माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो। क्रोनिक (लामो समयसम्म रहिरहने) यस रोगका लक्षण बेलाबेला बल्झिरहन्छन्, यो रोग पूर्णरूपमा निको हुन गाह्रो हुन्छ।
टाउकाको कुनै एक भागमा दुख्नु, टाउकाको फरक–फरक भागमा दुख्नु वा कुनै कुनै बिरामीमा टाउकाको दुवैपट्टि दुख्नु यसका लक्षण हुन्। दुखाइ भने सामान्य हुँदैन। कसैलाई टाउकै फुट्लाझैँ गरी दुख्छ। टाउको बुरुक्–बुरुक् भएर पनि दुख्छ (बाहिरबाट हेर्दा नसा चलेकै देखिन्छ) । कहिलेकाहीँ आँखाका गेडा, निधारतिर र घाँटीतिर समेत दुख्ने गर्छ। माइग्रेन सामान्य टाउको दुखाइ मात्र होइन, स्नायु प्रणालीसँग सम्बन्धित एक जटिल स्वास्थ्य समस्या हो। यसले व्यक्तिको दैनिक जीवन, काम, अध्ययन र सामाजिक गतिविधिमा समेत असर पुर्याउन सक्छ। माइग्रेनको दुखाइ प्रायः टाउकोको एकातिर बढी हुने भए पनि कतिपय व्यक्तिमा दुवैतिर पनि हुन सक्छ। यो समस्या केही घण्टादेखि लिएर धेरै दिनसम्म रहन सक्छ र समय–समयमा दोहोरिरहन सक्छ।
विश्वभर लाखौं मानिस माइग्रेनबाट प्रभावित छन्। विशेषगरी महिलाहरूमा यो समस्या पुरुषहरूको तुलनामा बढी देखिन्छ। आजको व्यस्त जीवनशैली, कामको अत्यधिक चाप, अस्वस्थकर खानपान र डिजिटल स्क्रिन (मोबाइल, ल्यापटप) को बढ्दो प्रयोगका कारण स्वास्थ्य समस्याहरू बढ्दै गएका छन्। यस्तै समस्यामध्ये एक हो— माइग्रेन। यसलाई सामान्य टाउको दुखाइ ठान्ने गल्ती अक्सर हुने गर्छ, तर यो वास्तवमा स्नायु प्रणालीसँग सम्बन्धित एक जटिल अवस्था हो।
माइग्रेनका प्रमुख लक्षणहरू
माइग्रेनका लक्षण व्यक्ति अनुसार फरक–फरक हुन सक्छन्। सामान्यतया देखिने लक्षणहरूः
- टाउकोको एक वा दुवै भागमा धड्किने वा चर्को दुखाइ
- वाकवाकी लाग्ने तथा बान्ता हुने
- उज्यालो प्रकाश सहन नसक्ने
- ठूलो आवाज वा हल्लाले समस्या बढ्ने
- आँखाअगाडि चम्किला बत्ती वा कालो धब्बा देखिने
- रिङ्गटा लाग्ने
- थकान र कमजोरी महसुस हुने
- घाँटी तथा आँखावरिपरि दुखाइ हुने
- हातखुट्टा चिसो हुने
कतिपय बिरामीमा टाउको दुख्नुअघि दृष्टि धमिलो हुने, चम्किलो प्रकाश देखिने, हातखुट्टा झमझमाउने वा बोल्न कठिन हुने समस्या हुन सक्छ।
माइग्रेन किन हुन्छ ?
हालसम्म माइग्रेनको निश्चित कारण पत्ता लागिसकेको छैन। तर मानसिक वा शारीरिक तनाव, अनिद्रा, खाली पेट, मद्यपान तथा धुम्रपान, चक्लेटको सेवन, चम्किलो र झिलिमिली बत्तीको उज्यालो, पुरानो अचारको सेवन, चिसो फ्रिजमा राखेका खानेकुराको सेवन, महिनावारी हुँदा हर्मोनको गडबडी आदि विभिन्न कारणले माइग्रेन निम्त्याउन सक्छ।
माइग्रेन निम्त्याउने सम्भावित कारणहरूः
- मानसिक तनाव र चिन्ता
- पर्याप्त निद्रा नपुग्नु वा अनिद्रा
- लामो समय भोकै बस्नु
- शरीरमा पानीको कमी (डिहाइड्रेसन)
- अत्यधिक शारीरिक थकान
- हर्मोनको उतारचढाव (विशेषगरी महिलामा)
- धुम्रपान तथा मदिरापान
- मौसम परिवर्तन
- चर्को घाम वा चम्किलो प्रकाश
- तीव्र गन्ध वा धुवाँ
- माइग्रेन बढाउने खानेकुराहरू
- केही खानेकुराले माइग्रेनको समस्या बढाउन सक्छन्। जस्तैः
- गाढा चकलेट
- पुरानो चीज
- अचार तथा प्रशोधित खाना
- अत्यधिक चिया र कफी
- मदिराजन्य पदार्थ
- धेरै चिसो पेय पदार्थ
- फ्रिजमा लामो समय राखिएका खानेकुरा
यस्ता खानेकुराले सबैमा समस्या गराउँछन् भन्ने होइन। आफूलाई कुन खानेकुराले समस्या बढाउँछ भन्ने पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। त्यसैले माइग्रेनमा आफ्नो डाक्टर आफै हो भनिन्छ। के खाँदा टाउको दुख्छ, केको बास्नाले टाउको दुख्छ, के गर्दा टाउको दुख्छ, कहिले टाउको दुख्छ— यी कुरा ख्याल गरी त्यसबाट जोगिनाले केही हदसम्म राहत मिल्छ।
माइग्रेन हुँदा के गर्ने?
- शान्त, अँध्यारो र एकान्त कोठामा आराम गर्ने
- पर्याप्त निद्रा लिने प्रयास गर्ने
- प्रशस्त पानी पिउने
- तनाव कम गर्ने
- चिकित्सकले सिफारिस गरेको औषधि मात्र सेवन गर्ने
- मोबाइल, टेलिभिजन तथा कम्प्युटरको प्रयोग कम गर्ने
कहिले चिकित्सकलाई भेट्ने ?
निम्न अवस्थाहरूमा चिकित्सकसँग तुरून्त परामर्श लिनुपर्छः
- बारम्बार टाउको दुख्ने
- दुखाइ धेरै तीव्र वा असह्य हुने
- दृष्टि, बोली वा शरीरको चालमा समस्या देखिने
- टाउको दुखाइसँगै ज्वरो आउने
- टाउकोमा चोट लागेपछि दुखाइ सुरु हुने
- दैनिक कामकाज प्रभावित हुने गरी दुखाइ बढ्दै जाने
माइग्रेन र सामान्य टाउको दुखाइबीचको भिन्नता
दुखाइका प्रकार
सामान्य टाउको दुखाइः हल्कादेखि मध्यम, दबाब/च्यापिएको जस्ता प्रायः टाउकोको दुवैपट्टि दुख्ने गर्छ।
माइग्रेनको टाउको दुखाइ क्रोनिक (लामो समयसम्म रहिरहने) टाउकाको कुनै एक भागमा दुख्नु, टाउकाको फरक–फरक भागमा दुख्नु वा कुनै कुनै बिरामीमा टाउकाको दुवैपट्टि दुख्नु यसका लक्षण हुन्। दुखाइ भने सामान्य हुँदैन। कसैलाई टाउकै फुट्लाझैँ गरी दुख्छ। टाउको बुरुक्–बुरुक् भएर पनि दुख्छ (बाहिरबाट हेर्दा नसा चलेकै देखिन्छ) । कहिलेकाहीँ आँखाका गेडा, निधारतिर र घाँटीतिर समेत दुख्ने गर्छ।
विशेष सुझावः यदि तपाईंलाई बारम्बार यस्तो समस्या भइरहेको छ भने, आफै औषधि सेवन गर्नुको साटो तत्काल न्युरोलोजिस्ट (स्नायु रोग विशेषज्ञ) सँग परामर्श लिनुहोस्।
(पुस्कर राज जोशी हेल्थ असिस्टेन्ट हुन्।)