अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौताको पूर्ण पाठ केही दिनभित्रै सार्वजनिक गर्ने बताएका छन्। उनले सम्झौताको सम्पूर्ण दस्तावेज क्यामेराअघि पढेर सुनाउनसमेत सक्ने संकेत गरेका छन्।
फ्रान्समा भएको जी–७ शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले औपचारिक वातावरण तयार भएपछि मात्रै सम्झौता सार्वजनिक गरिने बताएका हुन्।
'पहिले औपचारिक वातावरण बनोस् भन्ने चाहन्छु, त्यसपछि सार्वजनिक गर्न मलाई कुनै समस्या छैन। यो उत्कृष्ट दस्तावेज हो,' ट्रम्पले भने।
उनले सम्झौतामा इरानसँग कहिल्यै परमाणु हतियार नहुने उल्लेख रहेको दाबी गरेका छन्।
ट्रम्पले आइतबार सम्झौतामा विद्युतीय हस्ताक्षर गरिसकेका छन्। तर सम्झौताको पूर्ण पाठ अहिलेसम्म सार्वजनिक गरिएको छैन।
अमेरिकी संसद् (कंग्रेस) का सदस्यहरू वा ट्रम्पसँगै रहेका अन्य विश्व नेताहरूले समेत उक्त दस्तावेजको पूर्ण विवरण पढ्न नपाएको जनाइएको छ। तर ट्रम्पले यसलाई गोप्य राखिएको विषयलाई भने सामान्य रूपमा लिएका छन्।
'म सम्भवतः पत्रकार सम्मेलन गर्छु र शब्द–शब्द पढेर सुनाउँछु, ताकि सञ्चारमाध्यमले यसलाई सही रूपमा प्रस्तुत गर्न सकुन्। यो अत्यन्त महत्वपूर्ण दस्तावेज हो,' ट्रम्पको भनाइ उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
'केही दिनभित्र म सञ्चारमाध्यमसँग यो दस्तावेजबारे विस्तृत रूपमा छलफल गर्नेछु,' उनले भनेका छन्।