श्रम संस्कृति पार्टीको संसदीय दलका नेता हर्क साम्पाङले केही दिनअघि सांसदहरूलाई प्रतिनिधिसभा बैठकमा टेबल ठोक्नुको साटो ताली बजाउन आग्रह गरे।
त्यस दिन उपसभामुख उम्मेदवार रूबीकुमारी ठाकुरलाई सांसदहरूले 'बहिनी' भनेर सम्बोधन गरेकामा आपत्ति जनाउँदै साम्पाङले भनेका थिए, 'रूबीकुमारी ठाकुरलाई 'रूबी बहिनी' भनेर सम्बोधन गर्नुभयो। यो खारेज गरियोस्। यहाँ कसैले बहिनी, नातिनी, कोही बाजे, कोही मामा, भाञ्जा भनेर सम्बोधन गर्न हुँदैन। माननीय भनेर बोलाइनुपर्छ।'
साम्पाङको उक्त भनाइमा सांसदहरूले टेबल ठोकेर समर्थन जनाए।
त्यही मन्तव्यको आखिरीमा साम्पाङले सांसदहरूलाई टेबल नठोक्न आग्रह गर्दै भनेका थिए, 'आउँदा दिनमा ताली ठोक्दा कस्तो होला? हामीले टेबल, कुर्सी ठोकेर त्यसमा चढेर... यो राम्रो देखिएन।'
उनले अगाडि भने, 'मन लाग्दा दुई हात बजाएर ताली ठोक्दा कति राम्रो होला!'
संसदमा सामान्यतया ताली बजाइँदैन। सांसदहरूले कुनै विषयमा समर्थन जनाउँदा, विरोध गर्दा वा सभामुखको ध्यानाकर्षण गराउँदा टेबल ठोक्ने संसदीय अभ्यास छ।
सरकारले ल्याएको प्रस्ताव वा प्रधानमन्त्री तथा मन्त्रीहरूले राखेको धारणामा सांसदहरूले टेबल ठोके भने त्यसलाई समर्थनका रूपमा बुझिन्छ। तर कुनै विपक्षी सांसदले राखेको धारणामा टेबल ठोकियो भने विरोधका रूपमा लिइन्छ। कतिपय सांसदले आफ्नो रिस देखाउन पनि टेबल ठोक्छन्।
तर कुनै पनि अवस्थामा कसैले पनि ताली बजाउँदैनन्। यो संसदीय अभ्यासभित्र पर्दैन।
यस्तो अभ्यासको सुरूआत कहाँबाट कसरी भयो होला?
संसद बैठकमा टेबल ठोक्ने चलन बेलायतको संसदीय मोडलबाट आएको हो। बेलायती मोडलको संसदीय अभ्यास गर्ने मुलुकहरूले संसदमा ताली बजाउँदैनन्। बेलायती संसदमा ताली बजायो भने सभामुखले सांसदहरूलाई नियम सम्झाउने गर्छन्।
सन् २०१५ मा बेलायतमा भएको आमनिर्वाचनमा स्कटिस नेसनल पार्टीले ५६ सिट जितेको थियो। तीमध्ये अधिकांश सांसद नयाँ थिए।
त्यही बेला संसदमा बेलायतकी महारानीले गरेको सम्बोधनमाथि बहस चल्दा स्कटिस नेसनल पार्टीका नेता एंगुस रोबर्टसन आफ्नो मन्तव्य दिँदै थिए। त्यही क्रममा उनको पार्टीका सांसदहरूले पटक पटक ताली बजाए। लगत्तै सभामुख जोन बर्कोले रोबर्टसनको मन्तव्य रोक्न लगाएर संसदको नियम सम्झाएका थिए।
'हामी बैठक कक्षमा ताली बजाउँदैनौं,' बर्कोले सांसदहरूलाई भने, 'बैठकमा ताली बजाउन नपाइने हाम्रो लामो र स्थापित परम्परा छ। यसलाई सम्मान गरिन्छ। म सांसदहरूलाई त्यो नियम र परम्पराको सम्मान गर्न आग्रह गर्छु।'
संसद भनेको बहस गर्ने थलो हो। बैठकमा होहल्ला हुँदा बोलिरहेका सांसदको विचार सुन्न सकिँदैन। यसले संसदमा हुने बहस कमजोर हुन्छ। त्यसैले संसद बैठकमा कुनै सदस्य बोलिरहँदा अन्य सदस्यले बीचमा बोल्न पाउँदैनन्।
नेपालमा पनि प्रतिनिधिसभा नियमावलीले संसद बैठक क्रममा सांसदहरूले पालना गर्नुपर्ने नियमहरू उल्लेख गरेको छ, जसमा सांसदहरूलाई बैठकमा मोबाइल चलाउन प्रतिबन्ध गरिएको छ। सांसदहरूले गलत आचरण गरे सभामुखले त्यस्ता सांसदलाई बैठक कक्षबाट बाहिर निकाल्न सक्छन्।
अहिले रास्वपा सांसद अमेरशकुमार सिंहले अघिल्लो प्रतिनिधिसभाको बैठकमै कपडा खोल्दा सभामुखले उनलाई बाहिर निकाल्ने चेतावनी दिएका थिए।
यसरी सभामुखले सांसदलाई बैठकबाट बाहिर निकाल्न पाउने नियम पनि बेलायतबाटै आएको हो। त्यहाँ सन् १६४१ देखि नै सांसदले होहल्ला गर्यो भने सभामुखले सांसदलाई बाहिर निकाल्न पाउने नियम छ।
ताली बजाउन रोक लगाउनुको कारण संसद बैठकको बहस परम्परासँग पनि जोडिन्छ।
बेलायतको हाउस अफ कमन्समा १८औं शताब्दीदेखि नै ताली बजाउन प्रतिबन्ध लगाइएको पाइन्छ। ताली बजाउँदा लय नमिल्ने र त्यसले कक्षाकोठामा जस्तो होहल्ला हुने बेलायती बुझाइ छ। त्यही भएर बेलायतमा संसदमा ताली बजाउनुलाई नाटकका रूपमा बुझ्ने गरिन्छ।
'ताली बजाउन रोक्नुको उद्देश्य बैठकमा बहसको परम्परा कायम राख्नु हो,' संसदीय प्रक्रियाको बाइबल भनेर चिनिने बेलायतको हाउस अफ कमन्समा क्लर्क रहिसकेका थोमस अरस्किनले भनेका छन्, 'संसद बैठकमा हुने बहसमा तर्क र शब्दले जित्नुपर्छ। बैठक कक्ष भनेको कसका धेरै फ्यान छन् भनेर प्रदर्शन गर्ने थलो होइन।'
बेलायतले ताली बजाउन रोक्नुको अर्को कारण फ्रान्सको राष्ट्रिय सभाभन्दा फरक देखिनलाई हो भन्ने पनि कतिपयको भनाइ छ।
त्यति बेला फ्रान्सको संसदमा ताली बजाउने र हँसीमजाक हुने गरेको थियो। आफ्नो संसदलाई त्योभन्दा फरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले बेलायतीहरूले ताली बजाउन रोक लगाएको मान्यता पनि छ।
बेलायतमा सांसदहरूले कुनै कुराको समर्थन गर्नुपर्यो भने 'हियर (सुन), हियर (सुन)' भन्ने गरेका छन्। सयौं सांसदले एकसाथ 'हियर' भन्दा संसदमा कतिपयले 'हेय–हेय' भन्ने छोटो आवाज पनि निकाल्ने गर्छन्। अनि विरोध गर्ने सांसदहरूले 'बू' अथवा 'नो' भन्ने गरेका छन्।
सन् १९९८ मा बेलायती संसदको आधुनिकीकरण समितिले कसैले संसदमा गरेको सम्बोधनको अन्तिममा लगातार ताली बजाउनुलाई 'होहल्ला' का रूपमा चित्रण गर्न नहुने भनेको छ। त्यस्तो होहल्लाले संसदको बहसलाई रोक्छ भनी व्याख्या गर्न नमिल्ने उक्त समितिको भनाइ छ।
बेलायतको संसदमा ताली बजाउन नपाइने नियम भए पनि त्यहाँको लामो संसदीय अभ्यासमा ताली बजेका उदाहरण भने थुप्रै छन्।
सन् २०१९ जुलाईमा तत्कालीन बेलायती प्रधानमन्त्री टेरेसा मेले अन्तिम पटक प्रश्नहरूको उत्तर दिएपछि सांसदहरूले लामो समय ताली बजाएका थिए।
सभामुखले केही बेरसम्म सांसदहरूलाई ताली बजाउन रोकेनन्। तर केही समयपछि संसदका अन्य काम अघि बढाउन उनले ताली बजाउन रोक लगाए।
त्यसअघि सन् २००७ मा तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले पनि अन्तिम पटक संसदमा प्रश्नको जबाफ दिएपछि सभामुखले केही बेर ताली बजाउन र उभिएर समर्थन जनाउन छुट दिएका थिए। लगत्तै सभामुखले 'अर्डर, अर्डर' भन्दै त्यसलाई रोके।
बेलायत मात्र होइन, संसदीय अभ्यास भएका अन्य कतिपय मुलुकले पनि तालीलाई निरूत्साहित गरेको देखिन्छ। तालीको आवाज फरक फरक आउने र सांसदहरूले कुनै पनि बेला ताली बजाउन सक्ने हुँदा बैठक सञ्चालन असहज हुने भन्दै रोक लगाइएको पाइन्छ।
छिमेकी मुलुक भारतमा पनि सांसदहरूले समर्थन वा विरोध गर्दा टेबल नै ठोक्छन्। बरू भारतमा एउटा सांसद बोलिरहँदा अर्को सांसद बोल्ने र विरोध गर्ने गरेको देखिन्छ। यसले संसद बैठकमा हुने बहस सुन्न समस्या पनि हुने गरेको छ। त्यही भएर संसद बैठकमा सबैको टेबलमा हेडफोनको व्यवस्था गरिएको हुन्छ।
नेपालको संसदमा कुनै पनि प्रस्ताव पारित गर्दा सांसदहरूले टेबल ठोकेर समर्थन जनाउँछन्। शोक प्रस्ताव पारित गर्दा मात्र हात उठाएर समर्थन जनाउने अभ्यास छ।
यसपालि प्रतिनिधिसभा बैठकमा पहिलो पटक सांसद बनेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले शोक प्रस्ताव पारित गर्दा टेबल ठोकेर समर्थन जनाउन खोजेका थिए। सँगै बसेका अर्का सांसद तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले उनलाई रोकेर हात उठाउनुपर्ने नियम सम्झाएका थिए।
नेपालको संसदीय इतिहास हेर्ने हो भने २०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति रामवरण यादवले नयाँ संविधान जारी भएको घोषणा गरेपछि सभासदहरूले लामो समय टेबल ठोकेका थिए। सँगसँगै, बैठक चलिरहँदा सबैले उठेर ताली पनि बजाएका थिए। कतिपय सांसदले हात माथि उचालेर एकअर्कासँग खुसी पनि साटेका थिए।
बेलायत र नेपालका यी उदाहरणबाट संसद बैठकमा समर्थन वा विरोध जनाउँदा टेबल ठोक्नु संसदीय परम्पराको अंग हो भन्ने देखिन्छ। यदाकदा विभिन्न सन्दर्भमा ताली बजेका उदाहरण पाइए पनि यो संसदीय अभ्यासमा पर्दैन भन्ने मान्यता स्थापित रहँदै आएको छ।