सिजर धेरै प्रकारका हुन्छन्। यसको लक्षण अनुसार वर्गीकरण गरिएको छ। पूरै शरीरमा असर गर्ने र शरीरको कुनै भागमा असर गर्ने हुन्छ।
सिजर आफैंमा रोग होइन। कुनै पनि रोग या समस्याको लक्षण हो। त्यसैले यसको कारण खोज्नुपर्छ। कतिपय अवस्थामा कारण थाहा पाउन सकिन्छ भने कहिलेकाहीँ कारण थाहा नहुन सक्छ।
कतिपयमा सिटी स्क्यान, एमआरआई र इइजी गर्दा थाहा हुन्छ। कतिपय अवस्थामा रगतको परीक्षण र वंशाणुगत अनुसन्धानबाट थाहा पाउन सकिन्छ। कहिलेकाहीँ रक्सी खानेलाई पनि सिजर हुनसक्छ। बच्चाहरूलाई ज्वरो धेरै आउँदा समेत सिजर देखिन सक्छ। यसलाई 'फेब्राइल सिजर' भनिन्छ। मस्तिष्कमा अक्सिजनको कमी भयो भने सिजर हुन सक्छ।
सिजरको उपचार लक्षणका आधारमा गर्ने हो। जस्तो- ब्रेन ट्युमर भएको छ अथवा ब्रेनको विकासमा असर गरेको छ भने यसको उपचारबाट हटाउन सकियो भने सिजर नियन्त्रण हुन सक्छ।अरू अवस्थामा भने औषधी खाएर नियन्त्रण गर्नुपर्छ।
बच्चाहरूलाई ज्वरो आएपछि कहिलेकाहीँ छारे रोगको लक्षण देखिन सक्छ। ६ महिनादेखि ६ वर्षसम्मको बच्चालाई यसको लक्षण देखिन सक्छ। यस्तो बेला बच्चा बेहोस हुने, काम्ने लगायतका लक्षण देखिन्छ। त्यो छारे रोग जस्तो हो तर ज्वरो कारण भएकाले ज्वरो आउँदा सतर्क अपनाउन पर्छ। ज्वरोलाई १०० डिग्रीभन्दा माथि बढ्न नदिने हो भने यो दोहोरिन पाउँदैन।
सिजर भएको बेलामा बच्चालाई सुरक्षित राख्ने हो। धेरैजसो सिजर केही सेकेण्डमा आफैं निको हुन्छ। सिजर आएको बेलामा देब्रे फर्काएर सुताउने गर्नुपर्छ। बिरामीलाई समात्ने, चल्न नदिने गर्न हुँदैन भने मुखमा केही राख्दिन हुँदैन। बिरामीलाई केही खुवाउन हुँदैन भने कतै नठोक्किने गरी सुताउनुपर्छ। सिजरको लक्षणको आधारमा कति समय औषधी दिने भन्ने हुन्छ। धेरैजसो सिजर औषधीबाट नियन्त्रण हुन्छ।
मस्तिष्कमा ट्युमर पलाएको छ अथवा चोट लागेको छ भने अपरेसन गर्नुपर्छ। त्यस्तै ज्वरोका कारण आउने सिजर ज्वरो नियन्त्रण भएपछि ठिक हुन्छ। कुनै बच्चालाई ज्वरोको बेला सिजर भएमा छारे रोगको औषधी खुवाउन जरूरी छैन।
अन्य उमेर समूहका व्यक्तिलाई सिजरको कारणको आधारमा उपचार गर्नुपर्छ।
सिजरका बिरामीले मलाई सिजर भएको छ बेला मौकामा छारे रोगको लक्षण आउँछ भनेर बुझ्न जरूरी छ। बिरामीले आफूलाई यस्तो हुन सक्छ भनेर लुकाउने भन्दा पनि धेरैलाई भन्न जरूरी छ। यो रोगलाई लुकाउन हुँदैन। किनकि यो कुनै पाप होइन। त्यसैले बिरामीले आफ्नो परिचय सँगै राख्न जरूरी छ। सिजर कुनै पनि बेलामा आउन सक्ने भएकाले जोखिमयुक्त काम गर्न हुँदैन। ड्राइभिङ गर्ने, रूख चढ्ने, पानीमा जाने गर्न हुँदैन। सिजरको कारणले ज्यान जाने सम्भावना निकै कम हुन्छ तर सिजर आएको बेलामा दुर्घटना भयो भने ज्यान जाने सम्भावना धेरै हुन्छ। नियमित रूपमा औषधी खाने, लागु पदार्थ सेवन नगर्ने, समयमा सुत्ने अनि समयमा उठ्ने गरेमा सिजरलाई नियन्त्रण गर्न सकिन्छ।
(न्यूरो सर्जन डा.गुणराज पौडेल भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पतालमा कार्यरत छन्।)