बाग्लुङका दीपक कँडेल सन् २००६ देखि जापानमा छन्।
सुरूमा इन्डोकरी रेस्टुरेन्टमा कामदार भएर गएका कँडेलले सन् २०१० देखि आफ्नै व्यवसाय सुरू गरे। अहिले उनले एउटा नेपाली, दुईवटा थाई र पाँचवटा इन्डियन गरी ८ वटा रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्।
जापान जानुअघि दीपक मलेसियामा थिए। मलेसियामा डेढ वर्ष काम गरेर उनी जापान गएका हुन्।
त्यसो त दीपकको बिदेसिने क्रम सन् २००२ बाटै सुरू भएको हो। उनी १२ कक्षा पास गर्नासाथ भारत गएका थिए।
'मैले होटलमा काम गर्न भारतबाटै सिकेको हो। गाउँका दाइहरूले मलाई भारत लगेका थिए। त्यहाँ गएर स्पाइस गार्डेन नामक होटलमा काम गरेँ,' उनले भने, 'दुई वर्ष बसेपछि होटलले नै मलेसिया पठायो। मलेसियामा काम गरेर आफ्नै तरिकाले २००६ मा जापान आएँ। अहिलेसम्म यतै छु।'
करिब २० वर्ष अवधिमा जापानमा आफ्नै ८ वटा रेस्टुरेन्ट खोल्नु सानो उपलब्धि होइन। यसका लागि दीपकले मिहिनेत पनि धेरै नै गरेका छन्।
'मिहिनेतीहरूलाई जापानमा सहज छ। तर विश्वव्यापी रूपमा आर्थिक मन्दी देखिँदा हामीलाई असर गर्ने नै भयो,' उनले भने, 'भारतीय समुदाय ठूलो भएको र उनीहरूले इन्डोकरी रेस्टुरेन्ट थोरै मात्र चलाएकाले हामीलाई केही सहज भएको छ। मेरा ८ मध्ये इन्डोकरी रेस्टुरेन्ट नै अलि राम्रोसँग चल्छन्।'
जापानको टोकियोमा रहेका उनका सबै रेस्टुरेन्टमा ४२ जना कामदार छन्। हामीले उनीसँग जापानमा रहेका नेपाली व्यवसायीमाथि अक्सर लाग्ने श्रम शोषणको आरोपबारे पनि कुरा गरेका छौं। उनले सबैका हकमा यो समस्या लागू नहुने बताए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का एसिया–प्रशान्त क्षेत्रीय संयोजकसमेत रहेका कँडेलले नेपालबाट सीप नसिकी आउने र भाषाको ज्ञान पनि नहुनेहरूले पारिश्रमिकको समस्या भोग्नुपर्ने स्वीकार गरे।
'जसरी पनि जापान जान्छु भनेर १०/१५ लाख रूपैयाँ खर्चन तयार हुने, तर सीप सिक्न ध्यान नदिने प्रवृत्ति छ। त्यस्तो भयो भने थोरै तलब पाइन्छ। किनकि, उसलाई जुन कामका लागि ल्याइएको हो, त्यो गर्न आउँदैन,' उनले भने, 'तर नेपाल वा भारतमा काम गरेको अनुभव छ र यता आएर पनि काम गर्न सक्यो भने त्यस्तो हुँदैन। यता पनि दक्ष कामदारको अभाव छ। तर अदक्ष हुँदै आइयो भने दुःख पाइन्छ।'
उनका अनुसार नेपालमा खासै केही काम नगरेको व्यक्तिले जापानमा १२ घन्टा काम गर्नुपर्यो भने धेरै नै कठिन हुन्छ। त्यसैले जापान आउँदा आफूले गर्ने कामबारे जानकार भएर र त्यसमा परिपक्व भएर आउनुपर्ने उनको सुझाव छ। यससँगै भाषाको जानकारी त हुनैपर्ने उनी बताउँछन्।
विद्यार्थीको हकमा पनि उनको यस्तै सुझाव छ।
उनी भन्छन्, '१२ कक्षा पास गर्नासाथ कन्सल्टेन्सीको लहलहैमा परेर भाषासमेत राम्रोसँग नजानी आउँछन्। यता आएर न पढाइ हुन्छ, न काम। त्यसले उनीहरू मानसिक समस्यामा पर्छन्। त्यसैले सकेसम्म स्नातक पास गरेर आउनुपर्छ भने भाषा त अनिवार्य नै हो।'
कन्सल्टेन्सीहरूले जापानको यथार्थ बताइदिएर काउन्सिलिङ गरे यस्ता समस्या केही हदसम्म कम हुनसक्ने उनको बुझाइ छ।
विद्यार्थी भिसामा आउनेहरूले भाषालाई अचुक अस्त्रकै रूपमा लिनुपर्ने भन्दै उनले दुई वर्ष दुःख गरेर पढ्न सक्नेहरूले फर्केर हेर्न नपर्ने दाबी गरे।

४४ वर्षीय कँडेलले गैरआवासीय नेपाली संघको विभिन्न पदमा रहेर समेत काम गरिसकेका छन्। उनकै संयोजकत्वमा आगामी अगस्ट १५ र १६ तारिखमा चीनको ग्वाङझाउमा एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन हुँदैछ।
सम्मेलनमा पर्यटन, नेपालमा लगानी तथा दोस्रो पुस्ताको सहभागिताबारे बृहत् छलफल गरिने उनले बताए।
'एनआरएनए एउटा गैरनाफामूलक संस्था हो। यसको मुख्य उद्देश्य भनेकै नेपाली डायस्पोरालाई नेपालसँग जोड्ने अनि नेपाली संस्कृतिलाई विश्वभर पुर्याउने हो। विदेशमा रहेका नेपालीमध्ये कसैले रेमिटेन्सबाट अनि कसैले लगानीबाट सहयोग गरेकै छन्,' उनले भने, 'हामी ग्वाङझाउमा पनि यसलाई अझै कसरी विस्तार गर्ने भनेर छलफल गर्छौं।'
अहिलेसम्म ९० भन्दा धेरै देशमा पुगिसकेको एनआरएनएका कामलाई सरकारले पनि नीतिगत रूपमा अपनतत्व लिनुपर्ने उनको भनाइ छ।
उनका अनुसार, एनआरएनएको अहिलेको सबभन्दा ठूलो चुनौती भनेको दोस्रो पुस्तालाई कसरी नेपालसँग जोड्ने भन्ने हो। पहिलो पुस्ता भावनात्मक रूपमा सधैं नेपालसँग नजिक रहने भन्दै दोस्रो पुस्तालाई अघि बढाउनेबारे एनआरएनए र नेपाल सरकार दुवैले सोच्नुपर्ने उनले सुझाव दिए।
'हामी पनि केही वर्ष झगडा गरेर अलमलमा पर्यौं। अहिले मिलेका छौं। ठूला कमिटी भए पनि एउटै कमिटी छ,' उनले भने, 'विश्वकै ठूला डायस्पोरामध्ये हामी अग्रपंक्तिमा छौं। यसको भरपुर सदुपयोग गर्न छुटाउनु हुँदैन।'
***


