मकवानपुरको हेटौंडामा जमिनमुनि गाडी दबिएको घटना हिजोआज चर्चामा छ।
गत शुक्रबार दिउँसो १ बजेतिर गैरीगाउँमा ना ४ ख ४८३३ को गाडी जमिन भासिएर बेपत्ता भएको भन्दै खोजी सुरू गरिएको थियो।
तीन दिनसम्म प्रहरी र स्थानीय बासिन्दाले गाडी नभेटेपछि हेटौंडा उपमहानगरपालिकाले भूगर्भविद्लाई बोलाउने निर्णय गरेको थियो।
त्यसअनुसार खानी तथा भूगर्भ विभाग काठमाडौंका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा कृष्ण पाण्डे, मणि खनाल र अमरबहादुर थापाले जमिन भासिएको ठाउँमा पुगेर अध्ययन सुरू गरेका थिए।
मंगलबारदेखि भूगर्भविद्ले बुधबार दिउँसोसम्म अध्ययन गरे। बुधबार दिउँसोपछि गाडी दबिएको ठाउँ वरपरका जमिन पनि भासिन थालेको भन्दै भूगर्भविद्ले अध्ययन स्थगित गरेका छन्। उनीहरू काठमाडौं फर्कने तयारीमा छन्।
‘हामीले गाडी दबिएको भनिएको ठाउँमा गएर अध्ययन गर्यौं, त्यहाँ निकै ठूलो दलदल बनेको छ, खाडल बनेको वरपरसमेत भासिँदै तल खस्न थाल्यो,’ भूगर्भविद् नारायण अधिकारीले सेतोपाटीसँग भने, ‘गाडी दबिएको भनिएको ठाउँमा धेरै ठूलो खाडल बनेको छ। अहिले पनि माटो खसिराखेको छ। खाडलभित्र पानी पनि जमेकोले दलदल बनेको छ। त्यहाँ काम गर्न निकै चुनौतीपूर्ण र जोखिमपूर्णयुक्त भयो। त्यसैले हामीले अध्ययनको काम स्थगित गर्यौं।’
दुई दिनसम्मको अध्ययनले गाडी दबिएको भनिएको ठाउँमा धातुजन्य वस्तु छ भन्ने यकिन गरेको पनि उनले बताए। ‘तर त्यो गाडी हो कि गाडीको पाटपुर्जा हो, अथवा कुनै समय जमिनमा दबिएको अरू धातु हो भन्नेचाहिँ हामी यकिन हुन सकेका छैनौं,’ उनले भने, ‘हामीले गाडी दबिएको भनिएको स्थानको माटोको नमूना अध्ययनका लागि काठमाडौं लैजान्छौं।’
भूगर्भविदको टोलीले गाडी बेपत्ता भएको ठाउँमा धातु पत्ता लगाउने उपकरण जमिनभित्र पठाएर अध्ययन गरेको थियो। त्यसका अतिरिक्त उनीहरूले माटोको परीक्षण पनि गरेका थिए।
‘गाडी दबिएको भनिएको ठाउँ वरपरको जमिनमा ८ मिटरमुनिसम्म प्वाल पारेर जमिनको भित्री सतहको माटोको परीक्षण पनि गर्छौं,’ उनले भने, ‘यस्ता विभिन्न तरिका र उपलब्ध तथ्यहरूका आधारमा हामीले प्रतिवेदन तयार पार्छौं।’