सोमबार साँझ ५ बजेतिर मनोहराको सुकुम्बासी बस्ती पुग्दा त्यहाँ डोजर चलेको देखिएन।
तर माहोल डोजर चलेभन्दा कम पनि थिएन।
शनिबार राति र आइतबार दिनभरि नै ठूलो संख्यामा प्रहरी बल परिचालन गरेर हटाइएको यहाँको सुकुम्बासी बस्ती अहिले कुनै युद्धपछि खण्डहर बनेको सहरजस्तो देखिन्छ। चारैतिर आधा भत्काइएका वा डोजरले पूरै सोत्तर पारेका घरका अवशेष मात्र छन्।
विस्थापित सुकुम्बासीहरू आज पनि आ-आफ्नो झुपडीबाट सामान ओसार्दै छन्। कतिपयले सामान सार्ने ठाउँ नपाएर घामपानीबाट बचाउन यहीँ छोपछाप पारेर राखेका छन्।
हामीले धेरै सुकुम्बासी यस्ता पनि भेट्यौं, जो आफ्नो भत्काइएको घरमा बाँकी रहेका जस्ता, काठ, फलाम निकाल्न फर्किएका छन्। कोही आफै निकाल्दै थिए भने कसैले कबाडी व्यवसायीलाई लिएर आएका थिए। उनीहरूले यस्ता सामान बिक्री गर्न कबाडीलाई ठेक्का लगाएका छन्।
यहाँको हावामा आज पनि उही कोलाहल सुनिन्छ। भेटिने अनुहारहरूमा उस्तै अशान्ति र त्रास देखिन्छ।
उनीहरू मुखले केही भन्न सकिरहेका छैनन्, तर आक्रोश उनीहरूको आँखामा साफ झल्किन्छ।
सरकारले सुकुम्बासी बस्ती शान्तिपूर्वक खाली भएको प्रचार गर्दैछ। तर कतै यो शान्ति राज्यशक्तिका अगाडि निरीह बनेका नागरिकको पराजित समर्पण त होइन?
मनोहरामा सोमबार साँझ देखिएको दृश्य —












