अल्ट्रासाउन्ड अर्थात् ‘भिडियो एक्स–रे’ गर्दा १० जनामध्ये ७ देखि ८ जनालाई फ्याटी लिभर देखिएको पाइन्छ।
यति धेरै व्यक्तिमा फ्याटी लिभर देखिनु आफैमा चासोको विषय हो। त्यसैले फ्याटी लिभर के हो र यसको पहिचान कसरी गरिन्छ भन्ने जिज्ञासा आउनु स्वाभाविक हो।
कलेजोको कुल तौलको ५ प्रतिशतभन्दा बढी बोसो (चिल्लो पदार्थ) कलेजोका तन्तुहरूमा जम्मा भएमा त्यसलाई फ्याटी लिभर भनिन्छ।
विभिन्न अध्ययनका आधारमा हेर्दा उमेर बढ्दै जाँदा फ्याटी लिभरको समस्या पनि बढ्दै जान्छ। यसो भन्दैमा कम उमेरका मानिसमा फ्याटी लिभर देखिँदैन भन्ने होइन। अहिले फ्याटी लिभर बच्चाहरूमा पनि देखिन थालेको छ। करिब ७ देखि ७.५ प्रतिशत बालबालिकामा फ्याटी लिभर देखिएको छ। यदि मोटोपन भएका वा धेरै तौल भएका बालबालिकालाई मात्र आधार मान्ने हो भने ४० देखि ५० प्रतिशतसम्ममा फ्याटी लिभर देखिएको पाइन्छ।
एक जना कन्सल्टेन्ट रेडियोलोजिस्टको अनुभवका आधारमा भन्ने हो भने, मैले आफैले पनि १३ वर्षकै उमेरमा फ्याटी लिभर भएको देखेको छु।
फ्याटी लिभर देखिनुको मुख्य कारण मोटोपना र खानपान नै हो। चिनी भएका खाद्य पदार्थ धेरै खाने, जङ्क फुडको अत्यधिक प्रयोग गर्ने तथा शारीरिक गतिविधि कम हुने कारणले यो समस्या बढिरहेको छ। खाना धेरै खाने तर व्यायाम नगर्ने बानीले पनि फ्याटी लिभरको जोखिम बढाउँछ।
हिँडडुल कम हुनु र यातायातका साधनको अत्यधिक प्रयोग हुनु पनि यसको अर्को कारण हो।
फ्याटी लिभर मुख्यतः दुई प्रकारको हुन्छ। अल्कोहल सेवन नगर्ने व्यक्तिहरूमा पनि फ्याटी लिभर देखिन्छ।
मोटोपना, मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप लगायतका समस्या भएका व्यक्तिहरूमा फ्याटी लिभर देखिन सक्छ। यदि त्यस्ता व्यक्तिले अल्कोहल सेवन गर्दैनन् भने त्यसलाई नन–अल्कोहोलिक फ्याटी लिभर भनिन्छ।
त्यसैगरी अल्कोहोलिक फ्याटी लिभर पनि हुन्छ। अल्कोहल सेवन गर्ने व्यक्तिहरूमा सुरुआती अवस्थामा कुनै विशेष लक्षण नदेखिन सक्छ। यदि पुरूषले दैनिक ३० देखि ५० ग्राम र महिलाले दैनिक २० देखि ५० ग्राम अल्कोहल सेवन गर्छन् भने उनीहरूमा अल्कोहोल सम्बन्धी कलेजो रोग हुने सम्भावना बढी हुन्छ।
फ्याटी लिभर पत्ता लगाउने धेरै विधि छन्। तीमध्ये सबभन्दा सहज र व्यापक रूपमा उपलब्ध हुने विधि अल्ट्रासाउन्ड हो।
अल्ट्रासाउन्डमार्फत फ्याटी लिभरलाई सामान्यतया माइल्ड, मोडरेट र सिभियर गरी ग्रेडिङ गरिन्छ। कलेजोको जाँच गर्दा कलेजो र मिर्गौलाको (किड्नीको) बनावट तथा चमक (इकोजेनेसिटी) तुलना गरिन्छ।
यदि कलेजो सामान्यभन्दा केही बढी उज्यालो वा चहकिलो देखियो भने त्यसलाई माइल्ड फ्याटी लिभर भनिन्छ।
कलेजो किड्नीभन्दा अझ बढी चहकिलो देखियो र कलेजोभित्र रगत सञ्चार हुने संरचनाहरू स्पष्ट रूपमा देखिएन भने त्यसलाई मोडरेट फ्याटी लिभर भनिन्छ।
यदि कलेजो अत्यन्त चहकिलो देखियो र कलेजोको तल्लो भागसमेत स्पष्ट रूपमा देखिन छोड्यो भने त्यसलाई सिभियर फ्याटी लिभर भनिन्छ।
यसरी फ्याटी लिभरको ग्रेडिङ गरेर बिरामीलाई अवस्थाबारे जानकारी दिइन्छ।
अहिलेको प्रविधिले कलेजोमा कति प्रतिशत बोसो छ भन्ने कुरा पनि मापन गर्न सक्ने क्षमता विकास गरिसकेको छ।
फ्याटी लिभरबाट जोगिन फलफूल र सागसब्जीको सेवनमा जोड दिनुपर्छ। गहुँ, फापर र कोदोबाट बनेका परिकार खानुपर्छ। रातो मासुको सेवन कम गर्नुपर्छ, सकेसम्म नखाएकै राम्रो मानिन्छ। दाल, गेडागुडी, भटमास, चना र केराउजस्ता खाद्य पदार्थ उपयोगी हुन्छन्।
अल्कोहल पूर्ण रूपमा बन्द गर्नुपर्छ। साथै, चिनी मिसाइएका खाद्य तथा पेय पदार्थको सेवन पनि कम गर्न वा सकेसम्म बन्द गर्नुपर्छ।
अर्को महत्वपूर्ण पक्ष भनेको व्यायाम हो। हप्तामा १०० देखि ३०० मिनेटसम्म एरोबिक व्यायाम गर्नुपर्छ। यसले कलेजोमा जम्मा भएको बोसो घटाउन मद्दत गर्छ। त्यसैगरी हप्तामा ७५ देखि १५० मिनेटसम्म कुनै पनि प्रकारको नियमित शारीरिक गतिविधि वा व्यायाम गर्दा पनि फ्याटी लिभर नियन्त्रणमा सहयोग पुग्न सक्छ।
फ्याटी लिभर घटाउन तौल नियन्त्रण गर्नु अत्यन्त आवश्यक छ। तर एकैचोटि धेरै तौल घटाउने प्रयास गर्नु हुँदैन। सामान्यतया ३ देखि ६ महिनाको अवधिमा ५ देखि १० किलोसम्म तौल घटाउनु राम्रो मानिन्छ।
अब यसको उपचारको कुरा गरौँ। फ्याटी लिभर देखिएपछि कलेजोमा भएको रोगको अवस्था पहिचान गरिन्छ। रोग कुन चरणमा पुगेको छ भन्ने आधारमा कलेजो रोग विशेषज्ञले उपचारको योजना बनाउँछन्।
फ्याटी लिभर सामान्य रूपमा धेरै व्यक्तिमा देखिने समस्या हो। तर सबैलाई देखिन्छ भनेर बेवास्ता गर्नु हुँदैन। फ्याटी लिभर देखिएपछि चिकित्सकको परामर्श लिएर आवश्यक परीक्षण तथा उपचार गराउनुपर्छ।
रोगको निदान, मूल्याङ्कन र निगरानीका लागि रेडियोलोजीको महत्वपूर्ण भूमिका हुन्छ। अल्ट्रासाउन्ड, एमआरआई र सिटी स्क्यानजस्ता प्रविधिको प्रयोग गरेर कलेजोमा भएको बोसोको पहिचान गर्न सकिन्छ। यिनै परीक्षणका आधारमा समयमै उपचार, रोगको मूल्यांकन तथा दीर्घकालीन उपचार योजना बनाउन सहज हुन्छ।
(कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.केदार खड्गीसँग हामीले भिडिओ कुराकानी गरेका छौं)