अहिले सेयर बजार घटिरहेको समयमा कस्ता कम्पनीको सेयर किन्ने भन्ने सबैलाई चासो हुन्छ।
तर उत्तर एउटै हुँदैन।
कतिपयले बजारमा उच्च उतारचढाव हुँदा फाइदा हुने कम्पनी हेर्छन् भने कतिपयले आधारभूत पक्ष राम्रा भएका कम्पनी हेर्छन्।
कतिपयले छोटो अवधिका लागि किन्न सकिने सेयर खोज्छन्। कोहीले आधारभूत पक्ष राम्रा भएका र पछिसम्म राख्दा समस्या नपर्ने कम्पनीहरू खोज्छन्।
आर्थिक वर्ष २०८२–८३ अन्त्य हुँदै गर्दा आज हामीले भने विकास बैंकहरूमा उच्च लाभांश क्षमता देखिएका दुई कम्पनी हेरेका छौं — लुम्बिनी विकास बैंक र एक्सेल विकास बैंक।
यी कम्पनी गत चैतसम्मको वित्तीय विवरणमा उल्लेख लाभांश क्षमताको आधारमा छानिएका हुन्।
लुम्बिनी विकास बैंक
पुरानो लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी र भिवोर विकास बैंक मिलेर लुम्बिनी विकास बैंक बनेको हो। २०७४ साउनबाट लुम्बिनी विकास बैंकको नामबाट यसको सेयर कारोबार भइरहेको छ।
यसको एक वर्षको उच्च मूल्य ६४६ रूपैयाँ हो भने यो अवधिको न्यून मूल्य ४१३ रूपैयाँ हो। मंगलबार यसको सेयर ४८७ रूपैयाँमा कारोबार भयो।
विगत पाँच वर्षमा यसले औसत १०.२३ प्रतिशत लाभांश दिएको छ। पछिल्लो दुई वर्षयता भने यो दर औसतभन्दा कम छ।
चैतमा यसको नाफा चार करोड ९७ लाख रूपैयाँबाट बढेर पाँच करोड ६१ लाख रूपैयाँ पुगेको छ।
यसअघिको तुलनामा प्रावधानमा राखेको रकम निकै कम छ। अघिल्लो पटक ९४ करोड प्रावधान राखिएकोमा यस पटक २४ करोड रूपैयाँ मात्रै राखेको छ। यसले पनि नाफा बढ्न सहयोग पुगेको हो।
लुम्बिनीको खुद ब्याज आम्दानी एक अर्ब ३५ करोडबाट बढेर एक अर्ब ४५ करोड रूपैयाँ पुगेको छ।
यसले चैतसम्म ५२ करोड रूपैयाँ वितरण योग्य नाफा देखाएको छ। यो रकमबाट १७.४८ प्रतिशत लाभांश क्षमता देखिन्छ।
यसको खराब कर्जा उच्च नै छ। तर यस्तो अनुपातमा सुधार भइरहेको छ। खराब कर्जा ६.४९ प्रतिशत छ। यसअघि यस्तो अनुपात ७.१८ प्रतिशत थियो।
यसको प्रतिसेयर आम्दानी २०.६७ रूपैयाँ, नेटवर्थ २०५ रूपैयाँ छ।
एकुमुलेसन–डिस्ट्रिब्युसन लाइनले केही दिनयता यसको सेयरमा बिक्री दबाब बढ्दै गएको संकेत गरिरहेको छ।
एकुमुलेसन हुनु भनेको बजारमा खरिदकर्ताको प्रभाव बढ्दै जानु तथा बजारमा नयाँ पैसा प्रवेश गर्नु हो। डिस्ट्रिब्युसनले लगानीकर्ताले सेयर बिक्री गर्दै नाफा सुरक्षित गर्न थालेको वा बजारबाट पैसा बाहिरिन थालेको अवस्था जनाउँछ।
यद्यपि समग्र प्रवृत्ति हेर्दा विगत २० कारोबार दिनमा बजारमा बाहिरिएकोभन्दा भित्रिएको पैसा बढी नै रहेको देखिन्छ।
यस अवधिको सञ्चित मान करिब एक लाख ३६ हजारले सकारात्मक छ, जसले मध्यम अवधिमा खरिद पक्ष अझै बलियो रहेको संकेत गर्छ।
पछिल्ला तीन कारोबार दिनमा भने अवस्था केही फरक देखिएको छ। सोमबार यस्तो मान पाँच हजार २०० र मंगलबार २० हजार ५३५ छ। डिस्ट्रिब्युसनको परिमाण मंगलबार बढेको छ। आगामी केही दिनमा पुनः डिस्ट्रिब्युसन बढे मूल्य थप घट्न सक्छ।
लुम्बिनीको मंगलबार मूल्य घटे पनि मैनबत्ती चित्रमा हरियो शरीर सहितको इन्भर्टेड ह्यामर बनेको छ। यसले मूल्य घट्न रोक्न सक्ने संकेत गरिरहेको छ। यो दरिलो संकेत भने होइन।
एक्सेल डेभलपमेन्ट बैंक
२०६४ मंसिरबाट एक्सेलको सेयर कारोबार भइरहेको छ। यसको एक वर्षको उच्च मूल्य ७१७ रूपैयाँ हो भने यो अवधिको न्यून मूल्य ५४५ रूपैयाँ हो। मंगलबार यसको सेयर ५७५ रूपैयाँमा कारोबार भइरहेको छ।
यसले २०७७–७८ यता लाभांश दिएको छैन। चैतमा एक्सेलको नाफा १५ करोड रूपैयाँ पुगेको छ। यसअघिको चैतमा यो ६३ लाख रूपैयाँ नोक्सानमा थियो।
यसअघि १६ करोड रूपैयाँ प्रावधान राखिएकोमा यस पटक एक करोड २४ करोड रूपैयाँ फिर्ता ल्याएको (राइट ब्याक गरेको) छ। यसले पनि नाफा बढ्न सहयोग पुगेको हो।
एक्सेलको खुद ब्याज आम्दानी ३२ करोडबाट बढेर ४१ करोड रूपैयाँ पुगेको छ।
यसले चैतसम्ममा १५ करोड रूपैयाँ वितरण योग्य नाफा देखाएको छ। यो रकमबाट १५.३९ प्रतिशत लाभांश क्षमता देखिन्छ।
यसको खराब कर्जा उच्च नै छ। तर यस्तो अनुपातमा सुधार भइरहेको छ। खराब कर्जा ६.५९ प्रतिशत छ। यसअघि यस्तो अनुपात ८.४६ प्रतिशत थियो। यसको प्रतिसेयर आम्दानी १६.६१ रूपैयाँ, नेटवर्थ १८४ रूपैयाँ छ।
एकुमुलेसन–डिस्ट्रिब्युसन लाइनले केही दिनयता यसको सेयरमा बिक्री बढ्दै गएको छ।
यद्यपि समग्र प्रवृत्ति हेर्दा विगत २० कारोबार दिनमा बजारमा बाहिरिएको पैसा बढेको देखिन्छ। यस अवधिको सञ्चित मान करिब सात हजार ९०० ले ऋणात्मक छ। यसले बिक्री बढ्दै गइरहेको संकेत गर्छ।
पछिल्ला तीन कारोबार दिनमा पनि लगातार बिक्री दबाब नै देखिन्छ।
एक्सेलको मंगलबार मूल्य बढे पनि माथिल्लो धागो भएको र शरीरको आकार लगभग नभएको दोजी मैनबत्ती बनेको छ। यसले मूल्य घट्न रोक्न सक्ने संकेत गरिरहेको छ। यो कमजोर संकेत हो।