सुनसरी घटनाबारे छलफल गर्न बसेको सर्वदलीय बैठकले सुनसरी घटनाबारे संयुक्त अपिल जारी गरेको छ।
अपिलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका नेताहरू हस्ताक्षर गरेका छन्।
बैठकले आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ। समाजमा शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न केन्द्रको प्रयत्न मात्रै पर्याप्त नहुने भएकाले प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न ९ दलले निर्देशन दिएका छन्।
'संवादलाई तल्लो तहसम्म पुऱ्याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ-आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं। स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता हो,' उनीहरूले भनेका छन्।
उनीहरूले सरकारलाई पनि अधिकतम संयमता अपनाएर समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ।
बैठकमा सहभागी नेताहरूले घटना र त्यसको समाधानका लागि गर्नुपर्ने कामबारे आफ्नो धारणा राखेका छन्।
गगन थापा
कांग्रेस सभापति गगन थापाले सर्वदलीय बैठक राखेको विषयमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिए। उनले प्रधानमन्त्री बालेन शाहको भूमिकामा भने प्रश्न उठाए।
उनले सरकार लाठीमा र स्ट्याटसमा मात्र सीमित रहेको बताए।
‘एउटा प्रश्न रास्वपा सभापतिमार्फत् सरकारलाई राखेका छौं, यतिबेला सरकार के गरिरहेको छ? सरकार कहाँ छ? सरकार केबल गोली र लाठीमा मात्र भेटिनु र स्टाटसमा मात्र सीमित रहने? सरकार भनेको अभिभावक मात्र होइन लिडर पनि हो। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ अनि अरूले पनि सरकारलाई विश्वास गर्छन्,’ बैठकपछि पत्रकारहरूसँग सभापति थापाले भने।
उनले सुनसरीमा भएको घटनाबारे पार्टीका सांसदहरूले संसदमा कुरा उठाउने र यो छानबिनको विषय हुनुपर्नेमा जोड दिएका थिए।
‘कसैलाई दोष दिएर पाइन्न। यो राज्यको असफलताको निरन्तरता हो। मधेसमा कुनै घटना भए त्यहाँ अत्याधिक बल प्रयोग गरिन्छ, विगतमा पनि गलत अहिले पनि गलत हो यस्तो कुरा,’ उनले भने।
उनले सामाजिक सद्भावका लागि कांग्रेसले भूमिका निर्वाह गर्दै आएको बताएका थिए।
पुष्पकमल दाहाल 'प्रचण्ड'
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले सुनसरी घटनाका सन्दर्भमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने बताएका छन्।
'यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ। सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन,' प्रचण्डले भने।
यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्ने उनले बताए।
'विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौं। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ। तर राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको छ। आज रास्वपा सभापति रवि लामिछानेजीले बैठक राख्नु भएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु,' उनले भने।
बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उनले बताए।
'संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ। हाम्रो पार्टीले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक आन्तरिक निर्देशनसमेत दिएको छ। घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक छ,' पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने।
शंकर पोखरेल
एमाले महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराए। उनले यसको नेतृत्व स्वयं प्रधानमन्त्रीले लिनुपर्ने बताए।
महासचिव पोखरेलले सरकार र प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने पहलकदमीमा कमी देखिएको टिप्पणी गर्दै रास्वपा सभापति रवि लामिछानेको अग्रसरतामा भएको छलफलमार्फत शान्ति, सद्भाव र सहिष्णुताका लागि संयुक्त विज्ञप्ति जारी गरिएको जानकारी दिए।
उनले कुनै पनि प्रकारको भ्रममा नपरी सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्न सबै राजनीतिक दल, सामाजिक संघ-संस्था तथा धार्मिक व्यक्तित्वहरूलाई अपिलसमेत गरे। सुनसरी लगायतका प्रभावित क्षेत्रका जनसमुदायलाई सरकारले अभिभावकत्वको प्रत्यक्ष अनुभूति दिलाउनुपर्ने उनको भनाइ छ।
'सुरक्षा निकायको मनोबल गिरेका कारण वा साधन–स्रोतको अभावमा यस्ता घटना भएका हुन्, त्यसको सूक्ष्म अध्ययन हुनुपर्छ,' उनले भने, 'भविष्यमा मानवीय क्षति नहुने गरी भीड व्यवस्थापन गर्न सुरक्षा निकायको सामर्थ्य र क्षमता विकास गर्नु आजको अनिवार्य आवश्यकता हो।'
राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कप्तानगन्ज घटनाको गहिरो अनुसन्धन गर्न अनुसन्धान आयोग गठनको माग गरे।
उक्त बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘कप्तानगन्ज घटना भुसको आगोसरी फैलिनु अगावै यसको जरासम्म पुगेर दीर्घकालीन समाधान निकालौं। तुरुन्तै आयोग बनाऔं, संवाद गरौं, यो हतारको र अति संवेदनशील विषय हो।’
उनले धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझियोस् पनि भनेका थिए।
‘तराई-मधेसमा हिन्दुहरूको चाडपर्व वा उत्सवहरूमा सधैं तनाव सिर्जना गरिन्छ र हिंसात्मक बनाइन्छ। यस्ता गतिविधिहरू योजनाबद्ध ढंगबाट भइरहेको छ। राज्यको सधैंको उदासीनताको कारण फेरि कप्तानगन्ज घटना भएको छ, जुन चिन्ताजनक छ,’ उनले भने, ‘पुराण, सप्ताह वा धार्मिक अनुष्ठानमा चर्को आवाज बजाउन निषेध गर्नेगरी मोरङ जिल्ला प्रशासन कार्यालयले जारी गरेको हिन्दुलक्षित नोटिस अपरिपक्व छ। अर्को धर्ममा पनि चर्को आवाज बजाउने चलन छ, त्यसमा प्रशासन केही बोलेको छैन। यसले इगो पैदा गर्छ। किन खेलवाड गरिँदैछ?’
उनले कप्तानगन्ज घटनाका मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गरिनुपर्ने तथा घाइतेहरूको प्रभावकारी उपचार हुनुपर्नेमा जोड दिए।
‘प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति, संस्कार र परम्पराको अभ्यास निर्वाध गर्न पाउनुपर्छ। संविधान र कानुनले सुनिश्चित गरेको नागरिक अधिकारको उपभोग निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्छ। हाम्रो सदियौंदेखिको सामाजिक सदभाव, आपसी एकता, शान्ति र भाइचारा कायम गरौं,’ उनले भने।