कतारमा नेपाली युवाहरू प्रायः कम पारिश्रमिकमा कठिन श्रम गर्ने श्रमिकका रूपमा चिनिन्छन्। चर्को घाममा घोटिएर काम गर्दा पनि धेरैको आम्दानी घरखर्च टार्नमै सीमित हुने अवस्था छ।
तर त्यहीँ कतिपय युवा सहज काम गरेर राम्रो आम्दानी र बचत गरिरहेका छन्।
यस्तैमध्ये एक हुन् नुवाकोटका शम्भु जम्कटेल।
शम्भु कतारस्थित गल्फ एक्सचेन्ज कम्पनीमा क्यासियर (पैसा गन्ने) काम गर्छन्।
उनी कतार गएको ६ वर्ष भयो।
'सुरूमा कतार कस्तो रहेछ, हेर्छु, घुम्छु भनेर तीन महिनाको भिजिट भिसामा आएको थिएँ। यहाँको वातावरण र विकासले तान्यो,' शम्भुले भने, 'यहीँ कतै काम पाए हुन्थ्यो भन्ने भयो।'
उनले कतार गएको एक महिनाछि नै काम खोज्न थाले। सुरूमा एउटा सुपरमार्केटमा डेटा इन्ट्री गर्ने काम पाए। त्यो बेला संसारमा कोरोना महामारी फैलिरहेको थियो।
'मलाई बैंकिङ क्षेत्रमा काम गर्न रूचि थियो। खोजिरहेको थिएँ। तर कोरोनाले गर्दा त्यो क्षेत्रमा खासै अवसर थिएन,' उनले सम्झिए।
महामारी बिस्तारै सामान्य बन्दै गयो। सुपरमार्केटमा दुई वर्ष काम गरेपछि उनले अन्ततः मनी एक्सचेन्जमा काम पाए।
'ठ्याक्कै बैंकमा काम नपाए पनि बैंकिङ सम्बन्धी काम पाएँ,' उनले भने।
उनको कम्पनी आप्रवासी लक्षित हो। उक्त कम्पनीले खासगरी पैसा सटही गर्ने, आप्रवासीहरूले कमाएको रेमिटेन्स सम्बन्धित मुलुकमा पठाउने तथा सुनचाँदीको कारोबार पनि गर्छ।
सेवाग्राही आप्रवासी हुने भएकाले कर्मचारी पनि आप्रवासी हुन्छन्। शम्भु काम गर्ने गल्फ एक्सचेन्जको शाखामा भारतीय, बंगाली लगायत अन्य आप्रवासीहरू पनि छन्।

कुन देशका सेवाग्राही धेरै हुन्छन्, त्यस आधारमा पनि कम्पनीले कर्मचारी भर्ती गर्छ। देश अनुसारको कर्मचारी राख्दा सेवाग्राही जोड्न सहज हुन्छ।
'अब म नेपाली भएकाले यो कम्पनीमा सेवा लिन आउने नेपाली अझ बढ्ने भए। धेरैलाई भाषाको समस्या हुन्छ। तर नेपाली भए भाषा मिल्छ भनेर सम्झेर आउँछन्,' उनले भने।
शम्भुको कम्पनीले कतारी रियाल, अमेरिकी डलर, नेपाली रूपैयाँ, भारतीय रूपैयाँ, बंगलादेशी टाका लगायत थुप्रै मुलुकको पैसा साट्छ।
'अब यहाँबाट नेपाल पुग्नेबित्तिकै विमानस्थलमा पुगेर केही किन्नुपर्यो भने नेपाली रूपैयाँ चाहिन्छ। धेरैसँग हुँदैन। उनीहरू यहाँ साट्न आउँछन्,' उनले भने।
त्यहाँ काम गर्ने श्रमिकहरू घरपरिवारमा पैसा पठाउन पनि आउने उनले बताए।
पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरूलाई कम्पनीहरूको प्राथमिक सेयर १० प्रतिशत छुट्ट्याउनुपर्ने प्रावधान छ। यो व्यवस्थाका कारण पनि धेरैले वैधानिक च्यानलबाट पैसा पठाउने क्रम बढेको उनले बताए।
'आइपिओ भर्न धेरैमा रूचि देखिन्छ। यस कारण नेपालमा पैसा पठाइरहने, श्रम स्वीकृति समयमा नवीकरण गर्ने क्रम बढेको छ,' उनले भने।
शम्भुले पैसा सटही कम्पनीमा काम थालेको चार वर्ष पूरा भयो। आफूसँग क्यास ह्यान्डलिङ अनुभव भएकाले पनि यो क्षेत्रमा काम गर्न सहज भएको उनी बताउँछन्।
उनका अनुसार कतारका मनी एक्सचेन्ज कम्पनीहरूमा काम गर्न कम्तीमा पनि प्लस–टू पास गरेको शैक्षिक योग्यता आवश्यक पर्छ। त्यसपछि अरबी भाषामा पोख्त हुनुपर्छ। अंग्रेजी पनि राम्रोसँग बोल्न र लेख्न सक्ने हुनुपर्छ। कम्प्युटरको सामान्य ज्ञान हुनुपर्छ।
'अरू अनुभव त जुन पेसामा पनि काम लाग्छ। क्यासियरका लागि क्यास ह्यान्डलिङमा राम्रो अनुभव भयो भने सजिलो हुन्छ। मैले यसअगाडि सुपरमार्केटमा काम गर्दा क्यास ह्यान्डलिङको अनुभव भयो। नेपालमा छँदा बैंकमा काम गरेको अनुभव पनि थियो,' उनले सुनाए।
शम्भुले नेपाल छँदा काठमाडौंस्थित एक विकास बैंकमा दुई वर्षजस्तो काम गरेका थिए। उनलाई धेरैले छँदाखाँदाको बैंकको जागिर छाडेर कतार किन गएको होला पनि भन्छन्।
'नेपालमा बैंकको काम देख्दा राम्रो, पैसा एकदमै कम हुन्थ्यो,' उनले भने।
जुनियर असिस्टेन्टबाट काम सुरू गरेका उनी पछि असिस्टेन्ट भएका थिए। महिनाको २५ हजार रूपैयाँ तलबले घरखर्च चलाउन पुगिरहेको थिएन।
अहिले कतारमा उनी राम्रो कमाइ गर्छन्। मनी एक्सचेन्जमा काम गर्ने नेपालीले सुरूदेखि नै महिनामा एक लाख रूपैयाँ सजिलै बचाउन सक्ने उनले बताए।
'बस्न कम्पनीले दिन्छ। केही नभए पनि एक लाखभन्दा माथि त मज्जाले बचाउन सकिन्छ,' उनले भने।
कतारमा मनी एक्सचेन्ज र रेमिट कम्पहरूनीमा काम गर्ने नेपालीहरू धेरै छन्। उनीहरूले पनि राम्रो कमाइ गर्ने उनले बताए।
रुचिको क्षेत्र र कमाइ राम्रो भएकाले आफ्नो कामसँग सन्तुष्ट रहेको शम्भु बताउँछन्।
'नेपालमा जति मेहनत गर्दा पनि अहिले जति कमाउन सकिँदैन थियो। मैले त्यो बेलै छाडेर ठिकै गरेछु जस्तो लाग्छ,' उनले भने
शम्भु अझै केही वर्ष कमाएर मात्र फर्किने सोचमा छन्।
'अहिले त देशमा सुरक्षा पनि छैन। फर्केर के गर्ने भन्ने अन्योल छ। अबको निर्वाचनबाट देशका लागि केही गर्ने अनुहार छानिए र परिवर्तन आयो भने छिट्टै फर्किहाल्न पनि सकिन्छ,' उनले भने।