कार दुर्घटनामा परेर मोरङ बेलबारी घर भएकी एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ।
बेलबारी नगरपालिका-१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मोरङको बुढीगंगा गाउँपालिकामा दुर्घटनामा परेर मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार चन्द्रकला सवार बा ११ च १५७१ नम्बरको कार आफैं अनियन्त्रित भएर कोसी राजमार्गअन्तर्गत बुढीगंगा–३ मा दुर्घटनामा परेको थियो।
बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किँदा बिहान ११ः३० बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले दिएको छ।
दुर्घटनामा कार चालक बेलबारी-१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी-१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते भएका छन्। घाइते सबैको विराटमै उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए।
प्रहरीका अनुसार मृतक चन्द्रकला र घाइते सानी मुटुसम्बन्धी पुरानै समस्या रहेकी छिमेकी गीता लिम्बूलाई लिएर उपचारका लागि विराटनगरतर्फ आउँदै गरेको खुलेको छ।
दुर्घटनामा परेर कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।