पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच चौबीस घन्टाभित्र शान्ति सम्झौता हुने बताएका छन्।
तीन महिनाभन्दा लामो युद्धविरामपश्चात दुवै देश शान्ति सम्झौताका लागि प्रारम्भिक मस्यौदामा सहमत रहेको शरिफले सामाजिक सञ्जालमा लेखेका छन्।
'हामी शान्ति सम्झौताका लागि अहिलेसम्मकै सबैभन्दा नजिक पुगेका छौं। आगामी २४ घन्टाभित्र सम्झौताले अन्तिम रूप पाउने सम्भावना छ। त्यसलगत्तै हुने विद्युतीय हस्ताक्षरका लागि पाकिस्तान तयारीमा छ, त्यसपछि अर्को साता प्राविधिक तहको वार्ता हुनेछ,' प्रधामन्त्री शरिफले एक्समा लेखेका छन्।
उनले यो ऐतिहासिक शान्ति सम्झौताले दीर्घकालीन शान्तिका लागि बलियो आधार तयार पार्नेमा आफू विश्वस्त रहेको पनि बताएका छन्।
अप्रिल ७ मा अमेरिका र इरानबीच युद्धविराम भएपछि शान्ति सम्झौताका लागि पाकिस्तानले प्रमुख मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। पछिल्लो समय कतारले पनि मध्यस्थता गरिरहेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अमेरिका र इरानबीच युद्ध अन्त्य र सम्झौताका मोटामोटी सर्तहरूमा शुक्रबार नै सहमति गरिसकेको जनाएको छ।
शुक्रबार नै वाशिङ्टनले केही दिनभित्रै शान्ति सम्झौतामा हस्ताक्षर हुने दाबी गरेको थियो।
शुक्रबार नै इरानका विदेशमन्त्री अब्बास अराग्चीले सम्झौताको नजिक पुगेको बताएका थिए। यद्यपि प्रारम्भिक सहमतिमा केही फेरबदल हुनसक्ने भन्दै युद्धबाट इरान बलियो रूपमा निस्किएको बताएका थिए।'
'अमेरिकासँगको युद्धमा इरान विजेता हो,' शुक्रबार सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै उनले भनेक थिए।
रोयटर्सका अनुसार प्रस्तावित समझदारीपत्रमा स्ट्रेट अफ हर्मुज पुनः खोल्ने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने प्रस्ताव छ। त्यसमा दुवै पक्ष सहमत छन्। युद्धपश्चात इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेपछि अमेरिकाले पनि हर्मुज वरपर आफ्नो नौसेना तैनाथ गरी इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो।
आणविक कार्यक्रमबारे भने छुट्टै वार्ता गर्ने पनि सम्झौताको प्रस्तावमा उल्लेख रहेको रोयटर्सले जनाएको छ। अमेरिकाले इरानले कहिल्यै पनि परमाणु हतियार बनाउन नपाउने सर्त राखेको छ। इरान त्यसमा सहमत छैन।
त्यस्तै इरानसँग भएको झन्डै ४०० किलो उच्च समृद्ध युरेनियमबारे पनि दुई देशबीच मतभेद छ। अमेरिकाले उक्त युरेनियम आफूलाई हस्तान्तरण गर्नुपर्ने सर्त राखेको छ भने इरान त्यसमा पनि सहमत छैन।
यी सबै विषयमा छुट्टै छलफल गर्ने प्रस्तावमा उल्लेख छ।
सम्झौताअनुसार अमेरिकाले इरानका अर्बौं डलर बराबरका रोक्का सम्पत्ति क्रमशः फुकुवा गर्ने र तेल निर्यातमाथिका केही प्रतिबन्ध खुकुलो पार्ने प्रस्ताव गरेको बताइएको छ। बदलामा इरानले हर्मुज जलमार्गमा जहाज आवागमनका लागि खुला गर्नेछ।
स्रोतहरूका अनुसार प्रस्तावमा तेहरानका लागि सम्भावित युद्ध क्षतिपूर्ति र इरानको क्षेप्यास्त्र कार्यक्रममाथि अमेरिकाले वर्षौंदेखि राख्दै आएको प्रतिबन्धात्मक माग हटाउने विषय पनि समेटिएको छ।
युद्ध अन्त्य सम्झौताबारे आशा बढे पनि अन्तिम समयमा राजनीतिक वा सैन्य घटनाक्रमले प्रक्रिया प्रभावित पार्न सक्ने जोखिम भने अझै कायमै रहेको कूटनीतिक वृत्तको आकलन रहेको रोयटर्सले लेखेको छ।