतप्राप्त प्रधानमन्त्रीबाट राजनीतिक दलहरूले कम्तिमा यस्तो संवेदनशील अवस्थामा सहकार्यको अपेक्षा राखेको देखियो। प्रधानमन्त्रीले संसदलाई लगातार लत्याएर त्यसको अवमूल्यन गरे पनि, आफ्ना प्रश्नहरूको जबाफ दिनबाट पन्छिए पनि राजनीतिक दलहरूले आज प्रधानमन्त्रीलाई खोजे।
यो स्वाभाविक पनि हो।
संसदीय व्यवस्थामा राज्य सञ्चालनसँग जोडिएका दैनिक व्यवस्थापकीय कामबाहेक प्रधानमन्त्रीका तीनवटा मुख्य जिम्मेवारी हुन्छन् — संसदमा उठ्ने प्रश्नको जबाफ दिने, सबै राजनीतिक दलहरूसँग सहकार्य गर्ने र राष्ट्रपतिलाई सरकारका काम–कारबाहीदेखि महत्त्वपूर्ण घटनाक्रमबारे ब्रिफिङ गर्ने।
यी तीन जिम्मेवारीमध्ये संसदप्रति जबाफदेही हुन त बालेनले सुरूदेखि नै छाडिसकेका छन्। त्यसबाहेक प्रधानमन्त्रीका रूपमा गर्नुपर्ने बाँकी दुइटा जिम्मेवारीबाट पनि उनी चुके।
जबकि, राजनीतिक दलहरूबीच निरन्तर संवाद र सहकार्यको संस्कृति दक्षिण एसियामा नेपाली राजनीतिको मौलिक विशेषता नै हो।
देवानगन्ज हिंसाको प्रभाव जसरी भुसको आगोझैं सल्किँदैछ, त्यसलाई बेलैमा सम्बोधन गर्न सबै दलसँग सहकार्यको पहल गर्ने मुख्य दायित्व प्रधानमन्त्री बालेन शाहकै हो। उनले आफ्नो यो दायित्व बोध गरेका भए बुधबारको सर्वदलीय बैठक उनकै नेतृत्वमा आयोजना हुनुपर्थ्यो। सबै दलका प्रतिनिधिलाई सुनसरी लगायत प्रभावित क्षेत्रको अवस्था अपडेट गराएर एकीकृत पहलको निम्ति प्रधानमन्त्रीले नै आह्वान गर्नुपर्थ्यो।
तर उनले त्यसो गरेनन्।
आफ्नै नेतृत्वमा बैठक आह्वान गर्नु त परै जाओस्, पार्टी सभापतिले डाकेको बैठकमा पनि उनी उपस्थित भएनन्।
अर्कातिर, अहिलेको संवेदनशील घडीमा राष्ट्रपतिलाई भेटेर मौजुदा अवस्थाबारे ब्रिफिङ गर्नु पनि प्रधानमन्त्री बालेन शाहको जिम्मेवारी हो।
उनले त्यो पनि गरेरनन्, वा आवश्यक नै ठानेनन्।
अहिले मात्र होइन, उनले चैत १३ गते शपथ लिएयता राष्ट्रपतिलाई औपचारिक रूपमा भेटेकै छैनन्। नियमित रूपमा गर्नुपर्ने ब्रिफिङ पनि गरेका छैनन्।
राष्ट्रपति सचिवालय स्रोतका अनुसार पछिल्ला चार महिनामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री शाहबीच सबभन्दा लामो कुराकानी भएको राष्ट्रियसभा उपाध्यक्षको शपथग्रहण समारोहमा हो। त्यो पनि १५–२० मिनेट मात्र।
त्यसबाहेक विगतमा जस्तो शितल निवासमै राष्ट्रपतिलाई 'वान–अन–वान' भेटेर गर्नुपर्ने ब्रिफिङ प्रधानमन्त्री शाहले अहिलेसम्म नगरेको स्रोत बताउँछ।
राष्ट्र–प्रमुख र सरकार–प्रमुखबीच हुने भेटवार्ताको चलन राजाकै पालादेखिको हो। राजाको शासनकालमा हरेक साता बिहीबारको दिन प्रधानमन्त्री नारायणहिटी दरबार गएर ब्रिफिङ गर्ने चलन थियो।
गणतन्त्र आइसकेपछि हरेक साता राष्ट्रपतिलाई भेट्ने चलन नभए पनि महत्त्वपूर्ण अवसरमा नियमित भेटवार्ता र ब्रिफिङ हुँदै आएको राष्ट्रपति सचिवालयका एक अधिकारीले बताए।
'गणतन्त्र आएपछि राष्ट्र–प्रमुख र सरकार–प्रमुखबीच हरेक साता भेटवार्ताको परम्परा त रहेन, तर महत्त्वपूर्ण घटनामा भेटघाट र ब्रिफिङ हुँदै आएको थियो,' राष्ट्रपति सचिवालयका एक अधिकारीले भने।
खासगरी अध्यादेशहरू ल्याउनु परेका बेला, संसद बैठक सुरू हुँदा र अन्त्यपछि, महत्त्वपूर्ण नीतिगत निर्णयहरू लिनुपरेका बेला, नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि, विदेश भ्रमणमा जाँदा र आउँदा र संवेदनशील घटनाक्रमहरूमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई ब्रिफिङ गर्ने चलन रहेको उनले बताए।
'अहिले सुनसरीमा जस्तो स्थिति उत्पन्न भएको छ, त्यसबारे त राष्ट्रपतिलाई भेटेर ब्रिफिङ गर्नु प्रधानमन्त्रीको दायित्व नै हो,' ती अधिकारीले भने।
बालेनले निर्वाह नगरेको यो जिम्मेवारी रास्वपा सभापति रवि लामिछानेले आज तत्परताका साथ र खुसी खुसी निर्वाह गरे।
उनले मंगलबार दिउँसो पार्टी सभापतिका रूपमा सुनसरीसहित पूर्वी जिल्लाहरूमा भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै औपचारिक विज्ञप्ति निकाले। शान्ति, सामाजिक सद्भाव र संयमता कायम राख्न सबै पक्षसँग अपिल पनि गरे।
त्यही विज्ञप्तिमार्फत सभापति लामिछानेले घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गर्न, दोषीमाथि कडा कानुनी कारबाही, पीडितलाई उचित न्याय, क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
त्यसपछि मंगलबार साँझ नै उनले सुनसरी घटनाबारे छलफल गर्न बुधबार बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरे।
रास्वपा महामन्त्री विपिन आचार्यका अनुसार यो बैठकका लागि सबै दललाई पत्राचार मात्र गरिएन, सभापति लामिछानेले आफै नेताहरूलाई फोन गरेर बैठकमा आउन आमन्त्रण गरे।
सर्वदलीय बैठक सकिएपछि बुधबार दिउँसो नै उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगे र सर्वदलीय बैठकबारे ब्रिफिङ गरे।
उक्त भेटमा सभापति लामिछानेले सर्वदलीय बैठकमा भएका छलफलबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेको उनको सचिवालयले जनाएको छ। यसबाहेक समसामयिक तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको स्रोत बताउँछ।
यसरी प्रधानमन्त्रीको उदासीनता वा 'इगो' ले उत्पन्न गरेको रिक्तता भर्न सत्तारूढ दलको सभापतिका रूपमा रवि लामिछाने अग्रसर भएका छन्।
आइतबार रातिबाट सुनसरी तनाव चर्किएको भए पनि मंगलबार रातिसम्म प्रधानमन्त्रीका तर्फबाट कुनै आधिकारिक अभिव्यक्ति आएको थिएन। सामान्य अवस्थामा सामाजिक सञ्जालमा सक्रिय देखिए पनि यस्तो घडीमा सार्वजनिक अपिल वा सम्बोधन नआएको भन्दै चौतर्फी आलोचना समेत भएको थियो।
संघीय सरकारको राजनीतिक नेतृत्वले स्थानीय तथा प्रदेश सरकारको नेतृत्वसँग सम्पर्क नगरेको भन्दै जनप्रतिनिधिहरूले नै प्रश्न उठाएका थिए।
मंगलबार दिनभरि घटनास्थलदेखि सामाजिक सञ्जालसम्म सर्वत्र प्रधानमन्त्री शाहको खोजी भइरहँदा उनले आफ्नै दलबाट निर्वाचित सोही क्षेत्रका सांसदसँग समेत सम्पर्क गरेका थिएनन्।
रास्वपाका सांसद लालविक्रम थापाले मंगलबार सेतोपाटीसँग भनेका थिए, 'प्रधानमन्त्रीसँग त कुरै हुन पाएको छैन, तर सचिवालयबाट कुमार बेन सरले हिजो र आज बिहान फोन गरेर मसँग घटनाबारे बुझ्नुभयो। गृहमन्त्रीसँग चाहिँ मेरो लगातारजसो कुरा भइरहेको छ।'
सुनसरी घटना गम्भीर बनेपछि र सामाजिक सद्भावमा खलल पार्नेतर्फ उन्मुख भएपछि मंगलबार साँझ नै सभापति लामिछानेले शान्ति र सद्भावको अपिल गर्दै वक्तव्य जारी गरे। र, त्यसलगत्तै सर्वदलीय बैठकको पहल गरे।
त्यसको केही घन्टापछि राति साढे ११ बजे प्रधानमन्त्री शाहले फेसबुकबाट आफ्नो अपिल सार्वजनिक गरे।
औपचारिक प्रतिक्रिया नदिने, संसदप्रति जबाफदेही नहुने, दलहरूसँग संवाद नगर्ने र राष्ट्रपतिलाई घटनाक्रमको ब्रिफिङ गर्न जरूरी नठान्ने प्रधानमन्त्री शाहले विगतमा जस्तै यसपालि पनि फेसबुकलाई नै संवादको माध्यम बनाए।
राजनीतिक दलहरूबीच परस्पर संवाद, वार्ता र विश्वासलाई तिरस्कार गर्दै आएका प्रधानमन्त्री शाह संवेदनशील घडीमा पनि फेसबुकमै सीमित रहे।
यसपालिको उनको व्यवहारलाई अरू दलका नेताहरूले 'हदै' गरेको मात्र ठानेनन्, तिखा टिप्पणी पनि गरे।
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठक र सबैलाई जोड्ने प्रयास नगरेको भन्दै प्रधानमन्त्री शाहको भूमिकामाथि प्रश्न उठाएका छन्।
'एउटा प्रश्न रास्वपा सभापतिमार्फत् सरकारलाई राखेका छौं, यति बेला सरकार के गरिरहेको छ? सरकार कहाँ छ? सरकार केवल गोली र लाठीमा भेटिने, स्ट्याटसमा मात्र सीमित रहने? सरकार भनेको अभिभावक मात्र होइन, लिडर पनि हो। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ अनि अरूले पनि सरकारलाई विश्वास गर्छन्,' बुधबारको सर्वदलीय बैठकपछि सभापति थापाले भने।
'कसैलाई दोष दिएर पाइन्न। यो राज्यको असफलताको निरन्तरता हो। मधेसमा कुनै घटना भए त्यहाँ अत्यधिक बल प्रयोग गरिन्छ, विगतमा पनि गलत अहिले पनि गलत हो यस्तो कुरा,' उनले अगाडि भने, 'यस्तो बेला पनि प्रधानमन्त्री भाउ खाएर बस्ने हो? प्रधानमन्त्री ठालु भएर बस्ने हो? सबैलाई जोड्ने प्रयास गर्नुपर्दैन? हामी सरकारलाई सहयोग गर्न चाहन्छौं।'
प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने उनको माग छ।
'भूकम्प र कोरोना महामारी बेला पनि राजनीतिक दलबीच तनाव थियो। तर सबै कुरा छाडेर सबै दलका नेताहरू दौडिएर सिंहदरबार आएका थियौं। यो नेपालका राजनीतिक दलहरूको चरित्र हो,' थापाले भने।
नेकपा एमाले महासचिव शंकर पोखरेल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि सुनसरी घटनालाई लिएर सरकारले जिम्मेवारी र संवेदनशीलता नदेखाएको भन्दै आलोचना गरे।
सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठेपछि सभापति लामिछानेले उनको 'बचाउ' को प्रयास गरेका छन्।
'यो बैठक राजनीतिक दलहरूका शीर्ष नेताहरूले विद्यमान घटनाक्रमलाई हेर्ने दृष्टिकोण र सरकारलाई ध्यानाकर्षण गराउने बैठक भएको हुनाले त्यसै ढंगले बसेको हो,' उनले भने।
प्रधानमन्त्री र गृहमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहेको उनले बताएका छन्।
'प्रधानमन्त्रीले आफूले गर्ने काम गरिरहनुभएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले पनि आफूले गर्ने काम गरिहनुभएको छ, गर्नुहुन्छ। हामी कुनै पनि घटनालाई सुरूआत हुनेबित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने अवस्था छैन,' उनले भने।
दलहरूको पहिलो दायित्व शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्ने भएकाले को आयो को आएन भन्नेमा नलाग्न अनुरोध गर्दै उनले भने, 'आरोप, प्रत्यारोप, चर्का कुरा, कसले गल्ती गर्यो, गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनेटमा बोल्यो, कसले कति ढिला बोल्यो त्यता जाने होइन,' उनले भने।
लामिछानेले गरेको प्रधानमन्त्रीको बचाउ कति सफल भयो थाहा छैन। तर उनले अरू दल र नेपाली नागरिकहरूलाई 'म छु नि' भन्ने सन्देश सफलतापूर्वक दिए।
***