सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरे पनि सवारी दुर्घटनाको संख्या हरेक वर्ष बढ्दै गएको छ।
पछिल्ला तीन वटा आर्थिक वर्षको तथ्याङ्क हेर्दा सडक दुर्घटनाको ग्राफ डरलाग्दो रूपमा उकालो लागेको देखाएको छ। जसले सडकको सुरक्षा प्रबन्ध र यातायात नीतिको कडा समीक्षा गर्नुपर्ने देखिएको छ।
प्रहरीले दिएको पछिल्ला तीन वटा आर्थिक वर्षको तथ्यांक केलाउँदा सडक दुर्घटनाको अवस्था हरेक वर्ष विकराल बन्दै गएको स्पष्ट हुन्छ।
आर्थिक वर्ष २०८०/८१ देशभर २२ हजार ९४८ वटा सडक दुर्घटना भएका थिए, जसमा २ हजार ३७६ जनाले ज्यान गुमाएका थिए।
आर्थिक वर्ष २०८१/८२ मा दुर्घटनाको संख्या बढेर २८ हजार ६८२ पुग्यो भने मृत्यु हुनेको संख्या पनि २ हजार ५५० पुगेको थियो।
गत आर्थिक वर्ष २०८२/८३ मा आउँदा दुर्घटना, मृतक र घाइते सबैको सबैको संख्या झन् उकालो लागेको छ। त्यस वर्ष देशभर ३० हजार भन्दा बढी सवारी दुर्घटना भएका छन्। जसमा २ हजार ७०७ जनाले ज्यान गुमाए भने करिब ४७ हजार नागरिक गम्भीर तथा सामान्य घाइते भए।
दुर्घटना, मृतक र घाइतेहरूको यो संख्या पछाडि हजारौं परिवारको उज्यालो खोसिएको कहालीलाग्दो यथार्थ लुकेको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा सवारी दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा छन् भने दुर्घटना र घाइतेको संख्या मधेस प्रदेशमा बढी छ। लुम्बिनी प्रदेशमा ४ हजार ७९७ वटा सवारी दुर्घटना हुँदा ५८५ जनाको मृत्यु र ८ हजार ५८ जना घाइते भएका छन्। घाइते मध्ये १ हजार ७९९ जना गम्भीर अवस्थाका छन्।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ४७९ दुर्घटना हुँदा ५०६ जनाको मृत्यु र ५ हजार ६९१ जना घाइते भएका थिए। २०८०/८१ मा १ हजार १२० वटा सवारी दुर्घटनामा ४९६ जनाको मृत्यु र १ हजार ६९३ जना घाइते भएका थिए।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापा दुर्घटनाको संख्या बढ्नुका पछाडि चालकहरूद्वारा ट्राफिक नियम तथा लेन अनुशासनको उल्लङ्घन, ग्रामीण तथा जोखिमयुक्त सडकमा सवारी सञ्चालन, ट्राफिक जनशक्तिको अभाव,, प्राविधिक रूपमा कमजोर सवारीसाधन सँगै सडक र सवारीसाधनको तीव्र वृद्धि पनि मुख्य कारण रहेको बताउँछन्।
प्रहरी उपरीक्षक थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म लुम्बिनी प्रदेशमा १५ हजार ४२ किलोमिटर सडक रहेकोमा २०८२/८३ मा आई पुग्दा १५ हजार ७०६ किलोमिटर पुगेको छ। एक वर्षमा लुम्बिनी प्रदेशमा ६६४ किलोमिटर सडक बिस्तार भएको छ।
त्यस्तै लुम्बिनी प्रदेशमा पछिल्लो एक वर्षमा ९० हजार ५८ वटा सवारी साधन थपिएका छन्। प्रहरी उपरीक्षक थापाका अनुसार लुम्बिनीमा अघिल्लो वर्ष २०८१/८२ सम्म १६ लाख १४ हजार ९९१ वटा सवारी साधन दर्ता भएकोमा २०८२/८३ मा आई पुग्दा १७ लाख ५ हजार ४९ पुगेको छ।
मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा ७ हजार ९४७ वटा सवारी दुर्घटनामा ५३४ जनाको मृत्यु भएको छ भने १२ हजार ८५७ जना घाइते भएका छन्। मधेस प्रदेशमा गत वर्ष अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भन्दा सवारी दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेहरूको संख्या भने केही घटेको छ।
मधेसमा आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ४४३ वटा दुर्घटनामा परी ५६४ जनाको मृत्यु र १२ हजार १२३ जना घाइते भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा पनि ६ हजार ५८ वटा दुर्घटनामा ५३० जनाको मृत्यु र ९ हजार ७४५ जना घाइते भएका थिए।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज न्यौपानेले जनचेतनामूलक कार्यक्रम, नियम कार्यान्वयनमा कडाइ तथा निगरानीबाट कम्तिमा मृत्युदर केही घटाउन सकिएको बताए।
त्यस्तै कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा ६ हजार ४१२ वटा सवारी दुर्घटना हुँदा ४४० जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १० हजार ६८७ जना घाइते भएका छन्।
कोसीमा आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ६२६ वटा सवारी दुर्घटनामा ४१८ जनाको मृत्यु र ९ हजार २४१ जना घाइते भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा ३ हजार ५६३ वटा सवारी दुर्घटना हुँदा ३९७ जनाको मृत्यु र ६ हजार ७६ जना घाइते भएका थिए।
बागमती प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा १९२४ दुर्घटना हुँदा ३४० जनाले ज्यान गुमाएका छन् भने तीन हजार ७६३ जना घाइते भएका छन्। बागमतीमा पनि अघिल्लो वर्ष भन्दा गत वर्ष दुर्घटना र मृतक दुवैको संख्या बढेको छ।
२०८१/८२ मा २ हजार ४१२ वटा सवारी दुर्घटनामा ३०४ जनाले ज्यान गुमाएका थिए भने चार हजार ७४७ जना घाइते भएका थिए। त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा भने १ हजार ५३६ वटा सवारी दुर्घटनामा ३१५ जनाको मृत्यु भएको थियो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेयका अनुसार प्रदेशका १० जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै र रामेछापमा कम दुर्घटना भएका छन्। चितवनमा ५४५ दुर्घटना भएका छन् भने रामेछापमा ४७ वटा दुर्घटना भएका छन्।
गण्डकी प्रदेशमा चार वटा प्रदेशको तुलनामा सवारी दुर्घटना कम भए पनि दुर्घटना संख्याको अनुपातमा मृत्यु हुनेहरूको संख्या भने बढी नै छ। गण्डकीमा आर्थिक वर्ष २०८२/८३ मा ५८४ वटा सवारी दुर्घटनामा परि २५२ जनाको मृत्यु र ५३८ जना घाइते भएका छन्। २०८१/८२ मा ३८२ दुर्घटनामा २३७ जना र २०८०/८१ मा ३९५ दुर्घटनामा १७७ जनाले ज्यान गुमाएका थिए।
त्यस्तै काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०८२/८३ मा ५ हजार ८०३ वटा सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा परि २१६ जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा २०८१/८२ मा ७ हजार १६९ वटा सवारी दुर्घटना हुँदा १९० जनाको मृत्यु भएको थियो। त्यस्तै २०८०/८१ मा ८ हजार ८८१ वटा सवारी दुर्घटना हुँदा १७७ जनाको मृत्यु भएको थियो।
पछिल्लो तिन वर्षको संख्या हेर्दा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको संख्या कम हुँदै गए पनि मृत्यु हुनेहरूको संख्या भने बढ्दै गएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश सुवेदी दुर्घटनाको संख्या घट्दै गए पनि मृतकहरूको संख्या बढ्नुमा दुर्घटना पश्चात् उद्धार र अस्पताल पुर्याउन ढिलाइ, प्राथमिक उपचार सहितको एम्बुलेन्सको अभाव, अस्पताल पुर्याई सके पनि प्रभावकारी उपचार नहुनु प्रमुख कारण रहेको बताउँछन्।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि पछिल्लो तिन वर्षको संख्या हेर्दा सवारी दुर्घटना र मृतक सबैको संख्या बढ्दै गएको छ। सुदूरपश्चिममा गत आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ४७३ वटा सवारी दुर्घटना हुँदा २ सय ५ जनाको मृत्यु र २ हजार ४८८ जना घाइते भएका छन्।
आर्थिक वर्ष २०८१/०८२ मा १ हजार २ सय ३ वटा सवारी दुर्घटनामा १ सय ९२ जनाको मृत्यु र २ हजार ४ जना घाइते भएका थिए। त्यसै गरी २०८०/०८१ मा ३ सय ९ वटा सवारी दुर्घटनामा १ सय ७२ जनाको मृत्यु भएको थियो भने ५ सय ३६ जना घाइते भएका थिए।
त्यस्तै कर्णाली प्रदेशमा २०८२/८३ मा १ हजार १९४ वटा सवारी दुर्घटना भएकोमा १ सय ३५ जनाको मृत्यु भएको थियो भने २ हजार ३ सय घाइते भएका छन्। २०८१/८२ मा ९६८ दुर्घटनामा १३९ जनाको मृत्यु र २ हजार ८ जना घाइते भएका थिए। २०८०/८१ मा पनि १ हजार ८६ वटा सवारी दुर्घटनामा ११२ जनाको मृत्यु र २ हजार ७७ जना घाइते भएका थिए।
प्रदेशहरूमा रहेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका अनुसार सवारी दुर्घटना बढ्नुका पछाडि सवारी साधनको संख्या तीव्र रूपमा वृद्धि हुनु नै मुख्य कारण हो।
त्यस्तै साँघुरा, जीर्ण तथा जोखिमयुक्त कच्ची सडक, सडकमा रहेका खाल्डाखुल्डी, सडक सुरक्षा पूर्वाधारको अभाव, पर्याप्त ट्राफिक जनशक्तिको कमी तथा बिना चेकजाँच र मर्मत नगरी सञ्चालन गरिएका सवारी साधन दुर्घटनाका कारण हुन्। कतिपय अवस्थामा प्रतिकूल मौसम, सडकमा छोडिएका छाडा चौपाया पनि दुर्घटना बढाउनुको कारण बनेका छन्।