पश्चिम तराई अत्यधिक गर्मीको चपेटामा परेको छ।
लगातार उकालो लागिरहेको तापक्रमका कारण सर्वसाधारणको जनजीवन प्रभावित बन्दै गएको छ भने अस्पतालहरूमा गर्मीजन्य समस्या लिएर उपचारका लागि आउने बिरामीको संख्या बढ्न थालेको छ।
चर्को घाम र तातो हावाले सडक, बजार र श्रम क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको छ।
सोमबार पश्चिम तराईका विभिन्न जिल्लामा उच्च तापक्रम मापन गरिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोहलपुरमा ३८.९ डिग्री सेल्सियस, नेपालगन्जमा ४०.६ डिग्री, धनगढीमा ३९.६ डिग्री तथा भैरहवामा ३७.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।
आइतबार पनि यी क्षेत्रमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुगेको थियो।
महाशाखाले सोमबारसम्म पश्चिम नेपालका तराई भूभागमा तातो लहर चल्ने चेतावनी जारी गरेको थियो।
बढ्दो गर्मीले सर्वसाधारण मात्र होइन प्रहरी हिरासतमा रहेका बन्दीसमेत प्रभावित भएका छन्।
बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले हिरासतमा रहेका बन्दीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै पहिलोपटक दुई वटा एसी जडान गरेको छ।
जेठ पहिलो सातामै जडान गरिएका एसीले हिरासतको वातावरण केही सहज बनेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी चक्रडम्मर पालका अनुसार अत्यधिक गर्मीका कारण हिरासतभित्र बस्नै कठिन अवस्था सिर्जना हुन थालेपछि यस्तो व्यवस्था गरिएको हो।
'क्षमताभन्दा धेरै गुणा बढी मानिसहरू थुनामा राख्नुपर्दा गर्मीका कारण बस्नै नसक्ने अवस्था थियो,' डीएसपी पालले भने, 'दुई वटा एसी जडान भएपछि बन्दीहरू खुसी भएका छन्।'
उनका अनुसार हिरासतमा करिब ७० जना विभिन्न अभियोगका बन्दी राखिएका छन्।
बन्दीहरूले गर्मीका कारण भोगेको असहजताबारे कोहलपुर नगर विकास समितिलाई जानकारी गराएपछि समितिले सहयोगस्वरूप दुई वटा एसी उपलब्ध गराएको उनले बताए।
गर्मीको असर स्वास्थ्य क्षेत्रमा पनि देखिन थालेको छ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।
प्रतिष्ठानका डा. सुरेश रसाइलीका अनुसार चर्को गर्मीसँगै रिङ्गटा लाग्ने, कमजोरी महसुस हुने, डिहाइड्रेसन र झाडापखालाका बिरामी बढ्न थालेका छन्।
'आइतबार मात्रै रिङ्गटा लाग्यो भन्दै पाँच जना बिरामी आएका थिए,' उनले भने, 'गम्भीर हिट स्ट्रोकका बिरामी अहिलेसम्म आएका छैनन्, तर दैनिक १५ देखि २० जना अतिरिक्त बिरामी थपिन थालेका छन्।'
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पनि गर्मीजन्य समस्या लिएर उपचार खोज्नेको संख्या उल्लेख्य बढेको छ।
अस्पतालका प्रमुख डा. नवीन दर्नालका अनुसार औसतमा दैनिक ५० देखि ६० जना बिरामी गर्मीसँग सम्बन्धित समस्या लिएर अस्पताल आउन थालेका छन्।
'विशेषगरी श्रमिक वर्ग बढी प्रभावित देखिएको छ,' उनले भने, 'ज्याला मजदुरी गर्ने, खेतबारीमा काम गर्ने मानिसहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर कमजोर हुने समस्या लिएर अस्पताल आउँछन्।'
गर्मीको प्रकोप बढ्दै जाँदा चिकित्सकहरूले अत्यावश्यक कामबाहेक दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का खाना खान र बालबालिका तथा वृद्धवृद्धाको विशेष हेरचाह गर्न आग्रह गरेका छन्।
पश्चिम तराईका बासिन्दा यतिबेला असह्य गर्मीबीच वर्षाको प्रतीक्षामा छन्।
मौसम पूर्वानुमान महाशाखाले भने मंगलबार पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ।