नेपाल मेडिकल काउन्सिल र चिकित्सा शास्त्र पढाउने कलेजबीच समन्वय नहुँदा आफूहरू चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (मेडिकल लाइसेन्स) दिनबाट बञ्चित हुन लागेको गुनासो विद्यार्थीहरूले गरेका छन्।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, नेसनल मेडिकल कलेज लगायत अन्य क्याम्पसका विद्यार्थीहरू मर्कामा परेका हुन्।
मेडिकल कलेजमा सुरू गरेको इन्टर्नसिप मिति, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को प्रोभिजनल सर्टिफिकेटको मिति र नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको प्रोभिजनल रजिस्ट्रेसन मिति फरक परेको कारण आफूहरू काउन्सिलको परीक्षा दिनबाट बञ्चित हुन लागेको विद्यार्थीको भनाइ छ।
काउन्सिलले इन्जिनियरिङ अध्ययन संस्थान तथा सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भोलि जेठ १२ गतेदेखि १५ गतेसम्म चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्दैछ।
यसरी परीक्षा दिन बञ्चित हुन लागेका विद्यार्थीहरूमा चिकित्सा शिक्षा संघर्ष अभियानका महासचिव सौगात पाण्डे लगायत छन्।
गण्डकी मेडिकल कलेज पोखरामा इन्टर्नसीप सकाएका सौगातका अनुसार उनले २०८२ साल असोज ५ गतेदेखि इन्टर्नसीप सुरू गरेका थिए। सोही दिन उनले सोही अनुसार प्रोभिजनल सर्टिफिकेट रजिष्ट्रेसनका लागि काउन्सिलमा अनलाइन फर्म भरे।
आवश्यक सबै कागजातहरू पेस गरेर ०८२ असोज १४ गते उनले १ हजार ५० रुपैयाँ जम्मा गरे। प्रोभिजनल रजिस्ट्रेसन सफल भएको सूचना उनले इमेलमा प्राप्त पनि गरेका छन्।
काउन्सिलले असोज २६ गते सूचना निकालेर वेबसाइटमा अनधिकृत पहुँच भएको भन्दै सर्भर डाउन गरिएको सूचना निकाल्यो। अनलाइन सम्बन्धी सुविधाहरू उपलब्ध गराउन नसकिने तर काउन्सिलको सर्भरमा रहेका अभिलेखहरू सुरक्षित रहेको सूचनामा उल्लेख छ।
अनलाइन फर्म भरिसकेको भएर सौगात ढुक्क थिए। त्यसैले उनले ०८२ चैत २२ गते मात्रै भौतिक रूपमा काउन्सिल गएर आवश्यक कागजातहरू बुझाए। तर काउन्सिलले अनलाइन फर्म भरेको मितिलाई आधार नमानेर चैत २२ गतेलाई प्रोभिजनल दर्ता भएको मिति मानिदिँदा आफू परीक्षाबाट बञ्चित हुन लागेको उनको गुनासो छ।
‘मिति सच्याउँदा समस्या समाधान हुने कुरा थियो, तर काउन्सिलले वास्ता नै गर्दैन,’ उनले भने, ‘कलेजले पनि समस्या समाधानका लागि पहल गरेन, हामी विद्यार्थी मर्कामा परेका छौं।’
इन्टर्नसीपमा तलब दिनुपर्ने हुँदा अब कलेजले इन्टर्नसीप पनि नदिने हुँदा समय खेर जाने अवस्था सृजना भएको उनले बताए।
मेडिकल कलेजमा इन्टर्नसीप सुरू गरेको मिति र नेपाल मेडिकल काउन्सिलमा रजिस्ट्रेसन मिति फरक फरक हुँदा झण्डै एक सय जना जति विद्यार्थी परीक्षाबाट बञ्चित हुन लागेको दाबी उनको छ।
‘इन्टर्नसीप सुरू गरेको मिति, आइओएम प्रोभिजनल सर्टिफिकेट, र मेडिकल काउन्सिलमा प्रोभिजनल दर्ता मितिमा १ महिनादेखि ८ महिनासम्म फरक परेको छ,’ सौगात भन्छन्, ‘हामीले थप इन्टर्नसीप गर्नुपर्ने मात्रै भएको छैन, कतिपय विद्यार्थी असोजको परीक्षाबाट समेत बञ्चित हुनुपर्ने परिस्थिति बनेको छ।’
मेडिकल काउन्सिलमा समस्याबारे गुनासो गर्न जाँदा कार्यवाहक अध्यक्ष कुञ्जङ शेर्पा र रजिस्ट्रार दिपेन्द्र पाण्डेले समस्या समाधान गर्नुको साटो सम्पूर्ण दोष विद्यार्थीहरूमाथि थोपरेको गुनासो विद्यार्थीहरूले गरेका छन्।
चिकित्सा शिक्षा संघर्ष अभियानले समस्या समाधानका लागि माग राख्दै शिक्षा मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएको थियो। शिक्षा मन्त्रालयले काउन्सिललाई समस्या समाधान गर्न आग्रह गर्दा समेत चासो नदेखाएको विद्यार्थीहरू बताउँछन्।
अनलाइन फर्म भरेको सम्पूर्ण विवरण हेर्नुका साथै सबन्धित मेडिकल कलेजसँग समन्वय गर्दा समस्या समाधान हुने अवस्थामा काउन्सिलले विद्यार्थीको समस्यालाई नजर अन्दाज गरेको उनीहरूको आरोप छ।
काउन्सिलका कार्यवाहक अध्यक्ष कुञ्जङ शेर्पाले प्रोभिजनल सर्टिफिकेट आएपछि काउन्सिलमा प्रोभिजनल रजिष्ट्रेसन गर्नुपर्ने त्यसपछि मात्रै इन्टर्नसीपमा पठाउनुपर्ने र त्यसबारे काउन्सिललाई जानकारी दिनुपर्ने व्यवस्था कार्यविधिमा रहेको बताउँछन्।
प्रोभिजनल रजिष्ट्रेसन कमिटी र परीक्षा कमिटीले कागजातहरू जाँच गरेर नै परीक्षा दिन योग्य २ हजारभन्दा बढी विद्यार्थीहरू छनोट गरेको उनको भनाइ छ।
‘कार्यविधि अनुसार नै काम भइरहेको छ, हामीले कसैलाई परीक्षाबाट बञ्चित गर्न खोजेका छनौं,’ उनले भने, ‘विशेषगरी त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्यापन गराएका कलेजका विद्यार्थीबाट गुनासो आएको छ। परीक्षा पछि बसेर छलफल गर्ने योजना छ।’
काउन्सिल कार्यवाहक अध्यक्ष र निमित्त रजिष्ट्रारको नेतृत्वमा चलाउनु परिरहेको उनी बताउँछन्।