जीवनको पहिलो एक हजार दिनमा चिनीको सेवन कम गर्नाले मस्तिष्कको दीर्घकालीन स्वास्थ्यमा फाइदा हुन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।
गर्भधारणदेखि दुई वर्षको उमेरसम्म थोरै मात्रामा चिनीको सेवन गर्नाले उमेर ढल्किँदै जाँदा डिमेन्सियाको जोखिमलाई समेत कम गर्न सक्ने एक अध्ययनले देखाएको भनेर मेडपेज टुडे डटकमले जनाएको छ।
यो अध्ययनले बेलायतको एक ऐतिहासिक घटनालाई प्राकृतिक प्रयोगको रूपमा उपयोग गरेको छ।
बेलायतमा दोस्रो विश्वयुद्धको समयमा सन् १९४२ जुलाईदेखि चिनीमा लगाइएको कोटा प्रणाली १९५३ को सेप्टेम्बरमा आधिकारिक रूपमा अन्त्य गरिएको थियो। कोटा प्रणाली लगाइएको बेलामा वयस्कलाई हरेक दिन ४० ग्राम चिनी दिइन्थ्यो भने दुई वर्षमुनिका बालबालिकाका लागि चिनीको व्यवस्था नै थिएन। कोटा प्रणाली अन्त्य हुनेबित्तिकै बेलायतको प्रतिव्यक्ति चिनी खपत करिब ४१ ग्रामबाट तुरुन्तै झण्डै ८० ग्राम पुगेको मानिन्छ।
कोटा प्रणाली लागू भएको र लागू नभएको बेलाका दुई वर्षमुनिका बालबालिका हुर्किएपछिको स्वास्थ्य स्थितिको हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले अहिले विश्लेषण गरेका छन्।
उनीहरूले यूके बायोब्यांक परियोजनामा सहभागी भएका करिब ६५ हजार जना व्यक्तिको स्वास्थ्य अभिलेख विश्लेषण गरेर ‘न्युरोलोजी’ जर्नलमा सो अध्ययनबारे प्रकाशन गरेका छन्।
अध्ययन अनुसार जसले गर्भमा र आफ्नो बाल्यकालका सुरूवाती वर्षहरूमा चिनीको अभाव अनुभव गरेका थिए, उनीहरूमा कोटा प्रणाली नभोगेकाहरूको तुलनामा सबै प्रकारका डिमेन्सियाको जोखिम २३ प्रतिशतले कम थियो। अल्जाइमर रोगको जोखिम पनि थोरै थियो।
यसबाहेक, दुई वर्षको उमेरसम्म चिनीमा कोटा प्रणाली भोगेका व्यक्तिहरूमा डिमेन्सियाको लक्षण देखा पर्ने समय पनि औसतमा २.५ वर्षले ढिला भएको पाइएको थियो।
मस्तिष्कको स्क्यान गरिएको सोही अध्ययनको एक उप-अध्ययनले पनि जीवनका सुरुवाती दिनमा चिनीमा कोटा प्रणाली भोगेकाहरूको मस्तिष्कमा कुल ‘ग्रे म्याटर’ उच्च मात्रामा, ह्वाइट म्याटर थोरै मात्रामा अनि दिमाग तेज र तर्क क्षमता पनि राम्रो भएको देखाएको छ।
यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. जियाजेन झेङले गर्भ रहेको बेलामा आमाले अत्याधिक चिनी सेवन गर्दा आमाको रगतमा चिनीको मात्रा बढ्ने (हाइपरग्लाइसेमिया), इन्सुलिन प्रतिरोध र सुजन (इन्फ्लेमेशन) गराउन सक्ने बताए।
यसले भ्रूणको मस्तिष्कको विकासमा असर पार्न सक्छ। झेङका अनुसार पहिलो एक हजार दिनमा चिनीको खपत घटाउँदा मस्तिष्कको स्वास्थ्यमा दीर्घकालीन फाइदाहरू हुन सक्छन्। गर्भवती आमा वा बालबालिकालाई क्यालोरी वा पोषण तत्त्व नियन्त्रण गर्नु भन्दा पनि चिनीको मात्रा सीमित गर्नुपर्नेमा उनले जोड दिए।
यसअघिका अध्ययनहरूले पनि चिनीमा कोटा प्रणाली अन्त्य भएपछि बेलायती नागरिकहरूमा टाइप २ मधुमेह र उच्च रक्तचाप बढेको देखाएका थिए। टाइप २ मधुमेह र उच्च रक्तचापले पनि डिमेन्सियाको जोखिम बढाउने मानिन्छ। यो अध्ययन अवलोकनमा मात्रै आधारित भएकाले बाल्यकालमा चिनीको सेवनले साँच्चै मस्तिष्कमा असर गर्छ भनेर निर्क्यौल गर्न थप अनुसन्धान हुनुपर्ने झेङले जनाए।
अरू विज्ञहरूले पनि दशकौँ अघिका घटनाबाट स्वास्थ्य परिणाम अनुमान गर्दा जीवनशैलीका थुप्रै अन्य कारकहरू पनि जोडिन सक्ने ठाउँ रहने औंल्याएका छन्। अवलोकनमा आधारित यो अध्ययनले आहार र डिमेन्सियाको जोखिमबीचको सम्बन्ध पत्ता लगाउन सक्ने भए पनि यसले प्रत्यक्ष रूपमा कारण र प्रभावको सम्बन्ध प्रमाणित भने गर्न नसक्ने बताएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)