नेकपा एमाले सांसद ऐनबहादुर महरले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरी आतंक सिर्जना गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय माग गर्दै उनले उक्त ध्यानाकर्षण गराएका हुन्।
उनले भारतीय सीमा सुरक्षा बल नेपाली भूमिमा छिरेर गस्ती गरेपछि स्थानीय सुस्तावासी एकजुट भई त्यसको प्रतिकार गरेको र उनीहरूलाई लखेटेको सदनलाई जानकारी गराए।
'म यो सम्मानित सदनमा सभामुख महोदय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र भन्न चाहन्छु, नेपाल सरकार के हेरेर बसेको छ?' उनले भने, 'यो प्रतिपक्षको मात्र विषय होइन, सिंगो नेपाल र राष्ट्रको एजेन्डा हो।'
उनले प्रधानमन्त्रीले सदनमा दिएको 'नेपालले पनि भारतको भूमि मिचेको छ' भन्ने अभिव्यक्तिका कारण अहिले नेपाल-भारतका धेरै सीमा क्षेत्रमा समस्या थपिएको र एसएसबी बलले नेपाली जनतालाई दु:ख दिइरहेको आरोप समेत लगाए।
सम्बोधन क्रममा सांसद महरले देशको सार्वभौमिकता रक्षाका लागि ज्यान फ्याकेर प्रतिकार गर्ने सुस्ताका स्थानीय बासिन्दाप्रति सम्मान व्यक्त गरे।
उनले आफ्नो टोपी फुकाल्दै भने, 'एसएसबीको प्रतिकार गरी लखेट्ने ती राष्ट्रवादी सुस्तावासी जनतालाई म धन्यवाद भन्न चाहन्छु, आभार व्यक्त गर्दछु र टोपी खोलेर, शिर झुकाएर नमन गर्दछु।'