काठमाडौं महानगरपालिका मेयर बालेन शाहले घरपालुवा कुकुर र बिरालोमा ‘माइक्रो चिप्स’ राख्ने बताएका छन्।
बिहीबार फेसबुकमा स्टाटस राख्दै मेयर बालेनले घरपालुवा कुकुर र बिरालोमा ‘माइक्रो चिप्स’ राख्ने प्रक्रियामा भएको बताएका हुन्।
'घरपालुवा कुकुर र बिरालोलाई ‘माइक्रो चिप्स’ जडान गर्ने प्रक्रियामा छौं,' उनले लेखेका छन्,'त्यसपछि अनिवार्य रूपमा घरपालुवा जनावर पाल्ने घरधनी सबैले उक्त चिप्स राख्नु पर्नेछ। यसबाट संख्या यकिन भई संख्या र अवस्था व्यवस्थापन गर्न सहज हुनेछ।'
महागरपालिकाले ६० दिनमा ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण समेत गरेको उनले उल्लेख गरेका छन्। त्यसैगरी ५ हजार ३२० वटा कुकुर तथा बिरालोलाई रेबिजविरूद्धको खोप दिइएको उनले बताए।
मेयर बालेनका अनुसार मंसिर मसान्तभित्र सामुदायिक कुकुर र बिरालो सबैलाई बन्ध्याकरण र खोप दिइसक्ने महानगरपालिकाको योजना छ।
असोज २३ गतेदेखि ९ वटा कम्पनी तथा साझेदार संस्थासँग सहकार्य गरी ९ वटा वडामा बन्ध्याकरण तथा खोप अभियान सुरू गरिएको उनले बताएका छन्। यस्तै, अभियानको क्रममा आफूले सोचेजस्तो कुकुर र बिरालोको संख्या नभेटेको उनको भनाइ छ।
'हामीले सोचेजस्तो धेरै कुकुर र बिरालोको संख्या भेटिएन,' उनले लेखेका छन्,' टोलमा भेटिएका कुकुर बिरालाहरूलाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनर्स्थापना गरिरहेका छौं।'
बन्ध्याकरण गरिएका कुकुर बिरालोको एअर नोच (कानमा सानो चिन्ह) गरिएको महानगरले जनाएको छ।
यस्तै, कार्यक्रमलाई निरन्तर सञ्चालन गरिरहेको उल्लेख गर्दै मेयर बालेनले पुसको पहिलो हप्तादेखि अभियानमा महानगरबासीको सहभागिता अपेक्षा समेत गरेको बताएका छन्।
'यसका लागि तपाईंले एअर नोच नभएका कुकुर बिराला देख्नुभयो भने हाम्रो कल सेन्टरको निःशुल्क फोन नम्बर ११८० मा सम्पर्क गरी जानकारी गराउन सक्नुहुनेछ,' उनले लेखेका छन्, 'हामी यस्ता कुकुर बिरालालाई बन्ध्याकरण तथा रेबिज विरूद्धको खोप सेवा उपलब्ध गराउँछौं।'
महानगरपालिकाले २०८० सालमा कुकुर-बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको र सोही कार्यविधिमा आधारमा कार्यक्रम चलाइएको उनले बताए। यस्तै, चौपायाहरूलाई ओसारपसार गर्न एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा समेत रहेको उनले बताए।
'मृत जनावरको व्यवस्थापनका लागि इन्सिनिरेटर खरिद गर्दैछौं,' उनले लेखेका छन्, 'यसबाट पशुकल्याण तथा सहज वातावरणमा बाँच्ने पशु अधिकारमा नयाँ आयाम थपिनेछ।'