खोटाङबाट चुनाव जितेका आरेन राईलाई कसैले विभेद गर्यो भने झनक्कै रिस उठ्छ।
श्रम संस्कृति पार्टीबाट निर्वाचित भएर पहिलो पटक प्रतिनिधिसभा सांसद बनेका उनले सेतोपाटी पडकास्टमा भने, 'कामको स्पिड नमिल्दा, कसैले ठग्न खोज्यो वा अन्याय, अत्याचार गर्न खोज्यो भने मलाई झनक्क रिस उठ्छ। तपाईं पत्रकार हो, तपाईंलाई कुनै सिनियर पत्रकारले हेपेको देखेँ भने रिस उठ्छ। विभेद गर्यो भने व्यापक रिस उठ्छ। अनैतिक लेनदेन गर्यो भने रिस उठिहाल्छ।'
सांसदका रूपमा भने आफू सकेसम्म नरिसाउन कोसिस गर्ने उनले बताएका छन्।
'संसदमा सकेसम्म नरिसाऊँ भन्ने सोच छ। आचरण सम्मानित हुनुपर्छ भन्ने मनमा छ,' आरेनले भने, 'मानवीय स्वभाव ननिस्कियोस्। मेरो 'ब्लड' नै विभेद नसहने हो। रगत नै त्यस्तो छ। लोभ-लालच छैन। इमानदारीपूर्वक काम गर्ने मान्छे हुँ। तर एउटै मान्छेले संसारै भ्याइन्छ भन्ने पनि छैन।'
चुनाव जिते पनि आफ्नो अगाडि र पछाडिको जीवनमा कुनै अन्तर नआएको उनको भनाइ छ।
'निर्वाचनअघि जस्तो थिएँ, अहिले पनि त्यस्तै कुदिहिँड्छु। हिजो जस्तो थिएँ, त्यस्तै छु,' आरेनले भने, 'मलाई हार्नु-जित्नुसँग व्यक्तिगत हिसाबले मतलब छैन। तर मैले हार्दा थुप्रै साथीभाइ निराश हुने, हतोत्साही हुने हो कि भन्ने चिन्ता थियो। आफन्तहरूले नै मतगणना बेला तीन दिनसम्म सुतेनौं, जितेपछि रोयौं भन्नुभएको थियो।'
आरेनकी आमा २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा विजयी भएकी थिइन्। त्यति बेला सिमसिम पानी परेका बेला रातको समय आमा सिठ्ठा बालेर भोट माग्न हिँड्ने गरेको आरेन सम्झन्छन्।
'म भने देशको परिस्थिति देखेर राजनीतिमा आएँ,' उनले भने।
अहिले ३१ वर्ष लागेका आरेन एसएलसी पास गरेपछि २०६५ सालतिर संगीत सिक्न काठमाडौंको बागबजारमा जान्थे। सँगसँगै उनी आफ्ना लागि काम पनि खोज्दै थिए। तर न्यूरोडमा टाँसिएको एउटा पर्चाले उनको ध्यान खिच्यो। त्यो पर्चामा 'बेरोजगार संघ' लेखिएको थियो।
'एक जना चाम्लिङ दाइले मलाई संयोगले बेरोजगार संघको अफिसमै लिएर जानुभयो,' आरेनले भने, 'बेरोजगार संघबाट म रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियानमा जोडिएँ। त्यसपछि राष्ट्रवादी केन्द्र नेपाल भन्ने अभियानमा लागेँ।'
आरेनका अनुसार त्यो राष्ट्रवादी केन्द्रमा अहिलेका राप्रपा नेता स्वागत नेपाल पनि थिए। सुरेन्द्र केसीले प्रशिक्षण दिन्थे। गुल्मीबाट निर्वाचित पूर्वसभासद सागर थापा संयोजक थिए।
बेरोजगार संघ र राष्ट्रवादी केन्द्रमा आबद्ध भएकै बेला २०६८ सालतिर उनी नेकपा माओवादीका सदस्य पनि बने। त्यस्तै, पहिचानवादीहरूको संस्था 'एमिनो' मा ६ देखि ७ वर्ष काम गरेको उनी बताउँछन्।
'कतिपयले मलाई जातिवादी भन्छन्। तर म जातिवादी होइन। बरू जातिवादी हुनु हुँदैन भन्ने अभियन्ता हुँ,' उनले भने।
उनी २०८१ वैशाखमा इलाम-२ मा भएको उपनिर्वाचनबाट हर्क साम्पाङसँग नजिकिएका थिए। हर्क साम्पाङले पार्टी खोल्ने भएपछि उनी त्यसमा जोडिए र महासचिव बने। अहिले उनी हर्कवादका पक्षपाती छन्।
'हर्कवाद भनेको हर्क साम्पाङ भनेको होइन, मार्क्सवाद र माओवाद भनेजस्तै हो,' उनले भने, 'हर्कवाद विचार हो। प्रकृति, संस्कृति र प्रविधिको कुरा हो।'
आरेनले हर्कवादको थप व्याख्या गर्दै भने, 'मानिसले प्रकृतिलाई स्वार्थ पूरा गर्ने भाँडो बनाए। त्यसको समुचित प्रयोग गर्नुपर्छ। प्रकृतिलाई निमिट्यान्न बनाउन हामीले प्रविधिको गलत प्रयोग गर्यौं। संस्कृति, प्रविधि र प्रकृतिको समुचित प्रयोग गर्नुपर्छ भन्ने कुरा साढे ७ अर्ब मान्छेलाई बुझाउनुपर्छ। पृथ्वीमा सन्तुलन राख्नुपर्छ भन्ने विचार नै हर्कवाद हो।'
राजनीतिसँगै व्यवसायमा पनि संलग्न उनी भन्छन्, 'म व्यवसायी हुँ। व्यवसायमा कति सकस छ, मलाई थाहा छ। कर तिर्दा पनि घुस खुवाउनुपर्ने देश हो यो। मैले सामान्य ठेक्कापट्टादेखि लत्ताकपडा, होटल-रेस्टुरेन्टदेखि जडिबुटी आपूर्ति र किराना पसलसम्मको व्यवसाय गरेको छु।'
उनले आफ्नो अनुभवका आधारमा जडिबुटी व्यापारमा रहेका समस्या पनि औंल्याए।
'खोटाङबाट जडिबुटी बाहिर लैजान कानुनी झमेला छ। चिराइतो, काठ र काठजन्य सामान बेच्न समस्या छ,' उनले भने, 'बाटोघाटोमा माल रोकिन्छ। गल्ती केही भेट्दैनन्, तर २४ घन्टा माल रोकिँदा व्यापारीलाई घाटा हुन्छ नि! २४ घन्टामा त बेचेर मजदुरलाई पैसा दिइसक्नुपर्छ।'
यसरी सामान रोकिँदा पनि आफूले कहिल्यै घुस नखुवाएको उनी बताउँछन्।
'मैले कहिल्यै घुस खुवाइनँ। म क्रान्तिकारी हुँ। राख्ने भए सामान राखिदेऊ भनेँ। घाटा पनि बेहोरेँ। ८–१० लाख घाटा भए पनि केही फरक पर्दैन। तर भोलिदेखि देखा जाएगा भन्थेँ म,' आरेनले भने, 'म लड्ने, भिड्ने मान्छे हुँ।'
हेर्नुहोस् नवनिर्वाचित सांसद आरेन राईसँगको कुराकानी सेतोपाटी पडकास्टमा —